एक वर्षमा ७४ अर्बको अन्न, ३६ अर्बको तरकारी र २४ अर्बको फलफूल आयात

वीरगञ्ज- पछिल्लो समय नेपालमा दैनिक उपभोग्य वस्तुहरू अनाज, तरकारी, फलफूलको मूल्य निरन्तर बढ्दै गएर उपभोक्ताहरू मारमा परेका छन्।

दैनिक उपभोग्य वस्तुहरूको मूल्य बढ्दा उपभोक्ताहरू मारमा पर्नुका साथै देशलाई पनि ठूलो घाटा बेहोर्नुपरिरहेको छ। किनकि देशमै उत्पादन गर्न सकिने धान, गहुँ, मकै, तरकारी, फलफूलजस्ता दैनिक उपभोग्य वस्तुहरू विदेशबाट आयात गर्नु परिरहेको अवस्था।

यसरी विदेशबाट यी वस्तुहरू आयात गरिँदा मूल्य पनि बढेको छ भने देशबाट वैदेशिक मुद्रा बाहिरिएर अर्थतन्त्रमा समेत नकारात्मक असर परेको छ।

बितेको आर्थिक वर्ष २०७८/७९ मा मात्रै करिब डेढ खर्ब बराबरको यस्ता दैनिक उपभोग्य वस्तुहरू नेपालमा आयात भएको छ। बितेको आवमा विदेशबाट नेपालमा एक खर्ब ३४ अर्ब भन्दा बढीको अन्‍न, तरकारी र फलफूल आयात भएको भन्सार विभागको तथ्यांकमा देखाइएको छ।

तथ्यांक अनुसार बितेको आवमा ७४ अर्ब २८ करोड ३७ लाख ७ हजार बराबरको अनाज आयात भएको छ। निर्यात भने जम्मा २० लाख ६७ हजारको मात्रै भएको भन्सार विभागले जनाएको छ।

तरकारी ३६ अर्ब ५४ करोड ४५ लाख ९९ हजारको नेपालमा आयात गरिएको छ भने निर्यात ७७ करोड ६२ लाख ५९ हजारको मात्रै भएको छ। यसैगरी बितेको आवमा २४ अर्ब ९९ करोड ८५ लाख ६६ हजार बराबरको फलफूल विदेशबाट आयात हुँदा निर्यात भने ९२ करोड १२ लाख ९५ हजारको मात्रै भएको विभागको तथ्यांकमा जनाइएको छ।

यस आंकडाअनुसार बितेको आवमा नेपाललाई अन्‍नबाट ७४ अर्ब २८ करोड १६ लाख ४० हजारको व्यापार घाटा भएको छ। यस्तै तरकारीबाट ३५ अर्ब ७६ करोड ८३ लाख ३९ हजार र फलफूलबाट २४ अर्ब ७ करोड ७२ लाख ७१ हजार बराबरको व्यापार घाटा नेपाललाई भएको छ।

अघिल्लो आव २०७७/७८ मा भने विदेशबाट नेपालमा ७९ अर्ब ५९ करोड २७ लाख ४६ हजारको अन्‍न आयात गरिँदा निर्यात भने जम्मा ५४ लाख ६७ हजारकाे मात्रै भएको थियो। उक्त आवमा ३८ अर्ब ५० करोड ६ लाख १८ हजारको तरकारी आयात भएको थियो भने निर्यात ६९ करोड ९८ लाख ६२ हजारको भएको विभागले जनाएको छ।

यस्तै, २१ अर्ब ३४ करोड ३८ लाख ३६ हजारको फलफूल विदेशबाट नेपालमा आयात गरिँदा नेपालबाट विदेशमा भने जम्मा २ करोड ८ लाख ११ हजारको निर्यात गरिएको थियो। कृषि प्रधान देश भनिएको नेपालमा नै सरकारले देशमै धान, गहुँ, मकै, तरकारी,फलफूल उत्पादन बढाउन अर्बौँको बजेट बिनियोजन गरे पनि उक्त बजेट बर्सेनि खर्च भइसक्दा पनि उत्पादन बढ्न सकेको छैन।

 

साउन २४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्