११३ वटा कछुवासहित वीरगञ्जबाट एक जना पक्राउ

वीरगञ्ज – पर्सा प्रहरीले ११३ वटा कछुवासहित एक जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ।

प्रहरीले कछुवासहित बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ बस्ने ४५ वर्षीय आनन्दलाल टेमानीलाई पक्राउ गरेको हो।

सोमबार बिहान साढे ९ बजे वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ ईनर्वा गाउँको बाटो हुँदै भारतबाट अवैध रुपले नेपालमा ल्याउँदै गरेको कछुवासहित उनलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए।

बीआर ०५ एएफ ०५८३ नम्बरको भारतीय मोटरसाइकलमा सवार टेमानीलाई रोकेर चेकजाँच गर्दा मोटरसाइकलको डिक्कीमा लुकाएर ल्याएको ११३ वटा कछुवा बरामद गरिएको खनालले बताए।

कछुवासहित पक्राउ परेका टेमानीलाई वन्यजन्तु सरंक्षण ऐनसम्बन्धी कसुरमा आवश्यक अनुसन्धानका लागि डिभिजन वन कार्यालय पर्सामा बुझाइएको खनालले बताए।

जेठ ३०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्