स्वस्थ महिनावारीका लागि किशोरीलाई मिन्सचुरल कप

धनगढी – सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले किशोरीलाई मिन्सचुरल कप वितरण गरेका छन्। बुधबार प्रदेश राजधानी धनगढीस्थित पंचोदय माविमा अध्ययनरत किशोरीहरुलाई राज्यमन्त्री रैकाले मिन्सचुरल कप वितरण गरेका हुन्।

मन्त्रालयको कार्यक्रम अन्तर्गत पंचोदय माविबाट मिन्सचुरल कप वितरण गरिएको सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र कञ्चनपुरका प्रमुख हेमराज खडकाले बताए।

उनले महिनावारीका बेला महिलाहरुले प्रयोग गर्ने सेनेटरी प्याडको विकल्पका रुपमा मिन्सचुरल कप ल्याइएको बताए। यसको प्रयोगले महिलाहरुलाई हिँडडुल गर्न सहज हुने र सफा गरेर १० वर्षसम्म प्रयोग गर्न सकिने उनले बताए। यो सुदूरपश्चिम प्रदेशमा पहिलो पटक प्रयोगमा ल्याइएको प्रमुख खड्काले जानकारी दिए।

कार्यक्रममा बोल्दै सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले मानिसको स्वास्थ्य नै सबैभन्दा महत्वपूर्ण कुरा रहेको उल्लेख गर्दै प्रदेश सरकारले किशोरीहरुलाई स्वस्थ रहन र सहजताका लागि मिन्सचुरल कप वितरण गरिएको बताए।

राज्यमन्त्री रैकाले भने,‘हाम्रो सुदूरपश्चिममा छाउपडीजस्तो कुप्रथा छ, यसलाई न्यूनीकरण गर्न पनि यो नयाँ प्रविधिको मिन्सचुरल कप सहयोगी बन्ने छ।’

उनले सेनेटरी प्याडको प्रयोग झन्झटिलोसँगै एक चोटीभन्दा बढी प्रयोग गर्न नमिल्ने हुँदा व्यवस्थापन गर्न समेत समस्या हुने गरेको, जसका कारण वातावरणमा समेत असर पर्ने गरेको बताए।

मन्त्री रैकाले सुरुवात धनगढीको पंचोदय विद्यालयबाट गरिए पनि यसलाई प्रदेशभर विस्तार गरिने बताए। सो अवसरमा राज्यमन्त्री रैकाले पंचोदयमा अध्ययनरत किशोरी र शिक्षिकालाई मिन्सचुरल कप वितरण गरेका थिए।

असार १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्