पर्सा र बारामा राष्ट्रिय परिचयपत्र र ई-पासपोर्टको अनलाइन फारम पालिकाबाट नै भरिने

वीरगञ्ज- मधेस प्रदेशका पर्सा र बारा जिल्लामा राष्ट्रिय परिचयपत्र र ई-पासपोर्टको अनलाइन फारम पालिकाबाट नै भरिने व्यवस्था गरिएको छ।

दुबै जिल्लाका जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अबदेखि सम्बन्धित पालिकाबाट नै राष्ट्रिय परिचयपत्र र ई-पासपोर्टको अनलाइन फारम भर्ने व्यवस्था गरिएको जनाएका छन्।

पर्सामा रहेको १४ वटै पालिकामा राष्ट्रिय परिचयपत्र र ई-पासपोर्टको अनलाइन फारम भर्नको लागि कर्मचारी तथा उनीहरूको सम्पर्क नम्बर समेत दिइएको छ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा वीरगञ्ज महानगरपालिका र सखुवा प्रसौनी गाउँपालिकामा दुई/दुई जना राष्ट्रिय परिचयपत्र र ई-पासपोर्टको अनलाइन फारम भर्ने व्यक्तिलाई तोकिएको छ भने अन्य पालिकाहरुमा एक एक जना ब्यक्तिहरुलाई तोकिएको जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएको छ।

अबदेखि आफनै पालिकामा राष्ट्रिय परिचयपत्र र ई-पासपोर्टको अनलाइन फारम भरेर मात्रै जिल्ला प्रशासनमा बायोमेट्रिकको लागि जानुपर्ने जिल्ला प्रशासनले सूचनामार्फत जनाइएको छ।

यसैगरी, बारा जिल्लामा पनि सम्बन्धित पालिकाबाट नै राष्ट्रिय परिचय पत्र र ई-पासपोर्टको अनलाइन फारम भर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए।

ई-पासपोर्टको लागि प्रि-इनराेलमेन्टपछि आइतबारदेखि बिहीबार बिहान १० देखि ५ र शुक्रबार १० देखि ३ बजेसम भेरिफिकेसनको समय तोकिएको उनले बताए ।

साथै राष्ट्रिय परिचय पत्रको अनलाईन फारम सम्बन्धित पालिकाबाट निःशुल्क रूपमा भरेर टोकन प्राप्त गर्न सकिने जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ। टोकन अनुसार दैनिक १२० जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिने जिल्ला प्रशासनले जनाएको छ।

साउन १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्