महिलालाई मान्यजनबाट दिइने आशीर्वादमा परिवर्तनको खाँचो

हाम्रोजस्तो पितृसत्तात्मक समाजमा महिलाको स्थान पुरुषको तुलनामा कमजोर नै रहेको छ। यस विषयमा विवाद गरिरहनु पर्दैन। देशको कुल जनसंख्या हेर्दा महिलाको संख्या पुरुषको तुलनामा ९ हजार ८५८ ले अधिक छ।

राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार देशभरि महिलाको संख्या १ कराेड ४९ लाख १ हजार,१६९ भए तापनि परिवार, समाज र राज्यमा महिलाको पहुँच पुरुषहरूले गर्ने दया, मायामा मात्र सीमित रहेको छ।

झट्ट हेर्दा देशको राष्ट्र प्रमुख महिला भएकोमा गर्व गरिए पनि यो अवसर संवैधानिक र कानुनी बाध्यताका कारण प्राप्त भएको जगजाहेर नै छ‍।

कार्यकारी अधिकार प्रयोग गर्ने स्थानमा हालसम्म महिला पुग्न नसक्नुका पछाडिका कारण के हुन सक्लान? सिद्धान्त र अधिकारका दृष्टिले दुवै महिला र पुरुष समान भए पनि व्यवहारमा कुन महिलाले त्यो समानता स्वतन्त्रपूर्वक उपयोग गर्न पाएका छन्? खोजीकै विषय बनेको छ।

महिलाहरू पुरुषसरह सबै क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्न सक्षम छन्। अवसर पाएमा महिलाले पुरुषले भन्दा बढी जिम्मेवारी निर्वाह गर्न सक्छन्। तर यस्तो अवसर जुटाइदिने र आफ्नो कार्यमा अगाडि बढ्न घर परिवार भित्रैबाट उत्प्रेरित गरिनु पर्छ।

राजनीतिमा होस् वा सामाजिक वा सार्वजनिक क्षेत्रमा, देश भित्र होस वा अन्तर्राष्ट्रिय स्तरमा, जुनसुकै क्षेत्रमा हुने प्रतिष्पर्धामा महिलाले पुर्‍याएकाे योगदान कम आँक्न मिल्दैन। ती क्षेत्रमा महिलाले जतिसुकै साहसिक, उत्कृष्ट काम गरे पनि त्यस्ता कार्यको प्रशंसा गर्न कन्जुस्याइँ हुने गरेको छ।

खुकुरीको चोट अचानोलाई थाहा हुन्छ भनेझैँ हरेक क्षेत्रमा खटिएर देशको शीर उचो पार्ने महिलाको कुँडिएको मनले मात्र त्यो अनुभूति गरेको हुन्छ। प्रशंसा गर्न र स्यावासी दिनसमेत झिँझाे मान्ने तर अनावश्यक कुतर्क गरेर महिलालाई होच्याउने समाजबाट समान अवसरको अपेक्षा राख्नु मूर्खतामात्र हुन्छ।

हामी उत्कृष्ट कार्य गर्ने अग्रणी दिदी बहिनीहरूप्रति किन गर्व गर्न सक्दैनौँ? स्यावासीका दुई शव्द खर्चिन किन कन्जुस्याइँ गर्छाैँ? किन उनीहरूप्रति व्यंग्यवाण प्रहार गर्छौँ? किन हाम्रो समाज पूरातन सोचबाट माथि उठ्न सकेको छैन? यसकाे मूल जरो कतै महिलालाई ठूलाबडाहरूबाट दिइने आशीर्वादबाटै सुरु भएको त छैन?

समय क्रमसँगै हाम्रो समाज आधुनिकतामा प्रवेश गर्‍याे, हामीले सोच्यौँ कि हामी आधुनिक भयौँ तर यो परिवर्तनलाई कुन रूपमा अँगालेका छौँ, त्यसले धेरै प्रभाव पारेकाे हुन्छ। आफ्नो स्वार्थ पूरा गर्न जे पनि गर्न तयार हुने मात्र हो कि अथवा अरूको आत्मसम्मानलाई पनि स्वीकार गर्न तयार छौँ?

