‘कफी एट अनु बुक्स’

किताब पढ्दै कफीको चुस्की

Copy to clipboard
Copied!

‘लाइब्रेरी हो की कफीसप?’ पहिलोपल्ट जो कोही पुगे पनि अन्योलमा पर्छन्- सातदोबाटोस्थित ‘कफी एट अनु बुक्स’ पुग्दा।

लाइब्रेरी र कफीको मिश्रित अवधारणासहित खोलिएको यस लाइब्रेरी क्याफेमा समसामयिकदेखि इतिहास लगायतका थुप्रै अंग्रेजी र नेपाली किताबहरु उपलब्ध छन्।

यो ‘लाइब्रेरी क्याफे’ सञ्चालन गर्ने व्यक्ति अमिर थापा हुन्। बिहान ८ बजेदेखि राति आठ बजेसम्म खुल्ने यस कफीसपका किताब घर लैजान भने मिल्दैन।

अमिरले आफ्नो विद्यार्थी जीवनका केही वर्ष अमेरिकामा बिताए। अमेरिकाको कोलोराडो राज्यको मेट्रोपोलिटियन स्टेट युनिभर्सिटिमा पढ्दाखेरी उनले त्यहाँको लाइब्रेरीमा ६ वर्ष काम गरे।

त्यतिबेला लाइब्रेरीमा काम गर्दा त्यहाँभित्रको कफी सप देखेर उनी प्रभावित भएका थिए। सोच्ने गर्थे नेपालमा पनि यस्तो कफीसप भए कस्तो हुन्थ्यो होला।

‘सोसल आनटरप्रेनरसिप’ को मोडलमा केही सुरु गर्नुपर्ला भनेर उनी सोचिरहेका थिए। आफूसँग किताबबारे धेरै आइडिया भएकाले पनि यसप्रति झनै धेरै मोह जागेको उनी बताउँछन्।

‘कफी एट अनु बुक्स’ मा एउटा साइडमा बुक सप अर्थात लाइब्रेरी छ जहाँ पुगेर हामीले आफूलाई चाहिएको किताब किन्न सक्छौँ।

त्यस्तै अर्को साइडमा भने कफी सप र किताबहरु छन् जुन रिफरेन्सको रुपमा पढ्न सकिन्छ। रिफरेन्समा भएका किताबहरु घर लिएर जान भने पाइँदैन। जतिबेर त्यहाँ बसिन्छ, मज्जाले हेर्न पाइन्छ।

‘कफी एट अनु बुक्स’ मा क्याफ्टेरिया सुरु भएको २ महिना मात्र भयो। त्योभन्दा अघि भने लाइब्रेरी मात्र थियो।

कफीका अलवा तीते फापरको मफिन, ठेकुवा लगाायत हाइजेनिक खानेकुरा खाँदै शान्त वातावरणमा हामीले किताब पढ्न पाउँछौँ। अमिरका अनुसार माइक्रो निउट्रियन्स तत्व भएको खानेकुराहरुलाई हामीले बिर्सँदै गएका कारणले गर्दा पनि त्यस्तो खाने कुराहरुलाई उनले रिभाइभ गर्न खोजेका हुन्।

यहाँको लाइब्रेरीमा भएका थुप्रै किताबहरु नेपालका अन्य लाइब्रेरीमा पाइँदैनन। यहाँ भएका थुप्रै किताबहरु उनको आफ्नो कलेक्सन हो।

यहाँ हरेक आइतबार बालबालिकाका लागि कथा भन्ने गरिन्छ। कोभिड महामारीको समयमा थुप्रै अभिभावकले फोन गरेर किताबका बारेमा सोध्ने गर्थे। तर आफूहरु पनि नयाँ–नयाँ किताब दिन नसक्ने अवस्थामा भएकाले पनि कथा भनेर सोसल मिडियाको माध्यमबाट हाल्न थाले।

अमिर भन्छन्, ‘हाम्रा छोराछोरी निकै बोर भइसके। किताब लिन आउनुपर्ने भनेर फोन गर्नु हुन्थ्यो। हामी पनि किताब दिने अवस्थामा थिएनौँ जुन कुराले हामीलाई नमज्जा लागिरहेको थियो। सोच्दै जाँदा के लाग्यो भने हामीसँग भएका किताबलाई नै युटिलाइज गरेर कथा भन्दा अहिलेको लागि ठीक होला। हामीले सोसल मिडियाको माध्ययमबाट बच्चाहरुसम्म कथा पुर्‍याउन सफल भयौँ।’

बालबालिकाको लागि फोकस गरिएको भएर पनि विभिन्न कल्चर तथा वातावरण सम्बन्धी कथाहरु भन्ने गर्छन अमिरले।

यसबाट उनलाई धेरै अप्रिसियसन आयो नेपालबाट र आफ्ना बच्चालाई नेपाली भाषा सिकाउन खोजिरहेका धेरै अभिभावकहरुकाट जसले आफ्नो बच्चाहरु विदेशमा हुर्काइराखेका छन्। उनीहरुले पनि फोन गरेर कथा भन्न नछोड्न आग्रह गरे।

तर कहिलेकाहिँ धेरै भ्युज नगएको दिनमा भने उनी अकमकिन्थे, कथा भन्ने कि नभन्ने भनेर। यद्यपि उनकी श्रीमतीले उनलाई हौसला दिन भने छोडिनन्।

उनी थप्छन्, ‘मेरो श्रीमतीले मलाई सधैँ के कुराले मोटिभेट गर्थिन् भने एकजना बच्चाले हेरिराको छ भने पनि तिमीले कथा भन्नुपर्छ।’ र त्यही रुपमा कथाको सुरुवात भयो। उनीहरुसँग अहिले ३०–३५ वटा कथाहरु छ।

