जुन देशमा निर्यात हुन्छ त्यहीबाट आयात पनि

नेपालले साढे सात करोडको अगरबत्ती निर्यात गर्दा ५६ करोडको आयात

सांकेतिक तस्बिर।

वीरगञ्ज – चालु आर्थिक वर्ष २०७८/७९ को ११ महिनाको अवधिमा नेपालमा विदेशी देशहरूबाट ५६ करोडभन्दा बढीको पूजामा प्रयोग गरिने अगरबत्तीको आयात भएको छ।

भन्सार विभागले जारी गरेको तथ्या‌ंक अनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठ ११ महिनाको अवधिमा नेपालमा ५६ करोड ९९ लाख ३३ हजार बराबरको ३५ लाख ९१ हजार १ सय १६ किलो अगरबत्ती आयात भएको छ।

यस आंकडा अनुसार नेपालले प्रति महिना पाँच करोड ८१ लाख दुई हजार ९० रुपैया ९० पैसाको अगरबत्ती विदेशबाट आयात गरिरहेको देखिन्छ।

यसै अवधिमा भने नेपालले विदेशमा जम्मा सात करोड ७६ लाख ४६ हजार बराबरको एक लाख ४६ हजार ६ सय १६ किलो मात्रै अगरबत्ती निर्यात गर्न सकेको भन्सार विभागको तथ्यांकले देखाएको छ।

यस अनुसार नेपालले विदेशमा प्रतिमहिना ७० लाख ५८ हजार ७ सय २७ रुपैयाँ २७ पैसाको अगरबत्ती निर्यात गरिरहेको छ। गत आर्थिक वर्ष भन्दा चालु आर्थिक वर्षमा नेपालले एक करोड २३ लाख १४ हजार बराबर बढीको अगरबत्ती आयात गरेको हो।

गत आर्थिक वर्षमा नेपालले ५५ करोड ७६ लाख १९ हजार बराबरको ४५ लाख २ हजार ५ सय ९० किलो अगरबत्ती आयात गरेको थियो।

जुन देशमा निर्यात हुन्छ, त्यहीबाट पुनः करोडौँको आयात पनि

चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा नेपालले छिमेकी मुलुक भारत र चिनसँगै ४९ वटा देशहरूमा कुल सात करोड ७६ लाख ४६ हजार बराबरको अगरबत्ती निर्यात गरेको छ।

यस अवधिमा नेपालले छिमेकी मुलुक भारत र चिनसँगै ९ वटा विदेशी मुलुकहरूबाट ५६ करोड ९९ लाख ३३ हजार बराबरको अगरबत्ती आयात गरेको छ।

नेपालले जुन देशहरूमा अगरबत्ती बेच्ने गरेको छ पुनःत्यही देशबाट नै करोडौँ मूल्यको अगरबत्ती खरिद गर्ने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ।

नेपालले निर्यात गर्ने गरेको ४९ वटा देशहरूमध्ये ९ वटा विदेशी देशहरुबाट पुनः अगरबत्ती नै आयातसमेत गर्दै आइरहेको छ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ११ महिनामा नेपालले भारतलाई १४ लाख ८२ हजारको अगरबत्ती बिक्री गरेको छ भने ‌भारतबाट नै ३३ करोड ५३ लाख ९४ हजार बराबरको अगरबती खरिद गरेको छ।

११ महिनाकै अवधिमा भियतनाममा नेपालले ३ लाख ९७ हजारको अगरबत्ती निर्यात गरेकोमा त्यहाँबाट २३ करोड १५ लाख ३ हजार बराबरको आयात गरेको छ।

यसैगरी भुटानलाई चार हजारको अगरबत्ती बेच्दा त्यहाबाट नेपालले १७ लाख ५६ हजारको खरिद गरी ल्याएको छ।

भन्सार विभागको तथ्यांक अनुसार नै चिनलाई नेपालले ३४ लाख ६६ हजारको अगरबत्ती बिक्री गर्दा त्यहाँबाट सात लाख १० हजारको अगरबत्ती खरिद गरेको छ।

त्यस्तै, थाईलैण्डमा नेपालले १२ हजारको अगरबत्ती निर्यात गर्दा ५ लाख ४२ हजार बराबरको, ताइवानमा ७५ लाख ९८ हजारको निर्यात गर्दा ८ हजारको, अमेरिकामा एक करोड ६४ लाख १५ हजारको अगरबत्ती निर्यात गर्दा १५ हजारको आयात गरेको छ।

यसैगरी, पोल्याण्डमा १५ लाख १३ हजारको अगरबत्ती निर्यात गर्दा ४ हजारको, मेक्सिकोमा ६१ हजारको निर्यात हुँदा एक हजारको आयात भएको भन्सार विभागको तथ्याँंकमा जनाइएको छ।

यस आँकडा अनुसार नेपालमै पाइने विभिन्न कच्चा पदार्थहरू प्रयोग गरेर स्वदेशमै बनाइएका अगरबत्ती प्रयोग गर्न सके मासिक रूपमा पाँच करोड ८१ लाख दुई हजार ९० रुपैया ९० पैसा विदेशी मुद्राको बचत हुने देखिन्छ।

 

असार २७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्