किसानलाई मल उपलब्ध गराउन माग गर्दै राप्रपाद्वारा कृषि ज्ञानकेन्द्र घेराउ

वीरगञ्ज – किसानलाई सहज रुपमा मल उपलब्ध गराउन माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साले सोमबार कृषि ज्ञान केन्द्रमा धर्ना दिँदै घेराउ गरेको छ।

किसानलाई मल, बिउबिजन उपलब्ध गराउन माग गर्दै पार्टी कार्यालयबाट  र्‍यालीसहित निस्केका राप्रपाका नेता कार्यकर्ताले श्रीपुरमा रहेको कृषि ज्ञान केन्द्र पर्सामा दुई घण्टा धर्ना दिँदै घेराउ गरेका थिए।

धर्नामा सहभागी भएका नेता–कार्यकर्ताले किसानलाई सहज रूपमा मल उपलब्ध गराऊ, तरकारीको बिउ बिजन निःशुल्क वितरण गर, कृषिमा संलग्न उपकरण बोरिङ, दमकल, ट्र्याक्टरमा अनुदानको व्यवस्था गर, सिँचाइको साधनमा विद्युत् निःशुल्क होस्लगायत माग लेखिएको प्लेकार्ड बोकेर सहभागिता जनाएका थिए।

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय निर्देशनअनुसार राप्रपा पर्साले समेत कृषि ज्ञान केन्द्र श्रीपुरमा र्‍यालीसहित दुई घण्टा धर्ना बसेको धर्नामा सहभागी पार्टीका पूर्वकेन्द्रीय नगिना यादवले जानकारी दिए।

असार १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्