बैंकर मनोज ज्ञवालीको कथा

‘सिए फेल हुँदा बुवाले इन्डियामै भाँडा माझेर बस् भन्नुभयो’

काठमाडौँ –  मनोजकुमार ज्ञवाली, उनी हुन् नबिल बैंकका डेपुटी चिफ एक्जुकेटिभ अफिसर (डीसीओ)। उनले एक सफल बैंकरको पहिचान बनाएका छन्।

उनी केही दिनअघि मात्र नबिल बैंकको डेपुटी चिफ एक्जुकेटिभ अफिसर (डीसीओ)मा बढुवा भएका हुन्। डेपुटी जनरल म्यानेजरमा आएका मनोज गत वर्ष जनरल म्योनेजर हुँदै अहिले डेपुटी सीईओ भएका छन्।

दुई वर्षको अवधिमा नै उनको डबल प्रमोसन भयो। सायदै नबिल बैंकको इतिहासमा टप लेभलमा यति छिट्टै प्रमोसन भएको यो पहिलो होला।

मनोजको कामप्रतिको लगाव र उनको मिहेनतलाई देखेर नै बैंकले उनलाई दुई वर्षमै डबल प्रमोसन गरिदियो। उनी यसलाई निजी क्षेत्रको ‘ब्यूटी’को रुपमा लिन्छन्।

दैलेखको विकट ठाउँमा जन्मेका उनले स्कुलमा राम्रो शिक्षा पाएनन्। २०३४ सालमा दैलेखमा जन्मिएका उनले एसएलसीसम्मको पढाइ गाउँबाटै सकाए। त्यसपछिको पढाइका लागि उनी काठमाडौँ आए।

काठमाडौँको सरकारी क्याम्पस शंकरदेवबाट ग्र्याजुएसन सकाएपछि उनको सोच सिएतिर गयो। काठमाडौँमा ग्र्याजुएसन सकाएपछि उनले सीए (चार्टर्ड एकाउन्ट) बारे थाहा पाएका थिए। सिए पढ्नका लागि इन्डिया जाने सोच उनले बनाए। इन्डिया गएर सिए पढ्दा उनी हरेक वर्ष सिएमा फेल भए।

सरकारी विद्यालयको पढाइका कारण अंग्रेजी भाषामा उनले दख्खल थिएन। ‘साँच्ची भन्नु पर्दा सरकारी विद्यालय पढेको भएकाले, हाम्रोमा त निबन्ध पनि रटेर पढ्ने हो। अंग्रेजी भाषा कमजोर भएकोले गर्दा पनि सीए पास गर्न गाह्रो भयो,’ उनी भन्छन्, ‘नेपालमा सिए पढाइ हुँदैन थियो। त्यसैले इन्डिया जानु पर्‍यो त्यहाँ चाहिँ भाषामा हिन्दी र अंग्रेजी मात्र थियो। त्यसैले भाषाको समस्या भयो।’

सिएको पढाइ रटेरभन्दा पनि बुझेर पढ्नुपर्ने बाध्यता रहेको उनी बताउँछन्। ‘हाम्रोमा चाहिँ परीक्षाको लागि मात्रै पढ्ने ‘सिस्टम’ छ तर सिए पढ्दा त्यस्तो हुँदैन बुझेर पढ्नुपर्ने बाध्यता थियो,’ उनी भन्छन्, ‘जिन्दगीमा नम्बरभन्दा सिकेको कुराले धेरै प्रभाव पार्छ।’

भाषा र नेपालको पढाइ परीक्षामा आधारित भएका कारण पनि उनी सिएमा लगातार दुई वर्षसम्म फेल भए। पहिलो वर्ष भने उनको पढ्नुपर्ने कुरा धेरै भएका कारण फेल हुन्छु भन्ने थाहा हुँदाहुँदै पढेका थिए। उनी पहिलो वर्ष फेल पनि भए। दोस्रो वर्ष भने उनले धेरै नै प्रयास गरे। उनलाई नआउने केही थिएन तर पनि लेखनशैलीमा कमजोर भएका कारण दोस्रो वर्ष पनि फेल भए।

