‘वाह अलैंची’मा मास्टर सेफ सन्तोष साह, भन्छन्– अलैंचीको आन्तरिक खपत बढाउनुपर्छ

झापा – नेपालमा उत्पादित अलैंची प्रवर्द्धनका लागि ब्रान्ड एम्बासेडर अन्तर्राष्ट्रिय ख्यातिप्राप्त मास्टर सेफ सन्तोष साहले आफूले उत्पादन गरेको बस्तुको आन्तरिक खपत बढाउनुपर्नेमा जोड दिएका छन्।
अलैंची व्यवसायी महासंघको वाह अलैंची कार्यक्रम सञ्चालन गरिरहेका मास्टर सेफ साहले आफूले गरेको काम मनदेखि नै गरे सफलता मिल्ने बताए।
झापाको बिर्तामोडमा महासंघले गरेको एक कार्यक्रममा साहले छोटो समयमा धेरै कमाउने सोच राखे त्यस्तो सोचले सफलता नपाउने बताए।
साहले भने, ‘छोटो अवधिमै धेरै कमाउने कुरा नसोचौँ। अलैंचीको बजार विस्तारै बढाउनुपर्छ।’
स्विस सरकारको सहयोगमा वाह अलैंची कार्यक्रम सञ्चालन भइरहेको छ। महासंघका अनुसार पहिलो चरणमा शिक्षण संस्थाहरूमा फुड फेस्टिबल सञ्चालन भएका छन्।
दोस्रो चरणमा अलैंची कृषकसँग अन्तर्क्रिया तथा अलैंची प्रयोग हुने विभिन्न स्थानको अवलोकन गरिएको अलैंची व्यवसायी महासंघले जनाएको छ।
अन्य चरणका कार्यक्रमहरू पनि सञ्चालन हुने सेफ साहले जानकारी दिए।
उनले भने, ‘अलैंचीको बढीभन्दा बढी आन्तरिक खपतका लागि हामी होटेलका सेफहरूसँग पनि अन्तरक्रिया गर्छौं।’
महासंघले सोमबार बिर्तामोड आयोजना गरेको कार्यक्रममा अलैंचीको आन्तरिक खपतसंगै यसको व्यापार विश्वबजारमा विस्तार गर्नुपर्ने साहले बताए।