आर्थिक वर्षको पहिलो महिनामा वीरगञ्ज भन्सारद्वारा लक्ष्यभन्दा कम राजश्व संकलन

वीरगञ्ज- वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना अर्थात साउन महिनामा लक्ष्यभन्दा कम राजश्व संकलन गरेको छ।

चालु आर्थिक वर्षको साउन महिनामा कार्यालयले भन्सार विभागबाट पाएको लक्ष्यभन्दा साढे १४ प्रतिशत कम राजश्व संकलन गरेको हो।

साउन महिनामा वीरगञ्ज भन्सार कार्यालयले १२ अर्ब ९८ करोड ९९ लाख २३ हजार राजश्व संकलन गरेको छ। यो लक्ष्यको ८५ दशमलव ५ प्रतिशत मात्रै रहेको छ। यस महिनामा वीरगञ्ज भन्सार कार्यालयले भन्सार विभागबाट १५ अर्ब २० करोड ७ लाख ५५ हजार बराबरको राजश्व संकलन गर्ने लक्ष्य पाएको थियो।

साउन महिनामा भन्सार कार्यालयले सबैभन्दा बढी मूल्य अभिवृद्धि करबाट ५ अर्ब ९३ करोड ७ लाख ६ हजार राजश्व संकलन गरेको छ। यस्तै, आयातबाट हुने भन्सार महसुलबाट चार अर्ब ७१ करोड ५३ लाख ३३ हजार,अन्तः शुल्कबाट एक अर्ब ३ करोड ७२ लाख ९० हजार, पूर्वाधार करबाट ८१ करोड ५० लाख ३५ हजार, सडक मर्मत तथा सुधार दस्तुरबाट २२ करोड ६२ लाख ४४ हजार, सडक निर्माण तथा मर्मत दस्तुरबाट १५ करोड ३८ लाख २६ हजार राजश्व संकलन गरेको वीरगञ्ज0 भन्सार कार्यालयले जारी गरेको तथ्यांकमा जनाइएको छ।

सवारी साधनको आयातमा सरकारले नै केही प्रतिबन्ध लगाएका कारणले यस महिनामा राजश्व संकलन घटेको भन्सार कार्यालयका सूचना अधिकारी समित गुप्ताले जानकारी दिए।

वीरगञ्ज नाका भएर आउने गरेका सवारीसाधनको आयातबाट उठ्ने राजश्व कम उठेकाले यस महिनामा राजश्वसमेत लक्ष्यको भन्दा कम नै उठेको उनको भनाइ छ।

गत आव २०७८/८९ को साउन महिनामा भने वीरगञ्ज भन्सार कार्यालयले ९९ दशमलव ५ प्रतिशत राजश्व संकलन गर्न सफल भएको थियो।

साउन महिनामा वीरगञ्ज नाका भएर आयात हुने जिप कार भ्यान गत आवकाे साउन महिनाको तुलनामा ८५ प्रतिशतले घटेकाे छ।

भदौ ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्