संयोजक युवराज शर्मासँग १० प्रश्न

प्लस टुका अब्बल कलेजहरु एकै थलोमा राखेर ‘हिसान एडुफेयर’ ( भिडियो )

काठमाडौँ– शुक्रबारबाट ४ दिनसम्मका लागि सञ्चालन हुने गरी काठमाडौँको भृकुटीमण्डपमा ‘कान्तिपुर हिसान एडुफेयर’सुरु भएको छ। विद्यार्थीहरूलाई पाठ्यक्रम तथा शैक्षिक संस्थाबारे जानकारी दिने यस शैक्षिक मेलालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले उद्घाटन गरेका हुन्। मेलाको सातौं संस्करणलाई उद्घाटन गर्दै शुक्रबार उनले नेपालमा उत्कृष्ट शैक्षिक संस्थाहरू स्थापना गरी बाहिर जाने विद्यार्थी रोक्न सकिने बताए।

यसै सेरोफेरोमा रहेर हामीले हिसानका संयोजक युवराज शर्मासँग कुराकानी गरेका छौँ।

१)हिसान एजुकेसन फेयर सुरु हुन थालेको कति भयो?
–करिब १० वर्ष अघिदेखि यो सुरु भएको हो। त्यो बेला शैक्षिक मेलाको अवधारणा धेरै कम थियो। हामी केही मिडिया इभेन्ट कम्पनीहरु यो शैक्षिक मेलामा सहभागी पनि भएका थियौँ। त्यसमाचाहिँ नेपालमा पढाउने शैक्षिक संस्था र विदेशमा पठाउने शैक्षिक संस्था पनि एकै ठाउँमा राखिने गरिन्थ्यो। त्यो खालको शैक्षिक मेलाबाट एक खालको कनट्राडिकसन हामीले फिल गर्‍यौँ। नेपालमै शिक्षा दिने शैक्षिक संस्था र विदेशमा लिएर जाने कनसलटेन्सी या त्यहाँ लिएर जाने युनिभर्सिटीका स्टलहरु सँगै राख्दा विरोधाभास भयो। त्यसपछि हामीले यो मेला आयोजना गरेका हौँ।

२) विगत १० वर्ष देखि सुरु भएको तर ७ औँ संस्करणमात्र? बीचमा एडुफेयर सञ्चालन बन्द गरिएको थियो?

–एक वर्ष भुकम्पको कारणले रद्ध गर्‍यौँ। र, विगत २ वर्ष कोभिडको कारणले यो मेला हुन सकेन। २०१९ पछि अहिले २०२२ मा यो मेला आयोजना भएको हो।

३) यस शैक्षिक मेलाको आकर्षणहरु के–के हुन्?
–यसपालिबाट हामीले दुई वटा मेलामा विभाजन गरेका छौँ। पहिला हामी कक्षा ११ र १२, एलेभल्सको मेला एकैठाउँमा गर्थ्यौँ। तर यो पालिदेखि एसइइ दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै यो मेला एक्सक्लुसिभ प्लस टु मेला भनेर गर्‍या छौँ।

धेरै जसो यहाँ शैक्षिक संस्थाहरु,प्लस टुमा अब्बल कलेजहरुको उपस्थिति छ। राजधानीकै ख्याति प्राप्त शैक्षिक संस्थाहरुको उपस्थिति छ। यसपछि हामी भदौ पहिलो हप्ता उच्च शिक्षाहरुको लागि अर्कै शैक्षिक मेला गर्दै छौँ। त्यहाँ चाहिँ नेपालभरिकै विश्व विद्यालयहरु र शैक्षिक कार्यक्रम र शैक्षिक संस्थाहरुको उपस्थिति हुनेछ त्यसलाई हामीले दुईवटा संस्करणमा लिएर जाने निधो गरेका छौँ।

४) कतिजति शैक्षिक संस्थाहरुको उपस्थिति छ यहाँ?
–यसमा ७४ वटा शैक्षिक संस्थाहरुको सहभागिता रहेको छ। स्टल बुकिङ हामीले खोलेका थियौँ। बुकिङ खुलेको एकघण्टामा सबै स्टलहरु भरिएको थियो। काठमाडौँ बाहिरका शैक्षिक संस्थाहरु चाहँदा चाहँदै पनि ल्याउन सकेनौँ ढिलो भएका कारण। तर उच्च शिक्षाको अर्को मेला हामीले गर्दैछौँ भदौमा, त्यसमाचाहिँ हामी देशभरिकै शैक्षिक संस्थाहरुलाई समेट्छौँ। स्टलहरु पनि हामी विस्तार गछौँ।