लगातार दोस्रो वर्ष फेल भएपछि उनमा केही निराशा छायो। अब सिए पढ्दिनँ भन्ने सोचसम्म उनी पुगिसकेका थिए तर हिम्मत हारेनन्। लगातार मिहेनत गर्दै गए। अन्तत: त्यसपछि उनले कहिल्यै पनि फेल हुनु परेन।

‘एकपटक त बुबाले फेल भइस् भने मुख देखाउन नेपाल नआउनु भन्नुभएको थियो,’ उनी विगतलाई सम्झिँदै भन्छन्, ‘लगनशीलता मान्छेको सबैभन्दा ठूलो कुरा हो। असम्भव केही छैन। मैले त्योबेला फेल भएँ पढ्न सक्दिनँ भनेर सीए पढ्न छोडेको भए आज मैले यो सफलता पाउने थिइनँ।’

सामान्य परिवारबाट हुर्किएको भएकाले उनले इन्डियामा बसेर पढ्दासमेत घरबाट बुबाले पठाएको १/१ रुपैयाँको हिसाब राख्ने गरेको उनी सुनाउँछन्।

०००

सिएको पढाइ सकेर नेपाल आएसँगै उनले राष्ट्र बैंकमा काम गर्न थाले। तर, राष्ट्र बैंकको सरकारी जागिर उनलाई त्यति ठीक लागेन। उनले राष्ट्र बैंकमा साढे चार वर्ष काम गरेपछि सरकारी जागिर छाडेर निजी क्षेत्रमा काम गर्ने निर्णय गरे।

‘मैले निजी क्षेत्रमा जाने निर्णय गरेँ। सरकारी ह्याङ्ओभर छोडेर मैले निजी क्षेत्र रोजेँ,’ मनोजले त्यसबेला भनेको कुरा सम्झिँदै भन्छन्, ‘तपाईंले १०० प्रतिशत आशा गर्नुस्, मैले १०१ दिन्छु। ९९ गरेको दिन राम्रो भएन भनेर इशारा गरिदिनु होला, म राजीनामा पठाउँछु।’

राष्ट्र बैंकको जागिरबाट राजीनामा दिँदा साथीभाइ, घर परिवारमा हंगामा भएको थियो। ‘यस्तो राम्रो जागिर किन छोडेको?,’ राष्ट्र बैंकका साथीहरुले गाली गरे, ‘नचाहिने काम गर्ने? राष्ट्र बैंक भनेको राष्ट्र बैंक हो भनेर धेरैले भनेका थिए। बुबाले पनि थाहा पाउनुभएछ। गभर्नर हुन्छ भनेको केटोले राजीनामा दिएर कता हिँड्यो भनेर बुबाले चिन्ता गर्नुभएको थियो।’

मनोज ६ भाइबहिनीमध्येका जेठा छोरा थिए। बुबाले अयोध्याबाट आयुर्वेदमा वैद्य पढेर फर्किएका थिए। वैद्य पढेका भए पनि गाउँमा ‘डाक्टर जनार्दन’ नामबाट कहलिएका थिए।

गाउँमा अस्पताल थिएनन्। ५/६ वटा गाउँमा कोही बिरामी हुँदा उनकै घरमा आउँथे। मनोजलाई अझै पनि याद छ, मान्छेहरु डोकोमा बोकेर ल्याउँथे। साह्रै च्याप्यो भन्ने खबर आएमा रातिराति उनी आफैं पनि दौडेर घरघरमा पुग्थे।

०००

उनी प्रायः ‘क्याजुअल’ ड्रेस नै मन पराउँछन्। ‘चप्पल पट्काएर अफिस आउन पाउने हो भने अझ धेरै प्रफर्मेन्स गर्छुजस्तो लाग्छ,’ उनी भन्छन्, ‘जब घाँटीमा टाइ झुन्डिन्छ, चौघेरामा बाँधिएजस्तो लाग्छ  डिसिप्लेन’ले धेरै थिचिएजस्तो लाग्छ।’

