पर्साका बहुदरमाई र पोखरिया नगरद्वारा मृत्यु भएका व्यक्तिको नाममा सामाजिक सुरक्षाभत्ता वितरण

वीरगञ्ज- सरकारले प्रदान गर्दै आएको समाजिक सुरक्षाभता वितरण गर्ने कार्यमा पर्साको पोखरिया र बहुदरमाई नगरपालिकाले मनोमानी गरेको पाइएको छ।

ती दुबै नगरपालिकाले गैरदलित र मृत्यु भएका व्यक्तिहरूको नाममा पनि सामाजिक सुरक्षावापतको भत्ता वितरण गरेको पाइएको हाे।

पोखरिया नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा नगरपालिका भित्र रहेका गैरदलितहरूलाई पनि सामाजिक सुरक्षा भत्ताबापतको रकम वितरण गरेको महालेखा परीक्षकको कार्यालयले जारी गरेको वार्षिक प्रतिवेदन २०७९ मा जनाइएको छ।

उक्तआवमा नगरपालिकाले नगरमा रहेका ५३ जना गैरदलित नागरिकहरूलाई दलित भन्दै जेष्ठ नागरिकको समाजिक सुरक्षा भत्ता वितरण गरेको हो।उनीहरूलाई नगरपालिकाले ३ लाख ९७ हजार ७३३ रुपैयाँ बराबरको सामाजिक सुरक्षा भत्ता नगरपालिकाले वितरण गरेको महालेखाले जनाएको छ।

यसरी सामाजिक सुरक्षा भत्ता वितरण गरिएकाहरूमध्ये अधिकांश बिन मुखिया जातिका व्यक्तिहरू रहेका छन्। सामाजिक सुरक्षा भत्ता वितरण निर्देशिका २०७७ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने वर्ग पहिचान गरी लक्षित वर्गअनुसार भता वितरण गर्नुपर्ने व्यवस्था छ‍। तर,  पोखरिया नगरपालिकाले ५३ जना गैरदलितहरूलाई दलित भनेर लाखौँ रकम वितरण गरेको छ।

यसरी भत्ता वितरण गरिएका व्यक्तिहरूलाई पछि गैरदलित भएको प्रमाणित हुँदा्समेत वितरण गरिएको भत्ता नगरपालिकाले हालसम्म असुल गरेको छैन। गैरदलितहरूलाई दलित भनेर वितरण गरिएको भत्तावापतको ३ लाख ९७ हजार ७३३ रुपैयाँ उनीहरूबाट असुल गरी राजस्वमा दाखिला गर्न पनि महालेखाले नगरपालिकालाई निर्देशन दिएको छ।

गैरदलितहरूलाई दलित भन्दै पछिल्ला वर्षहरूमा भत्ता वितरण गरिएको भए पनि अबदेखि भने लक्षित वर्गहरूले नै सामाजिक सुरक्षाको भत्ता पाउने नगरपालिकाका प्रमुख प्रद्धुमन चौहानले जानकारी दिए।

विगतमा भएका कमीकमजोरीहरूलाई सुधार गर्दै जाने उनको भनाइ छ। यसैगरी, जिल्लाकै बहुदरमाई नगरपालिकाले भने मृत्यु भएका व्यक्तिको नाममा सामाजिक सुरक्षा भता वितरण गरेका महालेखाले जनाएको छ।

नगरपालिकाले आव २०७७/७८ मा नगरपालिकाको वडा नम्बर ५ निवासी खेदन महतो कोइरीको नाममा जेष्ठ नागरिक भत्तास्वरूप १२ हजार वितरण गरेको छ। जबकि कोइरीको २०७७ साल चैत २० गते नै मृत्यु भइसकेको थियो। लाभग्राहीको मृत्यु भइसकेको भए पनि नगरपालिकाले विवरण अधावधिक नगरी कोइरीको नाममा तेस्रो चौमासिक तीन महिनाको १२ हजार भत्ता उनको बैंक खातामा दाखिला गरेको महालेखाले जानकारी दिएको छ।

साउन २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्