डल्फिन संरक्षक भोजराज श्रेष्ठसँग गरिएको कुराकानी

गुलेली बाजे जो २० वर्षदेखि गर्दैछन् डल्फिन संरक्षण (भिडियाेसहित)

काठमाडौँ- कैलालीका एक पुरुषले नेपालमा पाइने डल्फिनहरूको संरक्षण र प्रवर्द्धन गरिरहेका छन्। उनी हुन्- भोजराज श्रेष्ठ। गाउँघरमा उनी गुलेली बाजेको नामले समेत परिचित छन्। नेपालमा डल्फिन संरक्षरणको श्रेय उनैलाई जान्छ।

नेपालमा सर्वप्रथम श्रेष्ठले नै कैलालीको मोहना, कान्द्रा, काँडा र पथरैया नदीको दोभानमा दुर्लभ जलचर डल्फिन वर्षायाममा देखिने गरेको विषय सार्वजनिक गरेका थिए।

उनले नेपालमा डल्फिन पाइन्छ भनेर पत्ता लगाउने मात्र होइन, त्यसको संरक्षण प्रवर्द्धन एवं प्रचारप्रसार अभियानसमेत सुरु गरे ।

उनी विगत २५ बर्षदेखि डल्फिन संरक्षण तथा प्रवर्द्धन गर्दै आएका छन्।

डल्फिन संरक्षण केन्द्र कैलालीका संस्थापकसमेत रहेका श्रेष्ठले संस्थामार्फत् डल्फिनको सम्वर्द्धनसम्बन्धी क्रियाकलाप गर्दै आएको उनी बताउँछन्।

डल्फिन संरक्षण अभियानमा लाग्नुअघि श्रेष्ठ एक सिकारी थिए। उनी सिकारी जीवन लामो समय बिताएको अनुभव सुनाउँछन्।

एकदिन अमेरिकाबाट आएको एक व्यक्तिले सिकार गर्ने क्रममै उनलाई डल्फिन चिनाएको उनी बताउँछन्।

‘म पहिले लाइसेन्स लिएर नै बन्दुक राख्थेेँ। मसँग विदेशीहरू पनि सिकार खेल्न आउथेँ। एकचोटि अमेरिकाबाट एउटा व्यक्ति सिकारको लागि आएको थियो। मलाई त्यहीको एक स्थानीयले त्यसअघि उफ्रिने माछा मार्ने भनेर सोधेको थियो। त्यतिबेलासम्म उफ्रिने माछा कस्तो हुन्छ भन्ने थाहा थिएन’, उनी भन्छन्, ‘एकदिन मैलै मेरो गेष्टलाई सिकारको लागि उफ्रिने माछा मार्न लिएर गएँ। सिकारका लागि हामी तयार भएर बसेका थियौँ। केही उफ्रिने माछाहरू आए तर उनीहरूले बन्दुक चलाएनन्। हामी सिकारीहरूको नियम अनुसार पाहुनाले ‘सुट’ नगरी हामीले ‘सुट’ गर्न पाउँदैनौँ। अनि मैले सोधेँ किन ‘सुट’ नगरेको भनेर त्यसपछि मात्र बल्ल मलाई त्यो अमेरिकनले यो डल्फिन हो भनी चिनाएको हो।’

उनले त्यसभन्दा अघि हरिण, बँदेलजस्ता विभिन्न किसिमका जनावरहरूको सिकार गरिसकेका थिए।  उनले उफ्रिने माछा भनेको डल्फिन हो भनेर बुझाएको उनी सुनाउँछन्।

‘सिकारबाट फर्किने क्रममा मलाई मेरो गेस्टले यो त डल्फिन हो। विश्वका धेरै कम देशहरूमा मात्र पाइन्छ। यसको सिकार गर्नु हुँदैन भनेर बाटोभरि सम्झाउँदै बुझाउँदै आए। त्यसपछि मैले पनि डल्फिनको बारेका खोज्न, बुझ्न, पढ्न थालेँ। उनीहरूले पछि अमेरिका गएर मलाई केही किताब पठाइदिए।  मैले सबै पढेँ। त्यसपछि मलाई लाग्यो यो त सिकार गर्ने चिज होइन रहेछ भनेर। अनि मैले यसको संरक्षण गर्न थालेको हुँ’, उनले भने।

