सनातनयात्रा

क्षत्रियधर्म र राष्ट्ररक्षा

विषय प्रवेश

वैदिक–सनातन–वर्णाश्रम–धर्ममा व्यक्ति, कुटुम्ब, कुल, वर्ण, जाति, आश्रम र विभिन्न पेसाका व्यक्तिहरूको पनि धर्म र कर्तव्य बताइएको छ। वैदिक राष्ट्रको र समाजको सर्वाङ्गीण समृद्धिका निम्ति सुव्यवस्था गर्न शास्त्रमा यस्ता विषयले प्रमुखता पाएको देखिन्छ। धर्म, अर्थ, काम र मोक्ष यी चार पुरुषार्थ वैदिक धर्मका लक्ष्य हुन् र यिनै चार पुरुषार्थको प्राप्तिका निम्ति सन्तुलित जीवनयापन गर्नु हिन्दुहरूको विशेषता हो। यस लेखमा चार वर्णमध्ये क्षत्रिय वर्णको धर्मका र राष्ट्ररक्षाका विषयमा चर्चा गर्न खोजिएको छ।

चातुर्वर्ण्य  समाज

प्रागैतिहासिक कालदेखि नै भारतवर्षभरि चातुर्वर्ण्य –समाज चल्दै आएको छ। ब्राह्मणहरूले तपस्या गर्दै अध्ययन–अनुसन्धान र साधना गरेर ज्ञानविज्ञानको र सदाचारको परम्परा अविच्छिन्न रूपमा ल्याए। क्षत्रियहरूले आफ्नो जीवनको आहुति दिएर भए पनि राष्ट्रको रक्षा गर्दै आए। वैश्यहरूले कृषि, पशुपालन र वाणिज्यबाट राष्ट्रलाई भौतिक रूपमा समृद्ध बनाउँदै आए।

शूद्रहरूले पनि परिश्रम गरेर र शिल्पकर्म गरी राष्ट्रलाई कलाकौशलले भरेर राष्ट्रको सेवा गर्दै आए। यस्तो चारै वर्णको समन्वयात्मक समाज र आचारविचार यहाँ अनादिकालदेखि चल्दै आएको हो। ब्राह्मणले वा मनुले यस्तो समाज आफैँले बनाएका हैनन्। गीतामा पनि आआफ्ना जन्मजात स्वभाव र गुणअनुसार चारै वर्णका कर्महरू छुट्टाछुट्टै हुन्छन् भनिएकै छ—

ब्राह्मण–क्षत्रिय–विशां
शूद्राणां च परन्तप।
कर्माणि प्रविभक्तानि
स्वभावप्रभवैर्गुणैः।।१८।४१।।

आफ्ना आन्तरिक गुणले गर्दा यो चातुर्वण्र्य–समाज अनेक घात–प्रतिघातहरूको सामना गर्दै आजसम्म पनि कुनै रूपमा चलिआएकै छ। भारतमा आफ्नो उपनिवेश टिकाउन अङ्ग्रेजहरूले पनि भारतवर्षीय यस समाजमा आन्तरिक फूट पैदा गरी चार वर्णहरूका बीचमा परस्परमा विरोध र कटुता उत्पन्न गराउन धेरै षड्यन्त्र गरेका थिए। उनीहरूले चलाएका शिक्षाप्रणालीले र प्रायोजित गरेका लेखकहरूले भारतवर्षीय चातुर्वण्र्य–समाजमा परस्पर विरोध चर्काउन काम गरेको देखिन्छ। जुनसुकै समाजलाई पनि विविध प्रकारको जनशक्तिको आवश्यकता पर्छ।