५)सरकारबाट कस्तो खालको समन्वय भएको छ?
–राज्यमन्त्री उमेश श्रेष्ठले आजको शैक्षिक मेला उद्घाटन गर्नुभयो। राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माको आतिथ्यमा आजको कार्यक्रम भएको हो। यो बीचमा शिक्षा मन्त्रालय लगायत प्रधानमन्त्री, अरु मातहतका बोर्ड तथा विश्वविद्यालयहरुसँग अहिलेका समसामयिक विषयहरु, शिक्षामा देखा परेका समस्याहरु, शिक्षामा ऐनहरुको अभाव र विद्यार्थीहरु नेपालमा पढ्ने कि विदेशमा पढ्ने भन्ने कुरामा विद्याथीहरुको मानसिकतामा एकखालको विदेशमा पढ्न जाने मनोविज्ञानले काम गरिरहेको स्थिति छ। त्यसलाई हामीले कसरी नेपालमै उच्च शिक्षा दिने र विद्यार्थीहरुलाई शिक्षा दिएर रोजगारी, अवसरहरु सिर्जना कसरी गर्ने र नेपालमै गुणस्तरिय शिक्षा छ भन्ने प्रत्याभूति गर्ने भन्ने कुराको हाम्रो लागि एउटा चुनौती पनि छ। र त्यसको लागि सरोकारपक्षसँग, शिक्षा मन्त्रालय लगायत अन्य निकायसँग हामीले कुरा गरिराखेका छौँ। उहाँहरुबाट पनि हामीले ठूलो सपोर्ट पाएका छौँ।

६)नेपालमा अहिले विद्यार्थीहरुको उच्च शिक्षाको लागि बाहिर जाने ट्रेन्ड चलेको छ नि। यसलाई कसरी लिनु भएको छ?

–जुन ढङ्गलले एक लाख भन्दा बढी विद्यार्थीहरु विदेश जानलाई टोफेल, आएल्स, पीटिई दिएर बसेका छन्। विद्यार्थीहरु जाने संख्या सँगसँगै ठूलो रकम पनि विदेशिने संभावना हामीले देखिरहेका छौँ। यसपालि अष्ट्रेलियामा मात्र ६१ हजार विद्यार्थीले निवेदन दिएको भन्ने आएको छ। र १ लाख २ हजार विद्यार्थी विदेश जानलाई एनओसी लिइसकेको अवस्था छ। यो एउटा डरलाग्दो स्थिति हो। यसले गर्दा यहाँको विश्वविद्यालयको शिक्षा कमजोर हुँदै जाने, विश्वविद्यालय शिक्षाप्रति विश्वास घटेर जाँदाखेरि हामीले जुन जनशक्ति नेपालमा उत्पादन गरेर भोलिको जनशक्ति आपूर्ति हामीले यहाँको श्रममा लान सक्छौँ, यसको एउटा ठूलो खडेरी पर्न सक्ने र युवा पलायन हुँदा खेरि यो देशको दिर्घकालिन नोक्सान हुने जस्तो विषयमा हिसानले गम्भीररुपमा काम गरिराखको छ।

७)के कारणले गर्दा यो समस्या आएको जस्तो लाग्छ?
– मुख्य रुपमा १२ कक्षापछिको विद्यार्थीहरुको ठूलो संख्या अहिले विभिन्न तयारीहरु गरिरहेका छन्, टोफेल, आएल्स,पीटिई। विद्यार्थीहरुको मनोविज्ञान बुझ्दा धेरै जसो विद्यार्थीहरु विदेश जाने कारणचाहिँ एउटा नेपालमै पढ्ने वातावरण भएन, यहाँको राजनीतिक अस्थिरता, रोजगारी, यी विविध विषयहरुमा विद्यार्थी र अभिभावक चिन्तित भएको अवस्था छ। त्योबाहेक मुख्य कारणचाहिँ हामीले आकर्षण दिन नसकेको कुरालाई पनि हामीले आत्मसात गर्नुपर्छ। जसरी सरकारी विद्यालयले आकर्षण दिन सकेन, निजीमा विद्यार्थीहरु आयो तर त्यसलाई राज्य पक्षले नकारात्मक रुपमा पनि हेर्‍यो। यसलाई सहकार्य गर्न सकेन। दुईवटैले प्रतिस्पर्धामा शैक्षिक संस्थाहरु सुधार गर्नुपर्थ्यो। हिजोका २० औँ,२५ औँ वर्षका कुरालाई सुधार गर्न सकिन्थ्यो। विद्यार्थी यहाँ अटाउन सकिन्थ्यो र विदेशी विद्यार्थी पनि यहाँ ल्याउन सकिन्थ्यो।

यहाँ मेडिकल कलेजहरु बन्द गरियो, विदेशमा विद्यार्थी जानलाई बाध्य बनाइयो। यहाँ विद्यार्थीहरुको लामो समयसम्म नतिजाहरु नआउने, परीक्षाहरु नहुने, इन्ट्रान्सहरु भएर नतिजा नहुने जस्ता कुरामा वाक्क दिक्क भएर विदेश जाने, यहाँको एउटा वितृष्णा विद्यार्थी र अभिभावकमा भएको पनि दोस्रो कारण हो विद्यार्थी जाने जुन कारणलाई हामीले करेक्सन गर्न सक्छौँ।