छोरी र बुहारीमा भेद गर्ने समाजमा छोरी अन्यायमा पर्दा मात्र बोल्ने हो कि बुहारीको लागि पनि बोलिदिन सक्छौँ? उनीहरूलाई न्याय दिन सक्छौँ कि सक्दैनौँ? विचारणीय छ। हो, छोरी र बुहारी दुवैको घर, परिवार र समाजप्रति समान जिम्मेवारी छ। जिम्मेवारी वहन गर्न आफू पनि मानसिकरूपमा तयार हुनुपर्छ। सबैले पहिला कर्तव्य पालना गरेर मात्र अधिकारमा दावा गर्न मिल्छ।

हामी बजारमा चलेका आधुनिक सामान र प्रविधि प्रयोग गर्दैमा आधुनिक हुन सक्दैनौँ। आधुनिक फेसनका पहिरन लगाउँदैमा आफूलाई आधुनिक भन्न रुचाउनेको जमात समाजमा ठूलो छ। आधुनिकता प्रविधि र पहिरनमा होइन, सोच, विचार र व्यवहारबाट झल्किनु पर्छ।

अब महिलालाई ३३ प्रतिशतमात्र छुटयाएर जिम्मेवारी पूरा भएको ठान्न मिल्दैन। महिलालाई पुरुषसरह हरेक क्षेत्रमा समान अवसर प्रदान गर्न जरुरी छ। समान अवसरबाटै संविधानले परिकल्पना गरेको महिलाका अधिकारहरू प्राप्त हुन सक्छन्। सामाजिक, पारिवारिक र आर्थिकरूपमा महिला सबल भए भने मात्र देश र समाजमा उनीहरूकाे स्थान गर्व गर्न लायक हुनेछ।

हामीले देखे सुनेका छौँ, कतिपय आमा, दिदीबहिनीहरूले श्रीमानको मृत्युपश्चात् सम्पत्ति छोराबुहारी र छोरीज्वाइँहरूले आफ्नो कब्जामा राखेर उनीहरूलाई सम्पत्तिको भोगचलनबाट वन्चित गराएका छन्। वृद्ध उमेर र शारीरिक अशक्तताका बीच मन लागेको कुराहरू खान, लगाउन नपाउने, औषधि उपचारको लागि छोराबुहारी छोरीज्वाइँको मुख ताक्नुपर्ने स्थिति छ।

सरकारले दिने एकल महिलाभत्ता, वृद्धाभत्ता पनि उनीहरूले आफूखुसी खर्च गर्न पाएका छैनन्। घरपरिवारका टाठाबाठाहरूले त्यो पनि उपभोग गर्ने गरेकाे दृष्टान्त समाजमा देख्न सकिन्छ। ती वृद्ध आमा जसले छोराछोरी हुर्काउने क्रममा तिम्रो लागि यति खर्च गरेँ भनेर कहिले छोराछोरीलाई सुनाउँदिनन् तर आमाको उपचारमा भएको खर्चमा त्यो भत्ताको रकम सकियो भनेर छोराछोरीले हिसाब बुझाएको देखिन्छ। किन त्यस्तो हुन्छ? जसजसले आमाको आँशुमा रमाउने गर्नु भएको छ एकदिन अवश्य पछुताउनु पर्ने छ।

आउँदा दिनमा महिलाले आर्थिकरूपमा होस् वा घर बाहिर निस्केर अस्पताल जाने, बैकिङ कामकाजका लागि होस्, सरकारी कार्यालयमा गएर आफ्ना कामकाज गराउनुपर्ने सिलसिलामा होस् आफैँ सक्षम हुन्। कसैको पनि सहयोग लिनु नपरोस् भन्ने किसिमको शिक्षाको खाँचो देखिन्छ।

अब हाम्रा मान्यजनले परापूर्वकालदेखि महिलालाई शौभाग्यवती हुनु, सबैलाई आदर गर्नु, कुलको इज्जत राख्नु आदिआदि भनेर आशीर्वाद दिइने चलनमा परिवर्तन गर्न जरुरी छ। ती आशीर्वादहरूमा सबै अर्काको स्वार्थको लागि मात्रै गर्नुपर्ने कुरा झल्किन्छ।

महिलाका लागि त केही छैन। त्यसैले समाज परिवर्तन घरघरबाट नै गर्नुपर्ने देखिन्छ। हरेक छोरी बुहारीहरूलाई पूरातन आशीर्वादको सट्टामा चलाख हुनू , आफ्नो क्षेत्रमा अब्बल हुनू , आर्थिकरूपमा सबल हुनू , कर्तव्यबोध गरेर समान अधिकार प्राप्त गर्नू भन्ने आशीर्वाद दिन आवश्यक छ। हरेक कुराको सकारात्मक र नकारात्मक पक्ष के हो भनेर केलाउन, खुट्याउन सक्ने हुनु दीर्घ जीवन सुस्वास्थ्यसहितको होस् भन्ने आशीर्वादको खाँचो टड्कारो रूपमा देखिएको छ।

साउन १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्