भाट-भटेनीकाे २३ ‍‍औँ स्टाेर धनगढीमा सञ्चालन

धनगढी- सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा भाट-भटेनीको २३ औँ स्टाेर सञ्चालनमा आएको छ।

धनगढी उपमहानगरपालिका-३, बोराडाँडीमा शुक्रबारदेखि भाट-भटेनीको सेवा शुभारम्भ भएको हाे।

भाट-भटेनीकाे एक समारोहकाबीच शुक्रवार भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङ र उनकी धर्मपत्नी सावित्री गुरुङले उद्घाटन गरेका हुन्।

१७ कट्ठा जग्गामा निर्माण गरिएकाे डेढ लाख स्क्वायर फिटको भवनमा खाद्यान्न, लत्ता कपडा, विद्युतीय, कस्मेटिक, फर्निचर, खेलौनालगायतका सामानहरू उपलब्ध छन्। त्यसैगरी, स्टोरमा रेस्टुरेन्ट, आकर्षक वाटर फाउण्टेन रहेका छन् भने निकट भविष्यमै हाइटेक सिनेमा(मल्टिप्लेक्स) पनि सुचारु हुने सञ्चालकले जानकारी दिए।

सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङले सुदूरपश्चिममा अन्तर्राष्ट्रिय स्तरको सपिङ सुविधा प्रदान गर्ने उद्देश्यले सेवा शुभारम्भ गरेको बताए।

२ अर्बभन्दा बढीको लागतमा सञ्चालनमा आएको स्टाेरमा २ सय देखि ३ सय जनालाई प्रत्यक्ष राेजगारी दिइएकाे गुरुङले जानकारी दिए।

शुभारम्भको अवसरमा ग्रोसरीमा १० प्रतिशत र विद्युतीय सामग्रीमा २० प्रतिशतसम्म छुट रहेको भाट–भटेनी सुपर मार्केटका व्यवस्थापक विनोद भट्टराइले बताए। साथै निःशुल्क होम डेलिभरी सुविधा रहेको पनि जनाए।

शुभारम्भ कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी, प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावल लगायतकाे उपस्थिति रहेको थियो।

जेठ २७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्