नेपालमा कोभिड प्यान्डेमिकको एक झलकः साप्ताहिक विश्लेषण

एक महिनाभन्दा १० गुणाले बढ्यो कोरोना संक्रमण

पछिल्लो समय कोरोना संक्रमण र कोरोना मृत्यु विश्व, दक्षिण एसिया र नेपालमा पनि वृद्धि हुँदै गएको कुरा सर्वविदितै छ।

यो कुरा यस शृंखलाका गतांकहरूमा पनि उल्लेख भइसकेको छ। एक महिनाभन्दा अघिको अवस्थासँग तुलना गर्ने हो भने हाल विश्वमा करिब दुई गुणा, दक्षिण एसियामा चार गुणा र नेपालमा कैयौँगुणा धेरै दैनिक संक्रमण देखिन थालेको छ। एक महिनाअघि ४ लाखभन्दा कम भइसकेको विश्वको दैनिक नयाँ कोरोना संक्रमण पछिल्लो समय अधिकतम १० लाख नाघिसकेको छ।

हाल युरोपमा एक महिनादेखि नयाँ लहर देखा परी दैनिक संक्रमणमा दुई गुणाले वृद्धि भएको छ।

त्यस्तै, समग्र दक्षिण तथा उत्तर अमेरिकामा अप्रिलमध्यदेखि कोरोना संक्रमणमा क्रमशः वृद्धि हुँदै नयाँ लहरको रूप लिएको छ।

अस्ट्रेलिया र न्युजिल्यान्डमा पनि दैनिक संक्रमण उच्च छ।

विश्वको कोरोना मृत्यु भने दुई महिनादेखि स्थिर देखिन्छ यद्यपि विश्वका विभिन्न देशमा पछिल्लो समय दैनिक कोरोना मृत्युमा पनि वृद्धि देखिन थालेको छ।

यी सबै तथ्यले पनि कोरोना संक्रमण यथावत् रहेको मात्र होइन, बेला बेलामा सक्रिय हुने गरेको स्पष्ट हुन्छ।

यसै सेरोफेरोमा नेपाल र विश्वको कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा पछिल्लो विश्लेषण विभिन्न स्रोतबाट प्राप्त तथ्यांकका आधारमा तल देखाइएबमोजिम प्रस्तुत गरिएको छ। यस लेखमा उद्धृत गरिएका तथ्यांक विभिन्न स्रोतबाट लिइएका हुन्। जस्तैः नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जोन्स होप्किन्स विश्वविद्यालय, डब्लुएचओ, वर्ल्डोमिटर, आवर वर्ल्ड इन डाटा, सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर आदि। यस लेखको उद्देश्य कोरोनासम्बन्धी तथ्यांकलाई सही रूपमा पस्की विश्व र नेपालको प्यान्डेमिकको सही चित्रलाई पाठकसमक्ष पुर्‍याउनु हो।

विश्वमा कोरोना प्यान्डेमिक तल–माथि हुने क्रममा दक्षिण एसियामा पछिल्लो अवस्थामा कोरोना संक्रमण बढ्दै गएको देखिन्छ।

दक्षिण एसियाको पछिल्लो ४ हप्ता, सन् २०२२ जुन ८ देखि जुलाई ६ (२९ दिन) कोकोरोना प्यान्डेमिकसम्बन्धी विभिन्न तथ्यांकको विश्लेषण तल देखाइएको छ।

चित्र न. १ले दक्षिण एसियाको पछिल्लो ४ हप्ताको समग्र दैनिक कोरोना संक्रमण र मृत्युको प्रवृत्ति देखाएको छ। पछिल्लो अवस्थामा दक्षिण एसियाको दैनिक संक्रमणमा वृद्धि हुँदै गएको देखिएको छ। एक महिनाअघि करिब ५००० जति रहेको दक्षिण एसियाको दैनिक कोरोना संक्रमण हाल अधिकतम १९००० नाघेको छ।

