वीरगञ्ज नाकाबाट भित्र्याइन्छ भन्सार छलेर करोडौँको सामान

वीरगञ्ज – देशको मुख्य आर्थिक नाका वीरगञ्ज भन्सार नाकाबाटै तस्करी गरेर सामान ल्याउने कार्य रोकिएको छैन। वीरगञ्ज भन्सार नाकाबाट  विभिन्न उपाय अपनाएर व्यापारीहरुले राजश्व छलेर मालसामानको तस्करी गर्ने गरेको पाइएको छ।

पर्सा प्रहरीले दुई करोडभन्दा बढीको राजश्व छलेर भित्र्याइएको औषधि, लत्ताकपडालगायतका खुद्रा सामाग्रीहरू लोड रहेका तीन वटा ट्रक नियन्त्रणमा लिएको छ।

प्रहरीले ती ट्रकहरुमा बिल बिजकभन्दा बढी औषधि, लत्ताकपडालगायतका खुद्रा सामाग्रीहरू लोड रहेकोले नियन्त्रणमा लिएको जनाएको छ।

विभिन्न किसिमका हार्डवेयर पार्टस्, औषधिलगायतका मालवस्तुहरू बोकेको सूचनाको आधारमा पर्सा प्रहरीले मंगलबार वीरगञ्जको घण्टाघरबाट बा ५ ख ८६५८ र लु २ ख ५३४९ नम्बरको मालवाहक ट्रकहरू नियन्त्रणमा लिएको हो।

ती ट्रक चेकजाँच गर्नेक्रममा विलविजक शंकास्पद देखिएकोले एक करोड रुपैयाँ बराबरको मूल्यांकन गरी आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए।

यसैगरि वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले बुधबार वीरगञ्ज महानगरपालिका ८ माईस्थान सडकखण्डबाट ना ४ ख ४३०१ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा लिइएको ट्रकलाई चेकजाँच गर्नेक्रममा ट्रकमा बिलविजकभन्दा बढी विभिन्न किसिमका औषधि, लत्ताकपडालगायतका खुद्रा मालवस्तुहरू लोड रहेको पाइएको थियो।

बिलविजकभन्दा बढी सामान लोड रहेको पाइएपछि सामानको एक करोड मूल्यांकन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

जेठ २६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्