उनी सामाजिक सञ्जाल फेसबुक, टिकटक र क्लबहाउसमा देशको वित्तीय अवस्थाबारे बेलाबेला बहस गरिरहन्छन्। उनी कति काबिल छन् भन्ने कुरा बुझ्न उनको फेसबुक, टिकटकलाई मात्रै पछ्याए मात्रै पनि पुग्छ। उनलाई सुन्नेहरु हजारौं हुन्छन्। फेसबुकमा लेखेका स्टाटसहरु अनलाइनका लेख बन्छन्। सीधा कुरा प्रष्टसँग राख्ने उनका फ्यान फलोअर्सहरु दिनदिनै बढिरहेका छन्।

त्यति मात्र होइन उनी ‘मोटिभेसनल स्पीचर’का रुपमा पनि उत्तिकै परिचित छन्। कलेज, विभिन्न संस्था, कर्पोरेट कम्पनीहरुले ‘मोटिभेसनल स्पीच’का उनलाई निमन्त्रणा गर्ने गरेका छन्। जीवनको सफलता, उद्देश्य, अभाव, आँट आदिबारे उनका थुप्रै भनाइहरु युट्युबमा सुन्न सकिन्छ।

०००

दैलेखको विकट ठाउँमा जन्मिएका उनले एसएलसी उत्तिर्ण गरेर सुर्खेत झरेपछि बल्ल गाडी देखेका हुन्।

उनी स्कुल पढ्दा दैलेखमा जम्माजम्मी १० वटा माध्यमिक विद्यालय थिए। उनले कक्षा ७ सम्म हिमालयन माध्यमिक विद्यालय पढे। त्यहाँ पुग्न मनोजको घरबाट झन्डै एक घण्टा लाग्थ्यो। त्यसपछि अझ राम्रो स्कुलमा पढ्नुपर्छ भनेर दुल्लुको विजया माध्यमिक विद्यालय भर्ना भए। त्यहाँ पुग्न झन्डै ३ घण्टा लाग्थ्यो। गाउँघरको विद्यालय भएकाले उनीसँग अरु कुनै विकल्प थिएन। कक्षा आठदेखि एसएलसीसम्म उनले त्यहीँ पढे। उनले सेकेन्ड डिभिजनमा एसएलसी पास गरेका हुन्।

बुबाको चाहना भने मनोजलाई आफूभन्दा अझ राम्रो डाक्टर बनाउने थियो। मनोज सोही शिलसिलामा विज्ञान पढ्न काठमाडौँ आइपुगेका हुन्।

गाउँघरमा हुर्किएका उनका लागि काठमाडौँ कल्पनाभन्दा धेरै फरक थियो। काठमाडौँमा बसेर पढ्दै गर्दा घरमा सिए पढ्ने कि नपढ्ने भन्ने कुरा चलिरहेको थियो। एकदिन बुबाले मनोजलाई सोधे, ‘सिए पढ्न सक्छन्, आँट छ?’

उनले पनि आँट गरेर भने, ‘खर्च पुर्‍याउन सक्नुहुन्छ भने पढ्ने काम मेरो भयो।’

मनोजको सिए पढ्ने इच्छा र आँट हेरेर बुबाले पैसाको चिन्ता नगर्न, बरु खेतै बेचेर भए पनि सिए पढाउने बताए। मनोजले पहिलो पटक सिए शब्द उनका मामाको मुखबाट सुनेका थिए। बीकमको जाँच दिएर उनी नजिकैको माध्यमिक विद्यालयमा पढाउन थालेका थिए। उनले त्यहाँ करिब डेढ वर्ष पढाए।

यता घरमा मनोजका बुबा छोरालाई डाक्टर पढ्न छाडेर सिए पढाउन तयार भइसकेका थिए। त्योबेला सुर्खेत, नेपालगन्जबाट केही कामको लागि पनि लखनउ जाने चलन थियो। लखनउ नजिक पनि। झोला बोके र मामासँग लखनउ लागे मनोज।

