वैदेशिक रोजगारीले दिएको पीडाः १४ वर्षदेखि छोरी हराएको पीडामा ७३ वर्षीया आमा

झापा – एउटी आमाका लागि एकछिन छोरी बाहिर निस्केका बेला ‘कतिबेला घर आउलिन्’ भन्ने चिन्ता रहन्छ। एक दिन छोरा वा छोरी सम्पर्कविहीन रहँदा बुवा-आमाका लागि कतिको चिन्ताको विषय हुन्छ भन्ने छोरा-छोरीका बुवा-आमालाई सोधे पुग्छ।
तर झापाकी एक महिला १४ वर्षसम्म बेपत्ता भएर उनकी आमा अहिले छोरी आउलिन् भनेर कुरेर बसेकी छन्।
यो परिस्थिति अवैध बाटो हुँदै कुवेतसम्म पुगेकी झापाकी एक महिलाको हो। उनी कुवेत पुगेको १४ वर्षभन्दा बढी भयो। त्यहाँ पुगेको केही महिना त उनी सम्पर्कमा थिइन्। त्यसपछि आजसम्म उनी परिवारका लागि बेपत्ता छिन्। न फोन न कुनै सम्पर्क।
भारतको बाटो हुँदै वैदेशिक रोजगारीका लागि खाडी मुलुक कुवेत पुगेकी साबिक पृथ्वीनगर गाविस- ५ (हाल भद्रपुर नगरपालिका- २) निवासी ३१ वर्षीया अम्बिका गिरी १४ वर्षदेखि परिवारको सम्पर्क भन्दा बाहिर छिन्।

भद्रपुरस्थित सगरमाथा मावि पढदै गरेको अवस्थामा घरकी कान्छी छोरी अम्बिका गिरी १६ वर्षकै उमेरमा भारतको दिल्ली एयरपोर्ट हुँदै कुवेत पुगेकी थिइन्।
घर छेउकी एक महिला तारादेवी लिम्बुले २०६४ सालमा अम्बिकासहित गाउँघरकै अन्य महिलाहरूलाई भारतको बाटो हुँदै कुवेत पुर्याएकी थिइन्।
उनलाई सम्पर्क गराउनसक्ने तारादेवीको पनि पाँच वर्ष अघि नै हत्या भइसकेको छ। अब त झन् उनलाई सम्पर्क गराउने व्यक्ति कोही पनि छैनन्।
अम्बिकाकी ७३ वर्षीया आमा चन्द्रमाया भन्छिन्, ‘मेरी छोरीसँग सम्पर्क अब कसले गराइदेला र? अब त आश पनि हरायो।’
कुवेत पुगेकी अम्बिका ६ महिनासम्म सम्पर्कमा पनि थिइन्। कुवेतको साल्मियाबाट अपर्णा थापाको नाममा छोरीले पि. ओ. बक्स ७५४५, इ. ओढी. नम्बर २२०८६ लेखिएको ठेगानाबाट तीन पटक घरमा चिठ्ठी र आफ्नो फोटो उनले पठाएकी थिइन्।
उनले भनिन्, ‘छोरी ज्युँदो छे कि मरिसकेकी छे त्यो पनि खबर छैन।’
चन्द्रमायाले छोरी खोजी दिन भन्दै अहिले झापामा सुरक्षित आप्रवासन परियोजना सञ्चालन गरिरहेको विराट सामुदायिक अध्ययन केन्द्रका परियोजना संयोजक फणीन्द्र दाहाललाई आग्रह गरेकी छन्।
चन्द्रामायाको जेठो छोरा कुमार गिरी पनि १६ वर्षदेखि बेपत्ता छन्। पृथ्वीनगरमा रहेको किचकबध मेला गएर बेपत्ता भएका कुमार पनि बेपत्ता छन्। अहिले उनी कान्छा छोरासँग बस्दै आएकी छन्