त्यस्तै, दैनिक मृत्यु संख्याको हिसाबले कम भए पनि यसमा वृद्धि हुँदै गएको देखिन्छ। चित्र न. २ले दक्षिण एसियाका विभिन्न देशमा पछिल्लो ४ हप्ताको दैनिक नयाँ कोरोना संक्रमणको प्रवृत्ति देखाएको छ। चित्रमा देखाइएजस्तै पछिल्लो समय भारतको दैनिक कोरोना संक्रमणमा केही वृद्धि हुने क्रम जारी रहे पनि दुई सातामा त्यहाँको दैनिक कोरोना संक्रमण केही स्थिर देखिन्छ।

बंगलादेशमा पनि एक महिनादेखि दैनिक कोरोना संक्रमणमा निकै वृद्धि भए पनि पछिल्लो समय केही स्थिरता देखिएको छ। दक्षिण एसियाका अन्य देशमा दैनिक कोरोना संक्रमण बढ्ने क्रम जारी देखिन्छ।

त्यस्तै, चित्र न. ३ले दक्षिण एसियाका विभिन्न देशमा पछिल्लो ४ हप्ताको दैनिक कोरोना मृत्युको प्रवृत्ति देखाएको छ। चित्रमा देखाइएजस्तै पछिल्लो अवस्थामा दक्षिण एसियाको भारत, बंगलादेश, अफगानिस्तान, पाकिस्तान, माल्दिभ्स आदि देशमा दैनिक मृत्युमा केही वृद्धि भएको देखिएको छ।

नेपालको दैनिक नयाँ संक्रमण

यो हरेक दिन नेपालमा देखिएका या देखिने नयाँ संक्रमितको संख्या हो। सन् २०२२ जुलाई ३ देखि ९ (वि.सं २०७९ असार १९ देखि २५) जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण र नयाँ संक्रमणको प्रवृत्ति चित्र न.४मा प्रस्तुत गरिएको छ।

यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ती गरिएको छ। नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत हप्ताको सात दिन, असार २५ गते शनिबारसम्म, देशभरि जम्मा ४५१ जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या ९८०२१३ पुगेको छ।

साप्ताहिक नयाँ संक्रमण संख्या दुई हप्ताअघि २५१ र तीन हप्ताअघि १६८ थियो। त्यस्तै, साप्ताहिक मृत्यु संख्या गत हप्ता पनि शून्य भई हालसम्म नेपालको जम्मा कोरोना मृत्यु ११९५२मा स्थिर छ।

गत हप्ता जम्मा १०४८६ पीसीआर परीक्षण गरियो जुन दुई हप्ताअघि १०४७४ थियो। गत हप्ता देशको कुल संक्रमण संख्यामध्ये काठमाडौँ उपत्यकामा ६६.३८% संक्रमण देखियो जुन दुई हप्ताअघि७३.६४%थियो।

नेपालको दैनिक संक्रमण (पोजिटिभिटी)

प्यान्डेमिकको मापदण्डमध्ये पोजिटिभिटी (संक्रमण दर) एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएकामध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँछ।

चित्र न.५ले नेपालको गत हप्ताको दैनिक कोरोना संक्रमण दर, नयाँ संक्रमण र मृत्युको प्रवृत्ति देखाएको छ। गत हप्ता पोजिटिभिटी दर न्यूनतम १.८४% देखि अधिकतम ७.८२%सम्म रही साताभरिको औसत पोजिटिभिटी दर ४.५१% रह्यो जुन दुई हप्ताअघि २.५९% थियो।

नेपालमा केही सातादेखि दैनिक कोरोना संक्रमणमा निकै वृद्धि हुँदै गएको छ। चित्र न. ६ले एक महिनाको नेपालको दैनिक कोरोना संक्रमण संख्या र कोरोना संक्रमण दर (पोजिटिभिटी)को प्रवृत्ति देखाएको छ।

चित्रमा देखाइएजस्तै एक महिनामा नेपालको दैनिक कोरोना संक्रमण संख्या ९ बाट अधिकतम ९० पुगेको छ भने संक्रमणदर ०.४२% बाट अधिकतम ७.८२%पुगेको छ।