लखनउमा सीए पढ्ने फर्म खोज्ने निकै गाह्रो थियो। डाक्टर पढाउनेजस्तो धेरै विज्ञापन पनि गर्न नपाइने, ठूला होर्डिङ राख्न नपाउने नियमले गर्दा सीए पढाने फर्म भेट्टाउन गाह्रो थियो। खोज्दै जाँदा इन्स्टिच्युट आफ चार्टर्ड एकाउन्टेन्टस् अफ इन्डिया (आईसीएआई) भन्ने फर्म भेटियो।

प्रिन्सिपलसँग भेट भयो। कुराकानी भयो। मनोजले बीकममा ५८ प्रतिशत ल्याएका थिए। मार्कसिट हेर्दै प्रिन्सिपलले भने, ‘५८ पर्सेन्टेज से सिए करेगा? नहीं पाएगा, नेपाल चला जाओ।’

मनोजले भने, ‘मे क्लास मे आज तक कभी फेल नहीं हुवा।’

मनोजले जसोतसो प्रिन्सिपललाई मनाए। संयोगले प्रिन्सिपलले घर बनाउँदै रहेछन्। उनको भतिजाले पनि सिए गर्दै रहेछन्। प्रिन्सिपलले त्यही घरमा बस्न दिने अफर गरे। मनोज झोला बोकेर प्रिन्सिपलकै गाडी चढेर आफू बस्ने ठाउँसम्म गए।

त्यतिबेला सीए रजिष्ट्रेशन शुल्क २ हजार ५ सय ५० भारु थियो। पढ्ने सामग्री त्यसैबाट आउँथ्यो। प्रिन्सिपलकै घरमा बस्ने भएपछि घरभाडा तिर्नु परेन। सीए पढ्न उनका लागि सजिलो थिएन। उनका साथीहरु बेलाबेला उनलाई जिस्काउने गर्थे, ‘मनोज तिम्रो पर्सेन्टेज कति रे?’

तर, उनी कहिले पनि पछि हटेनन्। निरन्तर मिहेनत गर्दै गए। उनलाई आफू फेल हुन्छु भन्ने थाहा थियो। पहिलो पटक जाँच दिन गए। उनी साँच्चिकै फेल भए। कुनै पनि विषयमा ४० नम्बर आएन। उनले त्यसलाई त्यति ठूलो कुरा मानेनन्। दोस्रो पटक पास हुन्छु भन्ने उनमा आत्मविश्वास थियो। तर दोस्रो पटक पनि उनी फेल भए। उनलाई पहिलो पटक लाग्यो, ‘साँच्चिकै यो सीए भन्ने पढ्न नसकिने रहेछ ।’

त्यसपछि उनले बुबालाई फोन गरेर भने, ‘सिए पढ्न गाह्रो रहेछ। म फेल भएँ। घर फर्किन्छु।’

बुबाले जवाफ दिए, ‘मैले जोगीको भाँडा माझेर पढेर तिमीहरुलाई पढाएँ, अब गाउँभरि पढ्न गएको हल्ला भइसक्यो। पढ्न सक्दैनौ भने यहाँ आउनु पर्दैनँ। त्यही भाँडा माझेर बस्।’

अब मनोजसँग सिए पढेर पास हुनुभन्दा अरु कुनै विकल्प रहेन। उनले सिए पास गर्नको लागि भन्दा पनि ‘एनालिटिकल’ रुपमा सिक्नको लागि पढ्नु पर्ने रहेछ भन्ने बुझे। मिहिनेत गरेर पढे। त्यसपछि कुनै पनि परीक्षामा उनी फेल भएनन् ।

चार वर्षमा सिए सकेर उनी काठमाडौँ आए। जागिरका केही भ्याकेन्सी खुलेका थिए। नेपाल बैंक, वाणिज्य बैंक र राष्ट्र बैंकमा आवेदन मागेको थियो। उनका मामा नेपाल बैंक लिमिटेडमा काम गर्थे।

राष्ट्र बैंकले ८ जना सिए मागेको थियो। अन्तर्वार्ता दिए। त्यसबेला लिखित परीक्षा हुँदैनथ्यो। मनोजले एक नम्बरमा नाम निकाले।

