सात दिनभित्र फुटपाथ खाली गर्न बिर्तामोड नगरपालिकाको अल्टिमेटम

झापा – झापाको बिर्तामोड नगरपालिकाले बजार क्षेत्रभित्र सडक पेटीमा सञ्चालन हुँदै आएका फुटपाथ व्यवसाय हटाउनका लागि सात दिनको अल्टिमेटम दिएको छ।

आइतबार नगरपालिकाको कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सात दिन भित्र हट्न बिर्तामोडका फुटपाथ व्यापारीलाई अल्टिमेटम दिएको हो ।

बिर्तामोड नगरपालिकाको कार्यालयमा शुक्रबार बसेको सर्वदलीय बैठकले फुटपाथ व्यवसाय हटाउने निर्णय गरेको थियो ।

नगरपालिकाले बिर्तामोडमा फुटपाथ व्यवसायका कारण पार्किङको समस्या र सडक दुर्घटनाको जोखिम बढेको भन्दै फुटपाथ हटाउने निर्णय गरेको हो ।

बैठकले बजारक्षेत्र भित्र सटर लिएर व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुले पनि व्यवसाय फुटपाथसम्म विस्तार गरेको पाइएकाले यसप्रकारको कार्यलाई पनि हटाउने निर्णय गरेको छ ।

बिर्तामोडको भद्रपुर रोड, शनिश्चरे रोड, कृषिथोक बजार वरपर र बजार क्षेत्रभित्र पर्ने पूर्व पश्चिम राजमार्गको पेटीमा आधिकारिक रुपमा दर्ता नभइ मापदण्ड विपरीत फुटपाथ व्यवसाय सञ्चालन हुँदै आएका कारण बिर्तामोड बजार अस्तव्यस्त बन्दै आएको छ ।

साउन २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्