
दश वर्षे माओवादी जनयुद्धको औचित्य पुष्टि भएको नभएको राजनीतिक बहस चलिरहेको बेला नेपालका सिनेमा घरहरूमा शुक्रबारदेखि अनुप बरालद्वारा निर्देशित चलचित्र ‘दोख’ प्रदर्शनमा आएको छ। चलचित्रले तत्कालीन समयको युद्ध मनोविज्ञान, मनोदशा र प्रभावलाई दृश्यमा उतारेको छ। सिनेमामा दुई वटा गाउँहरूले भोगचलन गर्दै आएको सामुदायिक वनमा विवाद भए पछि वन कसको हुने भन्ने विषयमा माओवादी कमान्डर सङ्गीतको प्रवेश हुन्छ। राज्य समर्थित र माओवादी पीडितहरूले सेना गुहार्छन् अनि गाउँ युद्ध भूमिमा परिणत हुन्छ। यसैको सेरोफेरोमा कथा घुमिरहन्छ। माओवादी द्वन्द्वकालमा गरिने कारबाही, सामाजिक विद्रोह, बदलाको भाव र युद्धको बीभत्सता सिनेमाले प्रकाश पार्न खोजेका विषयवस्तुहरू हुन।
सिनेमा सामान्य सामाजिक द्वन्द्वबाट सुरु हुन्छ तर बिस्तारै पात्रको मनोविज्ञानमा छिरेर जटिल व्यक्तिगत र सामाजिक संयोजन र सम्बन्धको पाटो उजागर गर्छ। दोखले केही गम्भीर र बौद्धिक बहसको माग गरेको छ। के युद्धमा नैतिकता हुन्छ? युद्ध एक मात्र समाज परिवर्तनको साधन हो? युद्धले सबै प्रकारका शोषण र विभेदको अन्त्य गर्छ? युद्धमा मारिने निर्दोषहरूको क्षतिपूर्ति राज्य पक्ष वा विद्रोहीहरुले दिन सक्छन्?
मृत्युको भय, डरको मनोविज्ञान र बदलाको भाव, यौनिक उत्पीडन बोकेर बाँच्ने पात्रहरूको मनोदशा चलचित्रले सफलतापूर्वक प्रस्तुत गरेको छ। सिनेमाको मजबुत पाटो यसले निर्माण गरेको दृष्य भाषा हो। युद्ध प्रभावित गाउँबाट सुरु गरेको चलचित्रको यात्रा गाउँमै समाप्त हुन्छ। गाउँमा बोलिने भाषा, गाउँकै भट्टी, गाउँले प्रतिनिधि पात्रहरू, डाँडाकाँडा, जङ्गल, गाउँले झगडा र समाधानले गज्जबको दृश्य भाषा निर्माण गरेको छ। यो औधि मौलिक लाग्छ। दर्शकको मन बहलाउने बहानामा सिनेमाका दृश्यहरू सहर पस्दैनन्। यो गाउँ सहरबाट सम्बन्ध विच्छेद्य भएको जस्तो लाग्छ सिनेमामा।
सिनेमाले द्वन्द्वका अलावा प्रेम र यौन मनोविज्ञानलाई पनि बडो गज्जबसँग प्रस्तुत गरेको छ। सिनेमाको पात्र रुक्की (दिया मास्के) को श्रीमान गाउँ छाडेर गएको वर्षौँ भइसकेको छ। गाउँमा भट्टी चलाएर जीविका चलाउने रुक्कीलाई यौवन र जीवन सम्हाल्न सजिलो छैन। सानी छोरी काख च्यापेर आफ्ना यौन इच्छाहरूको तिलाञ्जलि दिएर पुरुषका खराब नजरहरूबाट बच्न सङ्घर्षरत रुक्की थुप्रै समाजहरूमा पाइने प्रतिनिधि पात्र हो। मास्टर (मनीष निरौला) सँग सामान्य आकर्षण भए पनि यौन सम्बन्ध नै नराखी भाटे कारबाही भोग्नु परेको र श्रीमान् फर्किएर आएपछि फेरि श्रीमानको पिटाइ खानु परेको पिडाले गर्दा रूक्कीले समाजमा बहिस्कृत परपुरुषसँगको यौन सम्बन्धमाथि श्रीमान्सँग विद्रोह गर्छिन्। सिनेमाले यूद्धकालमा बालबालिकाको दयनीय अवस्थाको चित्रण गरेको छ।