सन् २००३ मा असिस्टेन्ट डाइरेक्टरमा भर्ना भए। तलब थियो ३८ हजार ७५ रुपैयाँ। राष्ट्र बैंकमा जागिरे भनेपछिको मान सम्मान पनि हुन्थ्यो। विदेश जाने अवसर पनि आइरहन्थे। साढे ४ वर्षमा उनी ४/५ देश पुगिसकेका थिए।

काठमाडौँमा घर बनाउने सपना थियो उनको। राष्ट्र बैंकको जागिर खाएर पनि काठमाडौँमा घर बनाउने अवस्था भने थिएन। घरकर्जाको सीमा ४ लाख रुपैयाँ थियो। गाडी चढ्न विशिष्ट हुनुपर्थ्यो। त्यो विशिष्ट भनेको ४/४ वर्षमा नियमित प्रमोसन भए पनि १६ वर्ष लाग्थ्यो। चार–चार वर्षमा लिखित परीक्षा उत्तीर्ण गरेरमात्र प्रमोसन। पर्फर्मेन्सका आधारमा प्रमोसन नहुने भयो।

त्यसपछि उनको मनमा सरकारी झन्झटभन्दा निजी बैंक नै ठीक छ भन्ने आभास भयो। चुनौती स्वीकार गर्न सकिन्छ भन्ने विश्वास उन थियो।

एकपटक मनोज पोखरामा काम विशेषले गएका थिए। शिवनाथ पाण्डे पोखरा कार्यालयका प्रमुख थिए। दुवै चार्टर्ड एकाउन्टेन्ट भएकाले पाण्डे र मनोजको सुमधुर सम्बन्ध पनि थियो। मनोजले कुरैकुरामा ‘राष्ट्र बैंकबाट कहिले उँभो लाग्ने हो, राम्रो त निजी क्षेत्र नै छ कि क्या हो?,’ भने।

पाण्डेले मनोजलाई निजी क्षेत्रमा हिम्मत चाहिने बताए। मनोज पाण्डेका कुरालाई सापटी लिँदै भन्छन्, ‘निजी क्षेत्रमा हिम्मत चाहिन्छ सरकारी हाकिम पाराजस्तो गरेर हुँदैन।’

मनोजले पनि आफूमा हिम्मत धेरै नै रहेको बताए। त्योबेलामा ग्लोबल आइएमई बैंक स्थापना भएर भर्खर ३/४ वटामात्रै शाखा स्थापना भएका थिए । बैंकले टिम बनाउन खोजिरहेको थियो। मनोजका साथी पाण्डेलाई पनि मान्छे चाहियो भनेका रहेछन्।

पाण्डेले तत्कालै ग्लोबल आईएमई बैंकका संचालक चन्द्रप्रसाद ढकालसँग कुरा गरे। राष्ट्र बैंकको जागिर छोडेर के आउलान् र? भनेर ढकालले सुरुमा त खासै पत्याएनन्।

कुरा अगाडि बढ्यो । केही समयपछि ज्ञवाली, पाण्डे र ढकालको भेट भयो। भेटघाटमा सबै कुरा मिलिसकेपछि अन्तत: उनले निजी क्षेत्रमा जाने निर्णय गरे।  त्यसपछि मनोजले राष्ट्र बैंकबाट राजीनामा दिए। डेपुटी डाइरेक्टरका लागि लिखित परीक्षाको घोषणा हुँदै थियो। जसबाट उनी प्रमोसन हुने अवसर पनि थियो।

उनको निजी क्षेत्रको यात्रा ग्लोबल आईएमई बैंकबाट सुरु भयो। ग्लोबल आईएमई बैंकमा उनी फाइनान्स चिफ भएर आए। सेवा सुविधा राष्ट्र बैंकभन्दा धेरै थियो। तलब दोब्बर। घर कर्जा ५० लाख। ५० लाखमा धापासीमा ५ आनामा बनेको घर किने। अहिले उनी त्यही घरमा बस्छन्।

