धनगढी-  कैलाली जिल्लामा स्थानीय तहकाे निर्वाचनपछि साढे ११ हजार मतदाता थपिएका छन्। वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा कैलालीमा मतदाताको संख्या ५ लाख २५ हजार एक सय २५ थियो।

त्यसपछि वैशाख ३० गतेयता ११ हजार चार सय ३० नयाँ मतदाता थपिएर हाल कैलालीकाे मतदाता संख्या ५ लाख ३६ हजार ५ सय ५५ पुगेकाे छ।

प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार कैलालीमा एक मतदान स्थल पनि थप गरिएको छ भने तीन मतदान स्थल सारिएका छन्। एक मतदान स्थल थपिएपछि कैलालीमा २ सय ३७ मतदान स्थल रहनेछन्।

प्रदेश निर्वाचन आयोगका निमित्त प्रमुख प्रेम भट्टले कैलालीमा पाँच वटा निर्वाचन क्षेत्र रहेका र पाँच प्रतिनिधि सभा सदस्य र १० प्रदेश सभा सदस्यका लागि निर्वाचन हुने बताए।

साउन १९ गतेबाट मतदाता नामावलीमा नाम दर्ता, विवाह दर्ता र बसाइसराइको काम बन्द गरिएको छ। अब निर्वाचन केन्द्रित दल दर्ताका लागि आयोगले आइतबारबाट आह्वान गरेको भट्टले बताए।

निर्वाचन कार्यालयले आवश्यक सामग्रीको आंकलन, व्यवस्थापन तथा पुराना सामग्रीको तथ्यांक अध्यावधिकको काम गर्न थालेको छ।
जिल्लामा ३० राजनीतिक दल दर्ता रहेकाले उनीहरूका उम्मेदवारहरू हुनेछन्।

साउन २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्