बलात्कारबारे ७ वर्षपछि फेरि अर्की युवती बोलिन्, प्रिन्सिपलबाट बलात्कार भएको दाबी

सांकेतिक तस्बिर

काठमाडौंँ- आठ वर्षपछि आफूमाथि भएको बलात्कारबारे एक युवतीले सामाजिक सञ्जालमा भिडियोमार्फत् सार्वजनिक गरेसँगै देशका अन्य विभिन्न स्थानमा समेत यस्ता घटनाहरू बाहिर आउन थालेका छन्।

यस्तै एक घटना इटहरीको ब्लुमिङ लोटस इङ्लिस सेकेन्डरी स्कुलकी एक छात्राले करिब सात वर्षअघि आफूमाथि सोही विद्यालयका प्रिन्सिपलले बलात्कार गरेको घटना सार्वजनिक गरेकी छन्।

उनी ब्लुमिङ लोटस इङ्लिस सेकेन्डरी स्कुलमा कक्षा ९ मा अध्ययन गर्दा प्रिन्सिपल राज खड्काले आफूमाथि पटक-पटक बलात्कार गरेको दाबी गर्दै उनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेकी छन्।

घटना करिब २०७२/७३ सालतिरको भएको उनले बताएकी छन्। उनले अहिले एक युवतीले भिडियोमार्फत् आफूमाथि भएको बलात्कारको घटनाबारे बोलेसँगै हिम्मत गरेर आफूमाथि भएको बलात्कारबारे बोलेको बताएकी छन्।

त्यतिबेला उनी स्कुलको होस्टलमा बसेर अध्ययन गरिरहेको उनले उल्लेख गरेकी छन्। त्यतिबेला उनीमा छातीको समस्यासमेत भएको उनले उल्लेख गरेकी छन्।

उनले भनेकी छन्, ‘छातीको समस्या भएकोले बुबाले उनको खातामा उपचारको लागि भनेर पैसा पठाइदिनु भएको थियो। उपचार गर्न अस्पताल लैजानुको साटो मलाई उनले सिधै होटलमा लगे। उ‍नले मलाई खाना  खान प्रस्ताव गरे तर मैले अस्वीकार गरेँ। म डराएको र पसिना बगिरहेको बेला, उनले मलाई ‘यता आऊ गर्मी हुँदैन’ भन्दै कोठामा प्रस्ताव गरे। त्यतिबेला म १५ वर्षको थिएँ। उनले कोठामा ताला लगाए र मलाई खाना खान भने, मैले अस्वीकार गरेँ। त्यसपछि उनले मेरो स्कूलको ड्रेस च्याते र मलाई बलात्कार गरे।’

उनले भिडियो बनाएको र सोही भिडियोमार्फत् ब्लाकमेल गर्दै २ वर्षसम्म लगातार बलात्कार गरेको उनले दाबी गरेकी छन्। त्यसपछि सो प्रिन्सिपलले आफूमाथि बाथरुम, साइन्स ल्याब, कम्प्युटर ल्याव, होस्टल रुम जताततै बलात्कार गरेको उनले बताएकी छन्।

दुई वर्षसम्मको समयमा आफूहरूलाई विदामा समेत घर जान नदिने गरेको उनले बताएकी छन्।

एसएलसीपछि घटनाबारे आफ्नो परिवारलाई भनी कानुनी प्रक्रियामा गएपनि सोबारे हालसम्म पनि छानबिन नभएको उनले बताएकी छन्। घटनाबारे युवतीले ती व्यक्तिकी श्रीमतीलाई समेत भनेको तर उनले पनि केही सहयोग नगरेको जनाएकी छन्। कसैले आफूलाई साथ नदिएपछि तीन पटकसम्म आत्महत्याको प्रयास गरेको समेत उनकाे दावी छ।

आफूमाथि बलात्कार भएको घटनाबारे भन्दा कसैले साथ नदिनुका साथै कसैले नपत्याएको समेत उनले बताएकी छन्। प्रहरीलाई उजुरी दिए पनि सोबारे हालसम्म प्रक्रियाकै क्रममा रहेको बताएकी छन्।

आफूमाथि बलात्कार गरेका ती व्यक्ति हालसमेत कुनै एक विद्यालयको प्रिन्सिपलकै रूपमा काम गरिरहेको उनले दाबी गरेकी छन्।

 

जेठ ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्