घरअगाडि फोहोर फाल्दा भएको विवादमा हत्या, एकै परिवारका तीन पक्राउ

वीरगञ्ज – रौतहटको चन्द्रपुरमा कुटपिट गरी एक वृद्धको हत्या गरेको अभियोगमा एकै परिवारका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले चन्द्रपुर नगरपालिका वडा नम्बर–४ पैनी टोल बस्ने ७७ वर्षीय राम गोपाल घिमिरेको हत्या गरेको अभियोगमा चन्द्रपुर–५ बस्ने रामचन्द्र चौधरी, उनकी श्रीमती प्रमिला चौधरी र छोरा अजय चौधरीलाई पक्राउ गरेको हो।

चौधरी दम्पत्तीले पालेको बंगुरको फोहोर गत साउन २८ गते घर अगाडि फालेको विषयलाई लिएर घिमिरे र चौधरी दम्पत्तीबीच विवाद भएको थियो।

विवादको क्रममा प्रमिला र उनका छोरा अजय मिलेर कुटपिट गरी घिमिरेलाई घाइते बनाएका थिए। घाइते घिमिरे उपचारपछि घर फर्किएका थिए। तर, आइतबार उनको स्वास्थ्य बिग्रिएपछि उपचारको लागि काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएकोमा उपचारको क्रममा घिमिरेको मृत्यु भएको रौतहटका प्रहरी प्रवक्ता सुनिल मल्लले जानकारी दिए।

घिमिरेको हत्यामा संलग्न रहेका चौधरी दम्पत्ती र उनका छोरा अजयलाई पक्राउ गरी अदालतबाट म्याद थप गराइ कारबाही प्रक्रियाअघि बढाइएको मल्लले बताए।

भदौ ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्