बैंक सानो थियो। उनी भन्छन्, ‘नबिल, इनभेष्टमेन्ट बैंक जत्रो हुँदैन कि भन्ने लाग्थ्यो। नाम्चे बजारमा बसेर सगरमाथा हेरेजस्तो लाग्थ्यो।’

फाइनान्स हेडमा आएका मनोज सिएफओ, चिफ अपरेटिङ अफिसर भएर म्यानेजमेन्ट लेभलमै काम गरे। मर्जरको समयमा ग्लोबल आईएमई बैंकले स्वेच्छिक अवकाश योजना (भिआरएस) ल्याएको थियो। उनले भिआरएसमा आवेदन दिएर ग्लोबल आईएमई बैंकसँगको साढे ७ वर्षको सहयात्रा टुङ्याए।

त्यसपछि ग्लोबल आईएमईबाट निस्केका मनोज हाइड्रोपावरतिर लागे। एक कोरियन कम्पनीको १४८ मेगावाटको रिजर्भ वायर हाइड्रो पावर कम्पनी थियो। त्यहाँ उनले आठ–नौ महिना काम गरे। त्यहाँको परिपाटी खासै मन नपरेपछि उनले छोडिदिए ।

ग्लोबल आईएमई बैंकमा सँगै काम गरेका उनका साथी कृष्णबहादुर कुवँर ज्योति विकास बैंकमा थिए।

मनोजलाई सुरुमै डिजिएम बन्ने प्रस्ताव थियो तर उनी मानेनन्। उनी डेपुटी सीईओमा राजी भए। डेढ वर्ष काम गरेपछि उनी सीईओ भए।

दुई वर्षे सीईओको कार्यकाल बाँकी रहँदै राजीनामा दिएर उनले ज्योति विकास बैंकसँगको यात्रामा पूर्णविराम लगाए।

त्यसपछिको करिब दुई महिना उनी यत्तिकै बसे। केही नयाँ काम गर्छु भन्ने सोचविचारमा पनि थिए। कोरोना महामारी पनि उत्कर्षमा पुगेको थियो। त्यहीबेला नबिल बैंकमा उनको कुरा चल्यो।

नबिलमा डेपुटी जनेरल म्यानेजरमा प्रस्ताव आयो। नबिल वित्तीय क्षेत्रकै आकर्षक बैंक थियो। जोकोही बैंकर एकपटक नबिल बैंक पुग्न चाहन्छ। मनोजले पनि साथीसँग सल्लाह गरे। यो राम्रो अवसर हो भन्ने प्रतिक्रिया आयो। उनी नबिल बैंकमा डेपुटी जनलर म्यानेजर बन्न राजी भए।

गत वर्ष जनरल म्यानेजरमा प्रमोसन भएका उनी बैंक छिरेको दुई वर्ष नहुँदै डेपुटी सीइओमा प्रमोसन भइसकेका छन्।

नबिल बैंक नेपाल बंगालादेश बैंकलाई गाभेपछि हरेक किसिमले सबैभन्दा ठूलो बैंक भएको छ। २२ सयभन्दा धेरै कर्मचारी र २३५ शाखा सञ्चालन भएको ठूलो बैंकको डेपुटी सीईओ हुन् मनोज।

नबिलको डेपुटी सीईओ भइरहँदा विगतका वर्षलाई बिर्सन सक्दैनन् उनी। एक वर्षमै अपग्रेड हुँदा मान्छे त गज्जबै रहेछ भन्ने सबैलाई भएको छ। इमेज पनि बन्यो।

उनी भन्छन्, ‘मैले पनि केही न केही न्याय संस्थालाई गरेको हुँला। सायद संस्थाले मैले गरेको भन्दा धेरै न्याय मलाई गरेको छ।’

आफ्नो भूमिकामा न्याय गर्नुपर्छ भन्ने विश्वास उनी राख्छन्। उनी आफ्नो काम र जुन पोजिसनमा छन्, त्यसबाट आफूलाई चरम सन्तुष्टि मिलेको बताउँछन्।

साउन २८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्