चार वर्णको सृष्टिधार्मिक–सामाजिक–राष्ट्रिय कार्यविभाजनलाई सुव्यवस्थित र स्थिर गर्नसमेत अनादि कालदेखि गरिएको हो। त्यसैको अनुपालन हुँदै आएको हो। वेदमै चार वर्णको र अन्य विभिन्न जातिको तथा तिनका कर्मको पनि उल्लेख पाइन्छ। यसरी कुलपरम्परागत रूपबाट विभिन्न क्षेत्रमा उत्कृष्ट प्रतिफल प्राप्त गर्न सकिने वैदिक धर्मको निष्कर्ष रहेको बुझिन्छ। काठमाण्डु उपत्यकामा प्राचीन कालदेखि बसोबास गर्ने नेवारसमुदायमा रहेको वैदिक जातीय र पेसागत व्यवस्थाले यो उपत्यका विद्या, उद्योग, कलाकौशल इत्यादि विविध दृष्टिकोणले समृद्ध रहेको छ। यो विश्वमा अन्यत्र नपाइने परम्परा र नमुना पनि हो।

क्षत्रियधर्म

शास्त्रमा वेदको अध्ययन गर्नु, यज्ञ गर्नु, दान दिनु र राष्ट्रको रक्षा गर्नु शुद्धकुलीन क्षत्रियका धर्म हुन् भनिएको छ। शास्त्रीय धार्मिक मर्यादाको पालनमा शिथिलता आएकाले पछिपछि क्षत्रियहरूले वेद पढ्ने परिपाटीचाहिँ हट्दै गयो, सदाचारका नियममा बसेका शुद्ध ब्राह्मणले मात्र वेद पढ्ने परिस्थिति विकसित हुँदै गयो। शिखा र यज्ञोपवीत धारण गर्ने, नित्य स्नान र सन्ध्यावन्दन गर्ने, शास्त्रले भक्ष्य भनेका वस्तु खाने, अभक्ष्य भनेका वस्तु नखाने, विवाहको शास्त्रीय नियमको पालन गर्ने र अरू पनि शास्त्रले गर्नू भनेका कर्महरू गर्ने र शास्त्रले निषेध गरेका कर्महरू नगर्ने कामलाई सदाचार भन्दछन्। यस्ता सदाचारको पालन ब्राह्मणले मात्र हैन, क्षत्रियले समेत गर्नुपर्ने शास्त्रमा निर्देश गरिएको छ।

शस्त्र र अस्त्रको व्यवहारले र राष्ट्ररक्षाको कामले वृत्ति चलाउनु क्षत्रियका लागि वैदिक धर्मको विशेष अनुकूल कुरा हो। तसर्थ क्षत्रियले विशेष गरेर अर्थवेद (प्रशासनशास्त्र) र धनुर्वेद (युद्धशास्त्र) पनि पढ्नुपर्ने देखिन्छ।राष्ट्ररक्षाको कामबाट वृत्ति नचले वैश्यकर्म कृषि–पशुपालन–वाणिज्य गर्न पनि क्षत्रियले हुन्छ भन्ने शास्त्रको भनाइ छ।

हजारौँ पुस्तादेखि शूर–वीर क्षत्रियहरूले शत्रुराष्ट्रबाट आफ्नो राष्ट्रको रक्षा गर्दै आएको कुरा शास्त्रमा उल्लिखित देखिन्छ। युद्धमा आफू मर्न र अरूलाई मार्न नडराउने वंशानुगत जन्मजात गुण क्षत्रियमा अनादिकालदेखि पाइने हुनाले नै वर्णधर्ममा क्षत्रियले धर्मयुद्ध र राष्ट्ररक्षा गर्नुपर्ने बताइएको हो।