यसरी नेपालमा कोरोना संक्रमण र संक्रमण दर एक महिनाअघिको तुलनामा १० गुणाभन्दा धेरैले वृद्धि भएको छ।

चित्र न. ७ले नेपालको डेढ महिनाभन्दा लामो समय (सात हप्ता)को साप्ताहिक जम्मा पिसीआर परीक्षण र जम्मा संक्रमण संख्याको प्रवृत्ति देखाएको छ।

चित्रमा देखाइएजस्तै ४ हप्तादेखि नेपालमा साप्ताहिक संक्रमण संख्यामा गुणात्मक वृद्धि हुँदै ९३ बाट ४५१ पुगेको छ।

दैनिक परीक्षण भने कम हुँदै गएको छ। प्यान्डेमिक कालमा संक्रमण संख्या र संक्रमण दरसँगै परीक्षण पनि बढाउँदै लैजानुपर्नेमा परीक्षण कम हुँदै गएको छ। त्यसको अर्थ यो पनि लाग्छ कि परीक्षण बढाउँदै लैजाने हो भने वास्तविक संक्रमण संख्या र संक्रमण दर पनि हालको भन्दा धेरै हुने निश्चित छ।

संक्षेपमा, पछिल्लो अवस्थामा विश्वमा कोरोना संक्रमण र प्यान्डेमिकको नयाँ लहर देखिएको छ। यसको असर युरोप, अमेरिकादेखि दक्षिण एसिया र नेपालमा पनि देखिएको छ।

पछिल्लो समय दक्षिण एसियाका अधिकांश देशमा दैनिक कोरोना संक्रमणमा निकै वृद्धि भई दैनिक कोरोना मृत्यु पनि बढेको पाइन्छ। नेपालमा पनि गत हप्ता साप्ताहिक नयाँ कोरोना संक्रमण र संक्रमण दरमा क्रमशः वृद्धि हुँदै गएको छ।

एक महिना अघिको तुलनामा दैनिक संक्रमण र संक्रमण दरमा क्रमशः वृद्धि हुँदै पछिल्लो समय १० गुणाभन्दा बढीले वृद्धि भएको छ।

नेपालमा जम्मा दैनिक संक्रमितमध्ये पछिल्लो समय काठमाडौँ उपत्यकाको अनुपात कम भई उपत्यकाबाहिरको अनुपात बढ्दै गएको छ।

यसले पनि नेपालमा प्यान्डेमिकको नयाँ लहर सुरु हुन लागेको लक्षण देखाउँछ। तसर्थ प्यान्डेमिक नियन्त्रणका लागि नेपाल सरकारको सम्बन्धित निकायले बेलैमा कन्ट्याक्ट ट्रेसिङ गरी प्रशस्त परीक्षण गर्नुपर्छ।

प्यान्डेमिककालमा कोरोना संक्रमण कहाँ र कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन जुन कुरा हाल विश्वका विभिन्न देशमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्छ।

तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ती सावित हुन सक्छ। तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसात् गर्नुपर्ने बेला आएको छ।

हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात साबुनपानीले राम्ररी धुने, अनावश्यक भीडभाड नगर्ने आदि सावधानीका कुरा कडाइसाथ अपनाउनुपर्छ। पछिल्लो समय अन्य देशमा संक्रमण फेरि बढ्ने प्रवृत्ति देखिएको बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिन्न।

यस लेख नेपालमा साप्ताहिक रुपमा प्यान्डेमिक हेर्ने ऐनाको रूपमा प्रस्तुत गरिएको छ। यसमा नेपाल र विश्वमा प्यान्डेमिकबारे तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रूपमा प्रस्तुत गरिएको छ।

प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ–आफ्नो बुझाइ हो। जे भए पनि प्यान्डेमिक विरुद्धको हाम्रो लडाइँ जारी छ, होसियारीपूर्वक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

असार २६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्