मृत भेटिएको ५ दिनपछि अछामका किशोरको शव उठाइयो

सांकेतिक तस्बिर।

अछाम – अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा मृत भेटिएका १५ वर्षीय किशोर विनोद शाहीको शव ५ दिनपछि उठाइएको छ।

मृतकका आफन्तजन र प्रहरी प्रशासनबीच सहमति भएपछि शव उठाइएको हो। घटनाका सन्दर्भका आफन्तको किटानी जाहेरी दर्ता गर्ने शवको पोष्टमार्टम गर्ने र किटानी जाहेरी दर्ता नभएसम्म मृतकका आफन्तले शव नबुझ्ने लिखित सहमति भएको छ।

पीडित परिवारका तर्फबाट मृतकका दाजु डम्बर शाही र जिल्ला प्रहरी कार्यालय अछामका निमित्त प्रमुख प्रहरी निरीक्षक कैलाश सिंह विष्टबीच लिखित सहमति भएको नेकपा एमाले पंचदेवल विनायक नगरपालिकाका इन्चार्ज भीम विष्टले बताए।

सहमतिसँगै किशोरको शव पोष्टमार्टमका लागि मंगलसैन लगिएको छ।

१७ जेठमा बेपत्ता भएका विनोदको शव २१ गते घर नजिकैको कुच्ची भिरको खोँचमा भेटिएको थियो। प्रहरीले शाहीको हत्या अभियोगमा ५ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

जेठ २५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्