एक वर्षमै विदेशबाट आयो ४ अर्बको सुपारी

प्रहरीले नियन्त्रणमा लिएका सुपारीसहितका ट्रक। फाइल तस्बिर।

वीरगञ्ज– गत आर्थिक वर्ष २०७८/०७९ मा नेपालमा करिब चार अर्ब रुपैयाँको सुपारी आयात भएको छ। भन्सार विभागका अनुसार इन्डोनेसियाबाट सबैभन्दा बढी सुपारी आयात भएको भन्सार विभागले जनाएको छ।

गत आर्थिक वर्षमा इन्डोनेसियाबाट नेपालमा कुल ३ अर्ब ९४ करोड ७६ लाख १६ हजार बराबरको एक करोड ८९ लाख ३४ हजार ५ सय ८० किलो सुपारी आयात भएको भन्सार विभागको तथ्यांक छ। प्रतिकिलो २ सय ८ रुपैयाँ ४८ पैसा तिरेर उक्त परिमाणको सुपारी आयात गरिएको हो।

त्यसअघि आर्थिक वर्ष २०७७/०७८ मा एक अर्ब १६ लाख ८ हजार रुपैयाँ बराबरको कुल ६५ लाख ७४ हजार ४ सय ५७ किलो सुपारी मात्रै आयात भएको थियो। त्यतिबेला प्रतिकेजी १ सय ५२ रुपैयाँ ३४ पैसामा सुपारी आयात भएको देखिन्छ।

गत आर्थिक वर्ष सुपारी आयातबाट २ अर्ब ५८ करोड २० लाख ९४ हजार राजश्व संकलन भएको थियो।

नेपालबाट भारतमा ९० करोडको सुपारी निर्यात


विदेशबाट आयात भएको सुपारी गत आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट भारतमा निर्यातसमेत गरिएको छ। नेपालबाट एक वर्षमा ९० करोड ६७ लाख १८ हजार रुपैयाँ बराबरको कुल २२ लाख ४८ हजार ८ सय ५ किलो सुपारी भारत निर्यात गरिएको भन्सार विभागले जनाएको छ। विभागका अनुसार प्रतिकेजी ४ सय ३ रुपैयाँ १९ पैसामा सुपारी भारत निर्यात भएको छ।

आयात गरेको मूल्यभन्दा दोब्बरमा सुपारी निर्यात भएको देखिएपछि सरकारले सुपारी निर्यातमा रोकसमेत लगाएको थियो।

साउन ५ गते भारत लैजाँदै गरिएको अवस्थामा विराटनगरबाट ८ ट्रक सुपारी प्रहरीले नियन्त्रणमा लिएको थियो। भारतको जोगबनी कस्टमबाट पत्र बनाएर सुनसरीस्थित भन्सारबाट भारत लैजाने तयारी गरिएको अवस्थामा उक्त सुपारी प्रहरीले नियन्त्रणमा लिएको थियो।

यसैबीच विराटनगरस्थित उच्च अदालतले भारततर्फ तस्कर गरी लैजान खोजिएको आशंकामा बरामद गरिएको ८ ट्रक सुपारीको सिलबन्दी यथास्थिति अवस्थामा राख्न आदेश दिएको छ। गत आइतबार न्यायाधीश मिलनकुमार राईको इजलासले ट्रकको सिलबन्दी तत्काल नखोल्न अन्तरिम आदेश जारी गर्दै छलफलका लागि दुवै पक्षलाई बोलाएको थियो।

अदालतका सूचना अधिकारी ओमप्रसाद सुवेदीले ट्रकमा लगाइएको सिलबन्दी यथावत् राख्दै निवेदक र विपक्षीलाई मंगलबार छलफलका लागि बोलाएको छ।

सुपारी पुनः विदेश पठाउँदा नेपालमा उत्पादन भएको उत्पत्तिको प्रमाणपत्र भेटिन थालेपछि सरकारले नै चासो बढाएको थियो। पछिल्लो समय निर्यात गर्न पाएको इजाजतभन्दा बढी सुपारी विदेश निर्यात हुन थालेको गुनासो बढ्दै गएपछि समितिले चासो देखाएको थियो।

गत साउन १३ गते राष्ट्रिय सभाअन्तर्गतको दीगो विकास तथा सुशासन समितिको बैठकले सुपारी र उत्पादन भएको स्थान परीक्षण गर्न निर्देशनसमेत दिएको थियो।

साउन ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्