सामूहिक बलात्कारबाट किशोरी गर्भवती भएपछि घटना बाहिरियो

वीरगञ्ज – बाराको प्रसौनी गाउँपालिकाकी एक १६ वर्षीया किशोरीको सामूहिक बालात्कार भएको घटना बाहिरिएको छ। प्रसौनी गाउँपालिका–५ प्रस्टोका टोल बस्ने १६ वर्षीया किशोरीमाथि तीन महिनापहिले सामूहिक बालात्कार भएको थियो।

बालात्कार भए पनि गोप्य रहेको घटना किशोरी गर्भवती भएपछि बाहिरिएको हो।

प्रहरीका अनुसार किशोरीलाई प्रसौनी गाउँपालिकाकै वडा नम्बर २ का भोला भन्ने दीपक साह र श्यामसुन्दर साहले तीन महिनाअघि सामूहिक बलात्कार गरेका थिए।

बलात्कारकी सिकार भएकी किशोरी गर्भवती भएपछि उनले करणी गर्ने दीपक र श्यामलाई भनेकी थिइन्।

घटना बाहिर आउने डरले दुवैजनाले किशोरीलाई शनिबार राति डाक्टर ओमप्रकाश महतोकामा लगेर गर्भपतन गराएका थिए।
गर्भपतनपछि होसमा आएकी किशोरीले अभिभावकलाई घटनाबारे बताएकी थिइन्।

तीन महिनापहिले नै बालात्कारको सिकार भए पनि आरोपित दुबै जनाले डर, धाक, धम्की दिएर किशोरीलाई घटनाबारे कसैलाई नभन्न लगाएका थिए।

घटनाबारे थाहा पाएपछि किशोरीका अभिभावकले प्रहरीमा उनीहरूविरुद्ध किटानी जाहेरी दिएको बाराका प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए। उनले आरोपित फरार भएकाले खोजी कार्य सुरु गरिएको बताए।

जेठ २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्