८)आज मेलाको पहिलो दिन विद्यार्थीहरुको उपस्थिति के–कस्तो थियो?
–आज पहिलो दिन उद्घाटन हामीले भव्य रुपमा गर्यौँ। र उत्साहजनक उपस्थिति छ। आज पहिलो दिन केही कमी भए पनि भोलिदेखि हरेक दिन ५० हजार विद्यार्थी भिजिट गर्ने अपेक्षा हामीले राखेका छौँ। योसँगसँगै हामीले हरेक इन्स्टलमा दिइने काउन्सलिङ, शैक्षिक संस्थाको बारेमा जानकारी, उनीहरुका सुविधाहरुबारेमा अनलाइन लाइभ पनि दिइरहेका छौँ।त्यसले गर्दा देशदेखि विदेशमा बस्ने विद्यार्थीहरुले पनि शैक्षिक मेलाबाट लाभ लिन सक्नेछन्।

९) के गर्न सकिएला यसको समाधानको लागि?
–राजनीतिक कारणलाई हामी अहिले तत्कालै सुधार्न नसकुँला, रोजगारीको ग्यारेन्टी अहिले हामीले तत्कालै दिन नसकुँला तर कम्तीमा यहाँका विश्वविद्यालयले शैक्षिक कार्यक्रमहरु समयमै नतिजा निकाल्ने र पढ्ने वातावरण, र आईसीटीहरु प्रयोग गर्ने लगायत गर्नुपर्छ हामीले। विश्वविद्यालयहरुले नीजि क्षेत्रलाई खुम्चाउने हैन, कन्ट्रोल गर्ने हैन, कोटाका कारण अन्य विषय नदिने, सम्बन्धन नदिने, झुलाउने यी कुराहरु गर्नु भएन। धेरै मेडिकल कलेजहरु छन्, अर्बौँ लगानीहरु छन्। धेरै मेडिकल कलेजहरुलाई सम्बन्धन नदिएर माथि आउनै नदिने, त्यसले गर्दा यहाँ मेडिकल पढ्न नपाएर बंगलादेश, फिलिपिन्स, चाइना, इंडिया गइरहेको छन् विद्यार्थीहरु। त्यसको लागि संगठनले आवाज उठाएको छ। मन्त्रालय लगायत सम्बन्धित पक्षमा हामीले यो विषय उठाएका छौँ। र अब आउने ऐनमा यस कुराहरु सम्बन्धन हुन्छ। र हाम्रो चाहना पनि निजी विश्व विद्यालय नाफारहित, क्रस मोडलमा २५ देखि ५० वटा खुलिनुपर्छ भन्ने हो।

१०) अबको योजना के छ?
–अब हामी यो दुईटा शैक्षिक मेलालाई सम्पन्न गर्छौँ। जुन ढङ्गका हाम्रा विषयहरु छन्, राष्ट्रिय स्तरको हामी, अभियानहरु गर्दै छौँ। कसरी यहाँका विश्वविद्यालयदेखि कलेजहरुको शिक्षालाई गुणस्तर दिन सकिन्छ र सहकार्य गर्न सक्छौँ। र त्यसपछि ऐनका विषयमा पनि हामी अन्तर्क्रिया गर्दै छौँ, एउटा राष्ट्रिय वहसका रुपमा लिएर जाँदै छौँ। यो ऐन चाँडो आउनुपर्छ र निजी शिक्षामैत्री हुनुपर्छ। विद्यार्थीलाई विदेश जान वाध्य बनाउन हुनु भएन,यहीँ गुणस्तरीय शिक्षा दिनुपर्‍यो। विदेशी विश्व विद्यालय नेपालमा आउँछ भने त्यो मापदण्डको विश्व विद्यालय आउनुपर्‍यो। यहाँका शैक्षिक संस्थासँग साझेदारी हुने वातावरण शिक्षा मन्त्रालय तथा नेपाल सरकारले गर्नुपर्‍यो। विदेशी विश्व विद्यालयबाट पनि हामीले केही सिक्न सक्छौँ। विदेशको कुनै एउटा राम्रो या भनौँ संसारकै १०० अथवा ५०० मध्यको र्‍याङ्किङको विश्वविद्यालय यहाँ आयो भने उनीहरुबाट पनि हामी सिक्न सक्छौँ। हाम्रोमा दुईवर्ष यहाँ पढेर विद्यार्थीहरु एक वर्ष त्यहाँ पढ्न पनि सक्छन्। त्यहाँको विद्यार्थी पनि यहाँ आएर एकवर्ष पढ्न सक्छन। यो एउटा कार्यमा हामी अन्तराष्ट्रिय सम्मेलन गर्दैछौँ २०२३ को फेब्रुअरीमा। ५० भन्दा बढी विद्यालयलाई हामीले निम्तो दिँदै छौँ यस कार्यक्रमका लागि।

असार १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्