दाङ- पाँच वर्षीया बालिकालाई सर्पले डस्यो। उपचारका लागि लमही सर्पदंश उपचार केन्द्रमा पुर्‍याइयाे। बालिकालाई सर्पले डसेकाले आफन्तहरू अत्तालिए। २४ घण्टा निगरानीमा राखियो। बच्चामा विषको प्रभाव देखिएन। त्यसपछि उनलाई डिस्चार्ज गरियो।

बालिकालाई उपचारको लागि सर्पदंश उपचार केन्द्रमा पुर्‍याइएकाे थियो। सर्पले डसेको तर, विष नचढेको भेटियो।

‘बिरामी र आफन्त दुवै अत्तालिएर आएको भेट्छौँ। तर, बिरामी र आफन्तलाई परामर्श गरेर मात्रै उपचार थाल्नुपर्ने जिम्मेवारी हाम्रो हुन्छ’, सर्पदंश उपचार केन्द्र लमहीमा कार्यरत हेल्थ असिस्टेन्ट सपना सेनले भनिन्, ‘उपचारमा आउनेमध्य अधिकांशमा सर्पको विष चढेको भेटिएको छैन। हामीले २४ घण्टा निगरानी र परामर्श गरेर घर पठाउने गर्छौँ।’

देउखुरी सर्पदंशको जोखिम क्षेत्र मानिन्छ। हरेक वर्ष ५/७ जनाले अकालमा ज्यान गुमाउनुपर्ने समस्या छ। उपचार नपाउँदा ज्यान गुमाउनुपर्ने समस्या बढ्दो थियो।

यो समस्या समाधानको लागि गढवा र लमहीमा सर्पदंश उपचार केन्द्र स्थापना गरिएको छ। गढवाको सर्पदशं उपचार केन्द्र नेपाली सेनाको समन्वयमा गढवा गाउँपालिकाले सञ्चालन गरेको हाे। लमहीको सर्पदंश भने लमही नगरपालिकाले सञ्चालन गरेको छ।

गढवामा सर्पदंश स्थापनादेखि अहिलेसम्म २७६ जनाको उपचार गरिएको छ। गर्मी र वर्षाको समयमा सर्पदंशका बिरामीको चाप बढ्ने गरेको छ।

‘समुदायमा सर्पले डसेमा प्राथमिक उपचार कसरी गर्ने भन्ने जनचेतनाको अभाव छ। यहाँ आउँदा उहाँहरू विष चढिसकेको अवस्थामा आइपुग्नुहुन्छ। बिरामीको अवस्था नाजुक भएको हुन्छ’,नेपाली सेनाबाट सर्पदंश उपचार केन्द्रमा खटिएका नारायण तिवारीले भने, ‘सर्पले डस्दा बित्तिकै नजिकको अस्पताल अथवा सर्पदंश उपचार केन्द्रमा पुर्‍याउन सकियो भने जीवन बचाउन सकिन्छ।’

सर्पको पहिचान, उद्धार र पुर्नस्थापनामा जोड

दाङ जिल्लामा सीमित केही युवाले सर्पको उद्धारमा स्वयंसेवा गरिरहेका छन्। यो संख्या ज्यादै न्यून छ। बजार तथा गाउँ क्षेत्रमा सर्प देखियो भने प्रहरी, वन कार्यालयलगायत उद्धारकर्ताको खोजी हुन्छ।

 

तर, उद्धार गर्ने सीप, औजार र जनशक्तिको अभाव हुने गरेको छ। जसले गर्दा प्रभावकारी उद्धार हुन सक्दैन। यस्तो अवस्थामा तालिमप्राप्त जनशक्ति चाहिने भएकाले डिभिजन वन कार्यालय देउखुरीले सर्पको पहिचान, उद्धार तथा पुर्नस्थापना गर्न सीप हस्तान्तरणको अभियान चलाएको छ।

वन कार्यालयका कर्मचारी, वन रक्षक, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्वाथ्यकर्मी, सञ्चारकर्मीलाई सर्पको पहिचान, उद्धार र पुर्नस्थापनाको सीप हस्तान्तरण गरिएको हो।

‘कतै सर्प देखियो भने प्रहरीलाई सुरुमा फोन जान्छ। त्यसपछि वन कार्यालयमा आउँछ। हामी कहाँ पनि सर्प उद्धारको स्पेसल टिम छैन। यस्तो अवस्थामा सेवा पुर्‍याउन सकिँदैन। त्यसकारण हामीले सर्पको पहिचान, उद्धार र पुर्नस्थापनाको क्षेत्रमा काम गर्न थालेका हौँ’,डिभिजन वन कार्यालय देउखुरीका प्रमुख राजु क्षेत्रीले भने, ‘यो क्षेत्र सर्पदंशको जोखिम क्षेत्र भएकाले हामीले प्राथमिकता पनि दिएका छौँ।’

सर्प मानिसको डर र भर दुवै भएकाले सर्पको संरक्षणसँगै सावधानी अपनाउनुपर्ने सुझाव दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको छ।

‘सर्प पारिस्थितिक प्रणालीको अभिन्न अंग हो। सर्प नासियो भने जैविक विविधतामा असन्तुलन आउँछ’, उनले भने, ‘सर्पले मानिसलाई हानी र फाइदा दुवै पुर्‍याउने भएकाले यसबाट हुने क्षतिबाट जोगिन सावधानी अपनाउनुपर्छ।’

नेपालमा ९१ प्रजातिका सर्प रहेको तथ्यांकमा उल्लेख छ। सर्प बासस्थान र खानाको खोजीमा मानव बस्ती आसपासमा धेरै भेटिने गरेको छ। जसले गर्दा समस्या बढ्दै गएको देखिएकाले यस प्रकारको समस्या समाधानका लागि सचेतना अभियान आवश्यक पर्ने सर्प उद्धारकर्ता सुनिल सापकाेटाले बताए।

उनी भन्छन्, ‘सर्पभन्दा बित्तिकै डराउने समाज छ। तर, सर्पले टोक्दैमा ज्यान जाँदैन। यो मुख्य सन्देश फैलाउन हामी चुकिरहेका छौँ। अब चुक्नुहुँदैन। सर्पले पुर्‍याएकाे डरको अन्त्य गर्न सर्पको पहिचान र त्यसको बारेमा सबैले बुझ्न जरुरी छ।’

सर्पको बारेमा विद्यालय तथा समुदायस्तरमा जनचेतना अभियान व्यापक बनाउनुपर्नेमा जोड दिइएको छ। स्थानीय सरकार र सरोकारवाला निकायको समन्वयमा अभियानलाई व्यापक बनाउनुपर्ने संरक्षणकर्मी तथा फरेस्टर चिरञ्जीवि खनालले बताए।

 

जेठ १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्