साउनको सोमबार शिवको आराधना किन? (भिडियोसहित)

फाइल तस्बिर

काठमाडौँ – पशुपतिनाथ मन्दिर परिसरमा एकातिर महायज्ञ भइरहेको छ भने अर्कातिर त्यहाँ दर्शन गर्न आउने भक्तजनहरुको भीड लागेको छ।

साउने सोमबारका लागि टोखाबाट पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आएकी इन्दिरा गिरी लाइन लामो भएका कारण दर्शन गर्न नपाएर बाहिरबाटै दर्शन गरेर फर्किइन्। उनी भन्छिन्,‘धेरै लामो लाइन छ। भित्र गएर पूजा गर्न त पाएनौँ। बाहिरबाटै दर्शन गरेर फर्किन लागेको।’

उता कायश्वरीकाट दर्शन गर्न आएकी दुर्गा खड्काले भने दर्शन गर्न पाइन्। उनी भन्छिन्, ‘भित्रै त पस्न पाइएन तर जे होस् ढोकासम्म पुग्न पाइयो।’

अघिल्ला दुई वर्ष साउन महिनामा कोरोना महामारीका कारण पशुपतिनाथ मन्दिर बन्द गरिएकाले पनि यस वर्ष धेरै भक्तजन दर्शनका लागि आएको उनको भनाइ छ। भन्छिन्, ‘म पनि प्रायजसो जहिले नि पूजा गर्न आउँथेँ तर यो लकडाउन भएदेखि पहिलो पटक नै हो।’

साउन महिनाको सोमबार भगवान् शिवको आराधाना हुने भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ।

घरघरमा महिलाले परिवारका सबै सदस्यको सुख, शान्ति एवं पारिवारिक समृद्धिका लागि व्रत बसी पूजाआजा गर्छन्। यस वर्ष साउनमा पाँच वटा सोमबार परेको छ।

पहिलो पटक साउने सोमबारको व्रत गर्नेले पाँच वटा सोमबार परेको वर्षबाट सुरु गर्नुपर्छ भन्ने मान्यतासमेत छ। विवाहित महिलाले श्रीमान्‌को दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य वरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने भनाइ पनि प्रचलित छ।

पार्वतीले साउन महिनाभर निराहार रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको शास्त्रमा वर्णित भएकोले महिलाहरूले यसलाई बढी महत्त्व दिन्छन्। महिनाको अरू दिन नसके पनि सोमबार व्रत बसी शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम सुख, शान्ति एवं समृद्धिका लागि साउन महिना र सोमबार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय वचन धार्मिक ग्रन्थमा रहेको बताउँछन्।

साउन ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्