सुरुमा डल्फिनबारे केही थाहा नभएका उनी अहिले डल्फिन संरक्षकका रूपमा परिचित छन्। नेपालमा लोपोन्मुख प्रजातिको डल्फिन  पाइन्छ भनेर चिनाउने श्रेय उनलाई नै जान्छ।

श्रेष्ठले २०१८ सालदेखि कैलालीमा सिकारी जीवन सुरुवात गरेका थिए। अमेरिकाबाट आएका ती व्यक्तिले सम्झाएसँगै उनले २०२५ सालबाट सिकार खेल्न छाडेको श्रेष्ठ बताउँछन्। २०२५ सालयता निरन्तर चराचुरुङ्गी संरक्षण, वन्यजन्तु संरक्षण तथा डल्फिन संरक्षणमा लागेको उनी बताउँछन्।

डल्फिन संरक्षणमा नेपाल सरकारले चासो नदिएको उनी गुनासाे गर्छन्। उनी भन्छन्, ‘यो सरकारलाई कुनै चासो नै छैन, न त स्थानीय सरकारले केही गरेको छ।’

श्रेष्ठले डल्फिन संरक्षणका लागि जनचेतना जगाउने, विद्यालयमा गएर विद्यार्थीहरूलाई गुलेली खेल्न नदिनेजस्ता कार्यहरू गरेका छन्।

यससम्बन्धमा उनी भन्छन्, ‘गुलेलीले हानेर डल्फिन मर्ने नै त होइन तर उसलाई ह्यारेसमेन्ट हुन्छ नि त। त्यसपछि फेरि त्यो ठाउँमा डल्फिन आउँदैन। हामीले गुलेली संकलनको अभियान नै सुरु गर्‍याैँ। अहिले हाम्रो कैलालीमा चराचुरुङ्गीलाई समेत गुलेली चलाउने चलन छैन।’

हालसम्म उनले ८ हजारभन्दा धेरै गुलेली संकलन गरिसकेका छन्। गुलेली संकलन गरी डल्फिन संरक्षक अभियान सुरु गरेका उनलाई गाउँघरमा गुलेली नामले चिनिने कारण पनि यही हो।

श्रेष्ठ भन्छन्, ‘हामीले विद्यालयमा गएर युवाहरूलाई गुलेली खेल्नु हुँदैन। यसले यसरी वन्यजन्तुलाई हानी गर्छ भन्दै बुझाउथ्यौँ।त्यसपछि उनीहरू गुलेली बुझाउन मेरो घरमै आउँथे। आउँदा उनीहरूलाई मेरो नाम थाहा थिएन अनि उनीहरूले नै मेरो नाम गुलेली बाजे राखिदिएका हुन्।’

वन्यजन्तु संरक्षणमा लाग्न पाउँदा आफैँलाई खुसी लाग्ने उनी बताउँछन्। उनले डल्फिन संरक्षण अभियानमा लागेको करिब २० वर्षमा डल्फिनको संख्यामा समेत वृद्धि भएको उनी बताउँछन्। उनी भन्छन्, ‘हामीले ३ वर्षअघि कैलालीमा डल्फिन काउन्ट गरेका थियौँ। त्यतिबेला कैलालीमा मात्रै ६२ वटा डल्फिन छन्।’

डल्फिनहरू भारत जाने र पछि पानीकाे बहाव बढेको बेला पुन: आउने श्रेष्ठ बताउँछन्।

उनी भन्छन्, ‘डल्फिन जमेको जानीमा बस्दैन, त्यसैले यताको नदीहरूमा पानीको बहाव कम भएको बेला भारत जान्छन् र पछि यता पानीको ‍बहाव बढेसँगै पुन: यतै आउँछन्। डल्फिनहरूको आउने-जाने क्रम चलिरहन्छ।’

सरकारले पर्यटन विकासको कुरा गरे पनि डल्फिनलाई पर्यटनसँग जोड्न नसकेको श्रेष्ठ गुनासाे गर्छन्।

