कलाकारिता क्षेत्रमा ६९ वर्ष योगदान दिएकी भुवनको आज जन्मदिन

काठमाडौँ – नेपाली चलचित्र क्षेत्रकी दिग्गज कलाकार भुवन चन्दको आज जन्मदिन हो। उनकाे जन्म वि सं २००६ साल असार १ गते  काठमाडौँको धोबिचौरमा भएको थियो।

भुवन उस्ताद स्वर्गीय भैरवबहादुर थापाकी जेठी छोरी हुन्। उनले रत्न राज्य क्याम्पसमा आइ एसम्मको अध्ययन गरेकी छन् भने कथक नृत्यमा चार वर्ष अध्ययन गरेकी छन्।

नेपालमा बनेको पहिलो नेपाली चलचित्र ‘आमा’ मा मुख्य पात्रको भूमिका निभाएकी भुवन पहिलो नेपाली नायिका हुन्। तर, उनको कलाकारिता यात्रा भने वि सं २०१० सालबाट शुरु भएको थियो।

उनले बालकलाकार भएर अभिनय यात्रा सुरु गरेकी हुन्। उनले कलाकारिताको सुरुवाती दिनमा नाटक, गीती नाटकमा अभिनय गरिन्। पछि उनी सांस्कृतिक संस्थानसँग आवद्ध भइन्। संस्थानमा रहँदा उनले दर्जनौँ चलचित्र, टेलिचलचित्रहरूमा अभिनय गरेकी छन्। जागिरबाट रिटायर्ड भईसकेपछि पनि उनले धेरै चलचित्र, टेलिचलचित्रमा अभिनय गरिन्। भुवनले २०७५ सालमा आफ्नै लगानीमा ‘साइनो’ चलचित्र निर्माणसमेत गरिन्। हाल उनी तारादेवी स्मृति प्रतिष्ठानमा उपाध्यक्ष भई कार्यरत छिन्।

भुवनकाे विवाह रेडियो नेपालका भूतपूर्व वरिष्ठ अंग्रेजी समाचार सम्पादक तथा प्रशारक श्री माइकल चन्द (हरिश चन्द) सँग भएको थियाे। उनीहरूका तीन छोरी छन्।

नेपाली कलाकारिता क्षेत्रमा दिएको योगदानबापत उनलाई धेरै सम्मान गरिएको छ। ७३ वर्ष लाग्दासम्म उनले गरेका काम र उनले पाएका केही सम्मानलाई तल उल्लेख गरिएको छ:

नाटकहरू:

अन्धवेग, जालीरुमाल, डोला मैँया, क्रसमा टाँगिएको जिन्दगी, प्रकृतिको प्रेरणा, कुहिरो भित्र अदमलिँदा, बादलले छोपेको घाम, हवाई दुर्घटना लगायत ४० भन्दा धेरै नाटक

यी नाटकहरू स्व. बालकृष्ण सम, स्व. विजय मल्ल, स्व. गोपालप्रसाद रिमाल, गोविन्द गोठाले, बासु शशी लगायतले लेखन तथा निर्देशन गरी विभिन्न समयमा मञ्चित गराइएका थिए।

गीती नाटकहरू:

संरक्षण, मुटुको व्यथा, विकासका मुल फुटाऔँ, कृष्णलीला, भृकुटी, शिव पार्वती, कुञ्जिनी, मुना-मदन, अँध्यारो उज्यालो, राम भरत मिलाप, पृथ्वीनारायण शाहका चार पक्ष आदि।

नृत्य नाटिकाहरू:

सत्यनाग, चण्डलिका, दुर्गा अवतार, मैशासूर, शिवलीला आदि

चलचित्र

भुवनले वि सं २०२१ सालमा नेपालमा निर्माण भएको पहिलो नेपाली चलचित्र ‘आमा’ मा नायिकाको भूमिका निर्वाह गरेकी छन्।

त्यसपछि उनले अभिनय गरेको चलचित्र ‘हिजो आज भोलि’ हो। त्यसपछि उनले दुई थोपा आँशु, कोसेली, प्रतिक्षा, प्रेम प्रतिज्ञा, जीवन साथी, देउराली, नाम के हो लगायत थुप्रै चलचित्रमा उनले काम गरेकी छन्।

पछिल्लो समय उनले सेल्फी किङ्ग, ‘प्रेम गीत –२’ लगायत थुप्रै चलचित्रमा अभिनय गरेकी छन्। उनी आफैले चलचित्र साइनो निर्माण गरेकी छन्।

टेलिचलचित्र

विमान चालक, राजमार्ग, जीवनचक्र, समान, दुध पोखरी, हिजो आजको कुरा, भोक र भित्ता, मुकुन्द-इन्दिरा, भोजन भट्ट, कान्छी अपराधी को ? मार्ग आँखा अभागी लगायत धेरै टेलीचलचित्रमा भुवनले अभिनय गरेकी छन्।

गीतमा अभिनय

उनले केही लोकगीत, राष्ट्रिय गीत, भजन तथा आधुनिक गीत गरी झण्डै ३० देखि ४० वटा गीतमा आभिनय गरेकी छन्।

पदकहरू

उनले विसं २०३१ सालमा शुभ राज्याभिषेक पदक, महेन्द्र रत्न आभूषण, श्री ५ को सरकार पुरातत्व तथा सांस्कृतिक विभाग स्वर्ण पदक (नृत्य), सार्क पदक २०४४, गोरखा दक्षिण बाहु चौथो (२०५०), गद्दी आरोहण रजत पदक महोत्सव २०५३ र वीरेन्द्र ऐश्वर्या सेवा पदक २०५८ प्राप्त गरेकी छन्।

त्यसबाहेक उनलाई १०० भन्दा धेरै किसिमका पुरस्कार र अभिनन्दन पत्रहरूले सम्मान गरिसकिएको छ। उनलाई यसै वर्ष नेपाल सरकार चलचित्र विकास बोर्डले दीर्घ सेवा सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) २०७९ ले सम्मान गरेको छ।

असार १, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्