बढ्यो सुनचाँदीको आयातः एक वर्षमा ३५ अर्बको सुन र १३ अर्बको चाँदी भित्रियो

सांकेतिक तस्बिर।

वीरगञ्ज – नेपालमा विदेशबाट सुनचाँदीको आयातमा बृद्धि भएको छ। गत आर्थिक वर्ष २०७८/७९ मा विदेशबाट नेपाल आयात गरिने सुनचाँदीको आयातमा बृद्धि भएको भन्सार विभागले जनाएको छ।

विभागले दिएको तथ्याँक अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा नेपालमा ३५ अर्ब ६१ करोड ९५ लाख २४ हजार बराबरको ५ हजार ५३ किलो सुन आयात भएको छ। यस अवधिमा चाँदी भने नेपालमा १३ अर्ब ९ करोड २९ लाख बराबरको एक लाख ३८ हजार ५ सय एक किलो ३६४ ग्राम आयात भएको विभागको तथ्याँकमा जनाइएको छ।

अहिले आयात गरिएको सुनचाँदी दुवैको मात्रा अघिल्लो आर्थिक वर्ष २०७७/७८ कोभन्दा बढी रहेको भन्सार विभागले जनाएको छ। आर्थिक वर्ष २०७७/७८ मा भने विदेशबाट नेपालमा २७ अर्ब ३४ करोड ३९ लाख ५२ हजार बराबरको ३ हजार ९ सय २४ किलो ५ सय ग्राम सुन आयात भएको थियो।

यस्तै, सोही अवधिमा चाँदी भने ७ अर्ब ३२ करोड ६९ लाख ७१ हजार बराबरको ७२ हजार ७ सय ४६ किलो विदेशबाट आयात गरिएको थियो। यस आँकडा अनुसार गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा ८ अर्ब २७ करोड ५५ लाख ७२ बराबरको बढी सुन आयात गरिएको हो।

यसैगरी ७ अर्ब १९ करोड ६० लाख ४२ हजार बढी मुल्यको चाँदी बितेको आर्थिक वर्षमा अघिल्लो वर्षभन्दा बढी आयात भएको हो।

साउन १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्