सहज दृश्यहरूमा मिठो धुन र असहज परिस्थितिमा कर्कश आवाजको प्रयोग उम्दा लाग्छ। रुक्कीको श्रीमान् घर फर्केर आएपछि कोठामा संवाद हुँदा टिनमा ठोकिएर आएको हावाको कर्कश आवाजले उनीहरूबीचको असहज सम्बन्धलाई प्रतिकात्मक रूपमा प्रस्तुत गरेको छ। रत्ने हुलाकीको लट्टीको टकटक, सल्लाका रुखहरू सुसाएको आवाज,गाउँ र डाँडामा चलेको हुरी, लुङ्टाको आवाजले सिनेमाका दृष्यहरूलाई अर्थपूर्ण बनाएको छ।
प्राविधिक रूपमा पनि अनुप बरालको निर्देशकीय क्षमता लोभलाग्दो देखिएको छ। सिनेमाका पात्रलाई केन्द्रीकृत गर्न क्लोज सटहरूको प्रयोग गरिएको छ। पात्रको मनोविज्ञान भित्र छिर्न साँघुरो परिधिको निर्माण गरिएको छ। शैलेन्द्र डी कार्कीले क्यामेरामा बराललाइ राम्रो साथ दिएका छन्। पहाडका सुन्दर र लोभलाग्दा दृश्यहरू छोडेर साँघुरो परिधिमै सीमित रहँदा निर्देशकको उद्देश्य पूरा भए पनि नेपाली सिनेमाका दर्शकका आँखाले चाहिँ त्यस्ता दृश्यहरू खोज्न सक्छन्। व्यावसायिक सिनेमा मन पर्ने दर्शकलाई दोखको पेस अलि स्लो लाग्न सक्छ। प्रकाशको प्रयोगको हिसाबले पनि सिनेमा अर्थपूर्ण छ। बाहिरी दृश्यहरू प्राकृतिक प्रकाशमा खिचिएका छन् भने घरभित्रका दृश्यहरू सेडेड छन् जसले पात्रका सङ्कुचन, निरीहता र ऐँठन उजागर गरेको छ। सबै भन्दा राम्रो छायाङ्कन त फुटबल खेलको गरिएको छ। ठूलो मैदानमा एकल क्यामेराले यति सुन्दरतासँग फुटबलको खेल कैद गर्न शैलेन्द्र डी कार्कीलाई कम चुनौती भएन होला।
चलचित्रमा प्रयोग भएको ध्वनिले पनि समग्रमा सुन्दरता थपेको छ। सहज दृश्यहरूमा मिठो धुन र असहज परिस्थितिमा कर्कश आवाजको प्रयोग उम्दा लाग्छ। रुक्कीको श्रीमान् घर फर्केर आएपछि कोठामा संवाद हुँदा टिनमा ठोकिएर आएको हावाको कर्कश आवाजले उनीहरूबीचको असहज सम्बन्धलाई प्रतिकात्मक रूपमा प्रस्तुत गरेको छ। रत्ने हुलाकीको लट्टीको टकटक, सल्लाका रुखहरू सुसाएको आवाज,गाउँ र डाँडामा चलेको हुरी, लुङ्टाको आवाजले सिनेमाका दृष्यहरूलाई अर्थपूर्ण बनाएको छ। बरालले सामान्य लाग्ने सूक्ष्म तर अति महत्त्वपूर्ण कुराहरूमा पुर्याएको ध्यानले दोखलाई उचाइ प्रदान गरेको छ।
कथा वाचनको हिसाबले पनि सिनेमा राम्रो छ। यो कुनै ग्र्यान्ड न्यारेसन हैन। एउटा कालखण्डमा गाउँमा घटित घटनाको कलात्मक चित्रण हो। सुरुवात, मध्य र अन्त्य छ। कौतुहल छ र भाव उत्तेजना पनि। उत्कर्ष छ र उपसंहार पनि। कथार्सिस र पोएटिक जस्टिस पनि ! पात्रहरू जीवन्त छन्। सेनाले छोरो मारिदिएको पात्रे बुढो र माओवादीले बाउ मारिदिएको रोनितका समान तर विपरीत पीडा सिनेमाको प्रमुख द्वन्द्व हो। यसले कथालाई मजबुत बनाएको छ। अभिनयका गुरु मानिने अनुप बरालले आफ्ना अभिनेताहरूबाट गज्जब राम्रो काम निकालेका छन्।
दोषको पूर्वी पहाडतिर बोलिचालीको भाषामा भनिने ‘दोख‘ शीर्षकले मानिसका ब्यक्तिगत, सामाजिक र राष्ट्रिय दोखको प्रतिकात्मक अर्थ प्रस्तुत गरेको छ। समाजमा दोख नभएको मानिस हुँदैन, दोख नपसेको गाउँ र समाज पनि हुँदैन अझ देशमा द्वन्द्व सुरु भएपछि त देशलाई नै दोख लागेको भाव शीर्षकले बोकेको छ। समग्रमा सिनेमा सबै हिसाबले हेर्न लायक बनेको छ।