गीतामा श्रीकृष्णले अर्जुनलाई तिमीले क्षत्रिय भएर धर्मयुद्धबाट पलायन गर्नुहुँदैन भनेर उपदेश दिनुभएको छ। सम्पूर्ण गीताको मूल विषयवस्तु नै युद्धबाट पर भाग्न खोज्ने अर्जुनलाई क्षत्रियको वर्णधर्म युद्ध गर्नु भएकाले त्यसबाट तिमी पर जान हुँदैन भनेर सम्झाउनु हो।“स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः” (३।३५) भन्ने प्रसिद्ध उपदेश पनि यसै प्रसङ्गमा दिइएको हो। आफ्ना वर्णको धर्म पालन गर्दागर्दै मर्नु बरु कल्याणकारक हुन्छ, तर अर्को वर्णको धर्म गर्न खोज्र्नु भयावह कार्य हुन जान्छ भनेर यहाँ सम्झाइएको हो। चारै वर्णले आआफ्ना वर्णधर्मको पालन गरेर नै सिद्धि प्राप्त गर्दछन् भन्ने पनि गीताको उपदेश छ—“स्वेस्वे कर्मण्यभिरतः संसिद्धिं लभते नरः” (१८।४५)। क्षत्रियधर्ममा शिथिलता आउनाले पछिपछि भारतवर्षमा विभिन्न विदेशी र विधर्मीहरूले आक्रमण गर्न सकेका हुन् भन्ने देखिन्छ।गीतामा क्षत्रियका स्वाभाविक धर्म शूरता, तेज, धृति, दक्षता, युद्धबाट पछि नहट्नु, दान र ऐश्वर्य हुन् भनेर बताइएको छ—

शौर्यं तेजो धृतिर् दाक्ष्यं
युद्धे चाप्यपलायनम्।
दानमीश्वरभावश्च
क्षात्रं कर्म स्वभावजम्।।१८।४३।।

राष्ट्र

राष्ट्र भनेको प्रमुख स्वार्थ र आदर्श प्रायः समान भएका, कुनै साझा भूभागलाई निवास र जीविकाका लागि आफ्ना अधीनमा राखेका, सामूहिक हितको तथा आफूआफूमा कसैको पनि धर्मको र न्यायको प्रतिकूल नहुने गरेर आफ्नोआफ्नो हितका लागि काम गर्ने र सामूहिक समृद्धि तथा सुखशान्तिका लागि मिलिजुली सामूहिक काम समेत गर्ने मानिसहरूको समुदाय हो।

राष्ट्रलाई नै राज्य पनि भन्दछन्। राज्यसञ्चालन गर्न आवश्यक पर्ने विभिन्न अङ्ग र प्रत्यङ्गहरूको चर्चा स्मृतिशास्त्रमा प्रशस्त रूपमा गरिएको पाइन्छ। अथर्ववेदमा पनि राष्ट्रसम्बन्धी धेरै विषयको उल्लेख छ। राज्यका प्रमुख सात अङ्ग हुन्छन् भनेर मनुस्मृतिमायसरी बताइएको छ—

स्वाम्यमात्यौ पुरं राष्ट्रं
कोशदण्डौ सुहृत् तथा।
सप्त प्रकृतयो ह्येताः
सप्ताङ्गं राज्यमुच्यते।।९।२९४।।

अर्थात् १. स्वामी (राजा), २. अमात्य (मन्त्री, सचिव, सेनापति इत्यादि), ३. पुर (राजधानी, मुख्य दुर्ग), ४. राष्ट्र (देशवासिसहित देश), ५. कोश (खजाना), ६. दण्ड (सेना), ७. मित्र, यी सात राज्यका प्रकृति उपादान (कारण) हुन्, त्यसैले राज्यलाई सप्ताङ्ग (सात अङ्गले सहित) भनेर बताइन्छ। यी सात अङ्गको विस्तृत रूपमा विवेचना पनि मनुस्मृतिमा गरिएको छ।

वैदिक परम्परामा राष्ट्र अथवा राज्य भनेको ब्रह्म, क्षत्र र विश्हरूको एउटा सुसङ्घटित समुदाय हो। वेदबाट नै राष्ट्रको यस्तो स्वरूप हुने कुरा बुझिन्छ। राष्ट्रको परिभाषा गर्दा ‘ब्रह्म’ भनेको वस्तुतत्त्वको (वास्तविकताको) प्रकाशन गरेर क्षत्रतत्त्वलाई कर्तव्य देखाउने ‘विधायक तत्त्व’ हो, ‘क्षत्र’ भनेको ब्रह्मले निर्देश गरेको कार्य गर्ने बलशाली ‘कार्यकारी तत्त्व’ हो, ‘विश्’ भनेको राष्ट्रअन्तर्गत व्यवस्थापन गरिने जनसमुदाय हो। यस्तो सङ्घटन जनताको समृद्धिका लागि गरिएको हुन्छ। यास्कले निरुक्तमा “तत्रैतन् नरराष्ट्र मिव” भनेका छन् (७।५)। यस भनाइले मानिसहरूको एक प्रकारको समूह नै राष्ट्र हो भन्ने स्पष्ट हुन्छ।

