अछाममा किशोर मृत्यु प्रकरणः प्रहरीद्वारा अनुसन्धानमा तीव्रता

धनगढी- अछाममा किशोर मृत्यु प्रकरणको अनुसन्धानका लागि एक पछि अर्को प्रहरी टोली अछाम पुगेको छ।

किशोर मृत भेटिएको ४ दिनसम्म पनि कुनै तथ्य फेला परेको छैन। मृतकका आफन्तले उनको लास उठाउन पनि मानेका छैनन्।

सोमबार मात्र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले संघीय प्रहरी इकाइ महेन्द्रनगरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज पाण्डे नेतृत्वको टोली खटाएको छ।

सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) मोहनकुमार आचार्यका अनुसार अपराध अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा खटाइएको टोली अछाम पुगिसकेको छ।

आजदेखि एसएसपी नेतृत्वको टोलीले अनुसन्धान सुरु गर्ने उनले बताए। यसअघि सिआईबीका डिएसपी मनोहरप्रसाद भट्टको कमाण्डमा ६ सदस्यीय टोली पनि खटाइएको छ।

सिआईबीको टोली खटाइएपछि अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलनका कार्यक्रम फिर्ता लिएका स्थानीयले प्रहरीले किटानी जाहेरी दर्ता गर्न नमानेको भन्दै घटनास्थलबाट शाहीको शव उठाउन दिएका छैनन्।

पञ्चदेवल विनायक नगरपालिका-४ का १६ वर्षीय विनोदबहादुर शाही शनिबार बिहान मृत भेटिएका थिए। उनी पञ्चदेवल विनायक-४ कै कालिकास्थानस्थित मध्यपहाडी लोकमार्गबाट १ किमी तल जंगलमा मृत फेला परेका थिए।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका दिन त्यस नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच विवाद भएको थियो।

जेठ २४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्