‘सरकारले पर्यटन विकासको कुरा गर्छ तर डल्फिनलाई पर्यटनसँग जोड्न सकेकै छैन। हाम्रो कैलाली त एक दुर्गम क्षेत्रकै रूपमा पर्छ। तैपनि देशका विभिन्न स्थानबाट डल्फिन हेर्न भनेर मानिसहरू आइरहनु भएको छ’, उनी भन्छन्, ‘डल्फिन कस्तो वातावरणमा बाँच्छ, कसरी राख्न सकिन्छ जस्ता कुराको अध्ययन गरेर होटल तथा रिसोर्टहरूमा राख्न सकियो भने त्यो आयआर्जनको पाटाेसँग पनि जोडिन्छ। पर्यटकहरू पनि आउँछन् त्यस्तो हुँदा।’

सरकारले डल्फिन संरक्षणको लागि भनेर किताब निकाले पनि केही काम नगरेको श्रेष्ठकाे भनाइ छ।

‘सरकारले डल्फिन संरक्षणको लागि भन्दै किताब निकालेको छ। तर, दुर्भाग्य के छ भने काम गरे भन्ने जस्तो देखाउनको लागि मात्र हाम्रो सरकारले काम गरेको छ। डल्फिन संरक्षणको लागि त त्यहाँका स्थानीयलाई सोध्नुपर्‍याे, हामी त्यही क्षेत्रमा लागेकालाई सोध्नु पर्‍याे नि। त्यसै किताब निकाल्दैमा डल्फिन संरक्षण हुन्छ ?  सरकारले काम गरेर देखाउनुपर्‍याे’, उनले भने।

डल्फिन संरक्षणका लागि श्रेष्ठ परिवारका तीन पुस्ता नै लागि परेका छन्। भोजराज श्रेष्ठ जसले अभियान नै चलाएका छन्। त्यही अभियानलाई उनका छोरा र नाति, नातिनीहरूले समेत सघाएका छन्।

डल्फिन संरक्षण अभियानमा गुलेलीले महत्त्वपूर्ण भूमिका खेलेको उनी बताउँछन्। गुलेलीले डल्फिनलाई हुने असरको बारेमा स्थानीयलाई राम्रोसँग बुझाउन पाएका कारण पनि डल्फिन संरक्षण अभियान सफल भएको उनी जनाउँछन्।

श्रेष्ठले डल्फिनको अवलोकन गर्न आउने पर्यटक बर्सेनि बढ्दै गएको बताएका छन्। नदीमा जलयात्रा र्‍याफ्टिङको आनन्द लिँदै डल्फिनको अवलोकन पनि गर्न पाइने यो ठाउँ डल्फिन अवलोकनका लागि नेपालकै प्रमुख गन्तव्य हुनसक्ने संरक्षक श्रेष्ठ बताउँछन्।

श्रेष्ठले स्थानीय व्यक्तिहरूसँगको सहकार्यमा डल्फिन संरक्षण केन्द्र स्थापना गरेका छन्। हाल १४ वटा उपकेन्द्र डल्फिन संरक्षरणका लागि रहेको र त्यसलाई आफूहरूले गाइड गरिरहेको श्रेष्ठकाे भनाइ छ।

‘डल्फिन संरक्षण गर्नको लागि अफिस चलाउन पनि हामीलाई धेरै गाह्राे छ। सरकारले केही वास्ता गर्दैन, स्थानीय तहले पनि ध्यान दिँदैन, न त १ रुपैयाँ सहयोग नै गरेको छ। कहिले सोद्धा पनि सोद्धैनन्- तिमीहरूलाई केही आवश्यक छ भनेर ?’ उनी भन्छन्, ‘हामीले हरेक कार्यक्रमहरूमा उनीहरूलाई बोलाउने, अन्तर्क्रियाहरूमा बोलाउने तथा किताबहरू लेखेका बेला उनीहरूलाई दिने गरेका छौँ।’

डल्फिन संरक्षणका लागि नेपाल एक्लैले नसक्ने भन्दै भारतसँग पनि सहकार्य गरेर अघि बढ्न जरुरी रहेको उनी बताउँछन्।

उनी भन्छन्, ‘अझ हामीले त के भनेका छौँ भने सार्क राष्ट्र नेपाल, भारत र बंगलादेश जहाँ डल्फिन पाइन्छन् ती राष्ट्रहरूसँग सहकार्य गरेर अघि बढ्यो भने डल्फिन संरक्षणमा थप सहयोग पुग्छ।’

जेठ १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्