उहिल्यै सम्पूर्ण मान्छे धार्मिक हुँदा त न राज्यको आवश्यकता थियो, न त राजाकै। त्यति वेला दण्ड दिनुपर्ने मान्छे कोही पनि थिएन, त्यसैले दण्डको व्यवस्था पनि गरिएको थिएन। केवल धर्मद्वारा नै सबै जनताको रक्षा हुने गर्दथ्यो। यो कुरा महाभारतका शान्तिपर्वमा यसरी बताइएको छ—

न वै राज्यं न राजासीन्
न दण्ड्यो न च दाण्डिकः।
धर्मेणैव प्रजाः सर्वा
रक्षन्ति स्म परस्परम्।।५९।१४।।

वैदिक धर्मका अनुयायी हिन्दुहरूको राष्ट्रव्यवस्था अघिअघि शाश्वत धर्मका आधारमा चल्ने गर्दथ्यो। युगभ्रंशले गर्दा मान्छेहरू चरित्रभ्रष्ट हुन थालेपछि स्मृतिशास्त्रमा व्यवस्था गरिएको व्यवहारका आधारमा पनि चल्न थाल्यो भन्ने कुरा स्मृतिमा पनि उल्लिखित देखिन्छ। यसबाट शाश्वत धर्मको आधारमा चल्ने राष्ट्रव्यवस्था नै मुख्य हो,मानिसले बनाएका व्यवहार–नियमका आधारमा चल्ने राष्ट्रव्यवस्थाचाहिँ कामचलाउ हो भन्ने कुरा स्पष्ट हुन्छ। मनुस्मृतिमा (८।८)यही कुरा बताइएको छ— धर्मं शाश्वतमाश्रित्य कुर्यात् कार्यविनिर्णयम्। यसबाट शाश्वत (प्राकृतिक) न्यायको बलिष्ठताको सिद्धान्त प्राचीन कालदेखि चलिआएको कुरा हो भन्ने बुझिन्छ।

राष्ट्ररक्षा

राजाले वा राष्ट्रप्रमुखले (शासकले) ब्रह्मचर्यले र तपस्याले राष्ट्रको रक्षा गर्नुपर्ने कुरा अथर्ववेदमा मानिएको छ— ब्रह्मचर्येण तपसा राजा राष्ट्रं वि रक्षति (११।७।१७)। चाणक्यका सूत्रहरू पनि यस सन्दर्भमा स्मरणीय छन्—

सुखस्य मूलं धर्मः—सुखको मूल अर्थात् स्रोत धर्म हो।धर्म नभए सुख पाइँदैन। धर्मविना धनसम्पत्तिबाट मात्र वास्तविक सुख प्राप्त हुन सक्तैन। अधर्मको वर्चस्व हुँदा समाजमा र राष्ट्रमा न्यायपूर्ण व्यवस्था गर्न सकिँदैन। त्यसैले सुख प्राप्त गर्नका निम्ति सबैभन्दा आवश्यक तत्त्व धर्म नै हो।

धर्मस्य मूलमर्थः— धर्मको मूल अर्थात् स्रोत अर्थ हो। अर्थ नभए धर्मकर्म गर्न सकिँदैन। धर्मको पालन गर्न र धर्मपूर्वक राज्यसञ्चालन गर्न पनि अर्थको आवश्यकता पर्छ। न्यायपूर्ण तरिकाबाट आर्जन गरिएको अर्थले मात्र धर्मको अभिवृद्धि हुन्छ। त्यसैले अन्याय गरेर अर्थोपार्जन गर्नुलाई शास्त्रमा अत्यन्त निन्दा गरिएको छ।