यो कुराले आफूलाई एकदमै सन्तुष्ट मिलेको अमिर बताउँछन्। भन्छन्, ‘एकदमै रिवार्डिङ हुुने रैछ। म एकदिन बाहिर गएको बेलामा स्टोरि टेलिङ अंकललाई भेट्ने भनेर ९ वर्षको नानी यहाँ आइपुगेकी रहिछन्। उनको ममीसँग कुरा गर्दा थाहा भयो कि उनलाई स्टोरी टेलिङले गर्दा छुट्टै खालको प्रभाव परेको रहेछ।’

बुकसपमै भने अहिलेसम्म स्टोरी टेलिङको जम्मा दुईवटा सेसन भयो। हरेक शनिबार ३ बजेदेखि ५ बजेसम्म अभिभावकहरुले आफ्ना बच्चालाई त्यहाँ ल्याउँछन्। यहाँ कथा भन्ने मात्र हुँदैन, आर्टदेखि लिएर बच्चाहरुलाई विभिन्न ज्ञानका कुराहरु पनि सिकाइन्छ।

किताब र कफी मात्र होइन, यो क्याफेमा बहसका कार्यक्रम पनि हुन्छन्। यहाँ बुक लन्च इभेन्ट पनि हुन्छ। केही समयअघि त्यहाँ निर्वाण चौधरीले आफ्नी ६ वर्षकी छोरीको बर्थडे गिफ्टको लागि लेखेको किताबको पनि लञ्च गरिएको थियो।

र अर्को ‘अफ्रिका नाइट्स’ भन्ने इभेन्ट पनि भएको थियो। नेपालमा बस्ने अफ्रिकन समुदायका मानिसहरुलाई अमिरले त्यहाँ ल्याएर उनीहरुको कथा तथा अनुभवहरु सुनेका थिए।

अमिर एक फाउन्डेसनमा आवद्ध छन्, जुन फाउन्डेसनको अफ्रिकामा एउटा कम्युनिटी प्रोजेक्ट छ। त्यहाँ उनीहरुले बच्चाहरुको लागि एजुकेशनल एकटिभिटिजहरु गराउन जाने गर्दछन्। उनका अनुसार केन्यामा धेरै मसाई जातिहरु छन् जसको थुप्रै संस्कृतिहरु नेपालको थारु जातिसँग मिल्छ।

अमिरका अनुसार नेपालमा काम गर्ने थुप्रै अफ्रिकन समुदायका नागरिकहरु छन्। उनी थप्छन्, ‘ए’ र ‘बी’ डिभिजनको लिगहरु हेर्ने हो भने हरेक टिममा २–२ जना अफ्रिकनहरु हुनुहुन्छ। यति धेरै अफ्रिकनहरु हुँदा हुँदै यो ठाउँलाई अफ्रिकन हब पो बनाउन सकिन्छ कि भन्ने पनि मलाई मनमा आयो।’’

आफू केन्यामा बस्दा जुन माया र सद्भाव पाएका थिए अमिरले, सायद त्यही पूरा गर्न आफूले यसलाई अफ्रिकन हब बनाउन खोजेको बताउँछन् उनी।

अमिर थप्छन्, ‘केन्याले मलाई जुन खालको हस्पिटालिटी दिएको थियो। हामीले सायद त्यो कुरा अफ्रिकनलाई दिएको छौँ कि छैनौँ भन्ने कौतुहल पनि भएको हुनाले अफ्रिकन नाइट कार्यक्रम गरेम जुन एकदम सफल भयो।’

‘कफी एट अनु बुक्स’ मा विभिन्न पोयट्री नाइट्सहरु पनि हुने गरेको अमिर बताउँछन्। यसो गर्दा आफ्नो प्रतिभाहरु कतै पनि प्रस्फुटन गर्न नपाएका युवाहरुले उचित प्लेटफर्म पाउने उनको अनुभव छ।

अमिर थप्छन्, ‘म पनि पहिला लेख्थेँ। तर त्यति बेला राम्रो प्लेटफर्महरु थिएन। मैले लेखेको कुरा कसैले देख्छ कि भनेर बुवा आमाबाट लुकाउन मन लाग्थ्यो। त्यसैले मैले के सोचेँ भने त्यस्ता खालका युवाहरु त अहिले पनि हुनुहुन्छ। भावना, क्रिएटिभिटी भन्ने कुरा त सधैँ भइराख्छ। त्यसैले आफ्नो प्रतिभा लुकाइराख्नु भएका धेरै युवाहरुलाई यो उचित प्लेटफर्म हुन सक्छ।’

अमिरका अनुसार यहाँ आर्ट एक्जिभिसन पनि हुन्छ युवाहरुका लागि। आर्ट एक्जिभिसन गर्नको लागि ठूलो ग्यालरी नै जानुपर्छ अथवा ठूलो आर्टिस्ट नै हुनुपर्छ भन्ने मानसिकतालाई आफूहरुले चिर्न खोजेको उनी बताउँछन्।

भविष्यका लागि भने अमिरको धेरै ठूलो योजना छैन। यस्ता कफीसपहरु भने अरुपनि धेरै ठाउँमा खुल्नुपर्ने तर्क गर्छन।

भन्छन्, ‘यस्तै खालका कफीसपहरु चोक चोकमा खोल्नु पर्‍यो, वडा वडामा खोल्नु परयो। जोसुकै मान्छे यहाँ आउँदा पनि घर आएको जस्तो फिल होओस्।’

जेठ १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्