राष्ट्रपतिकाे कदम स्वाभाविक छ : एमाले सचिव लेखराज भट्ट

धनगढी- नेकपा एमालेका सचिव लेखराज भट्टले नागरिकतासम्बन्धि राष्ट्रपतिले चालेकाे कदम स्वाभाविक भएको बताएका छन्।

उनले नागरिकताजस्ताे विषय खुकुलाे बनाउन नहुने तर अहिलेकाे सरकारले गरेकाे
व्यवस्थामा खुकुलाे रहेकाे बताए।

धनगढीमा प्रेस चौतारीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रो पार्टी नागरिकताबारेमा क्लियर छ, नागरिकता सजिलै बाँड्ने कुरा होइन। अलिअलि सुधार गर्नुपर्ने कुराहरू छन्, राष्ट्रपतिले त्यही गर्नुस् भनेर फिर्ता पठाउनु भएकाे हाे।’

विश्वका कुनै पनि देशमा वर्तमान सरकारले ल्याएजस्ताे नागरिकता सहजै दिने प्रावधान नरहेकाे सचिव भट्टकाे भनाइ छ।

उनले नेकपा माओवादीका अध्यक्ष प्रचण्ड व्यक्तिवादी र परिवारवादी भएकाले आफू र आफ्ना मान्छे जिताउन अपवित्र गठबन्धन गरेकाे आराेपसमेत लगाए।

उनले देउवा र प्रचण्डलाई सर्प र भ्यागुतासँग तुलना गर्दै कसरी एकै ठाउँमा बस्न सक्छन् भन्दै व्यङ्ग्य गरे।

एमाले सुदूरपश्चिमका इन्चार्जसमेत रहेका भट्टले एमाले सरकारको पालामा सुदूरपश्चिममा ठूलठूला विकास परियोजनाको सुरुवात भएको भए पनि त्यसको बारेमा मिडियामा खासै चर्चा नभएको गुनासो गरे।

उनले भने, ‘गेटा मेडिकल कलेज, दोधारा चाँदनी सुख्खा बन्दरगाह, धनगढी अत्तरिया औद्याेगिक करिडोर, हरैया औद्याेगिक क्षेत्र लगायतका धेरै कामहरू मेरै नेतृत्वमा भएका हुन्। धेरै परियोजनाहरूको डिपिआरको काम सकिएको छ। यति धेरै काम हुँदा पनि हाम्रातिरका मिडियाहरू बेखबर नै हुन्छन्। भएको कामको प्रचार गर्न किन कन्जुस्याइँ गर्नुपर्‍याे।’

भट्टले आगामी संघ र प्रदेश को निर्वाचनमा एमाले पार्टीभित्रको आन्तरिक सन्तुलन मिले पार्टीले बहुमत सिट जित्ने दाबी समेत गरे।

साउन ३०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्