अर्थस्य मूलं राज्यम्—अर्थको मूल राज्य हो। राज्य नभैकन अर्थ प्राप्त हुँदैन।राज्य भनेको जनतासहितको देश हो। राम्रो उब्जनी हुने र जीविका सुलभ भएको देशमा नै आर्थिक उन्नति हुन सक्ने हुनाले अर्थको स्रोत देशलाई मानिएको हो।

राज्यमूलमिन्द्रियजयः— राज्यको मूल इन्द्रियहरूमाथिको विजय हो। राजाले वा शासकले आफ्ना इन्द्रियहरूलाई नियन्त्रणमा राख्नुपर्छ। अन्यथा राज्यको संरक्षण हुन सक्तैन, विनाश हुन्छ। आजका शासकमा रहेको मुख्य समस्या यही हो। विषयहरूको भोगमा लिप्त भएर विलासी जीवन बिताउने राजाले वा शासकले राज्यको विनाश गर्दछ। त्यस्ता शासकका जनताले दुःख पाउँछन्। त्यस्ता शासकद्वारा शासित राष्ट्र प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पराधीन पनि हुन पुग्छ।

इन्द्रियजयस्य मूलं विनयः— इन्द्रियहरूलाई नियन्त्रणमा राख्न विनय चाइन्छ। विनयस्य मूलं वृद्धोपसेवा— विनय कसरी आउँछ त? वृद्धहरूका समीपमा गएर उनीहरूको सेवा गरेपछि र उनीहरूको उपदेश सुनेपछिविनय आउँछ।वृद्धसेवया विज्ञानम्— वृद्धहरूको सेवा गरेपछि उनीहरूबाट विशिष्ट ज्ञान प्राप्त हुन्छ। विज्ञानेन आत्मानं सम्पादयेत्—विज्ञानले आत्मालाई सम्पन्न गरोस्।सम्पादितात्मा जितात्मा भवति— आत्मालाई जसले विज्ञानले सम्पन्न बनाउँछ, त्यसलेइन्द्रियमाथि विजय प्राप्त गर्दछ।जितात्मा सर्वार्थैः संयुज्यते— इन्द्रियहरूमाथि विजय पाउनेव्यक्ति सबै कुराले सम्पन्न हुन्छ।

यसरी चाणक्यले राष्ट्ररक्षागर्नका लागि राजालाई धर्मात्मा, संयमी, विनयी, सदाचारी र विद्वान्हरूका नीतिवचनअनुसार कार्य गर्ने अनुशासित व्यक्ति हुनुपर्छ भनेका छन्।यसबाट नै सुशासन चल्न सक्ने देखिन्छ।

उपसंहार

वैदिक राष्ट्र भनेको चातुर्वर्ण्य –समाजको सर्वाङ्गीण समुन्नतिका लागि सुसङ्घटित जनसमूह हो। राष्ट्रका विभिन्न अङ्ग–प्रत्यङ्ग हुन्छन्। यस विषयमा स्मृतिशास्त्रमा धेरै विवेचना गरिएको छ। क्षत्रिय वैदिक राष्ट्रको एउटा अत्यन्त महत्त्वपूर्ण वर्ण (जाति) हो। क्षत्रियले राष्ट्ररक्षाका निम्ति वीरता प्रदर्शन गरेर तथा जीवनको आहुति दिएर समेतराष्ट्रका निम्तिउल्लेख्य काम गर्दैआएको होे।क्षत्रियहरूमध्येबाटै राजा हुने र लोककल्याणकारी राज्यव्यवस्था सञ्चालन गर्ने व्यवस्था पनि शास्त्रमा गरिएको छ। राजधर्मका विषयमा अर्को लेखमा चर्चा गरिनेछ।

साउन १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्