धनगढी उपमहानगरकाे प्रमुखमा स्वतन्त्र हमाल र उपप्रमुखमा एमालेकी राना विजयी

धनगढी- सुदूरपश्चिको एक्लो उपमहानगरपालिका धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल १२ हजारभन्दा बढी मत अन्तरले विजयी भएका छन्।

२०७४ काे निर्वाचनमा नेपाली कांग्रेसका नृप वडसँग पराजित हमाल अहिले उनै वडलाई भारी मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।

हमालले २६ हजार ८६५ मत पाए भने वडले १४ हजार ८१७ मत पाएका छन्। यस्तै, नेकपा एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत पाएका छन्।

उपमहानगरपालिकाको उपमेयरमा एमाले उम्मेदवार कन्दकला राना विजयी भएकी छन्। उनले सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार शान्ति अधिकारीलाई पराजित गरेकी हुन्।

रानाले १५ हजार ४७९ मत पाउँदा माओवादी केन्द्रकी अधिकारीले १२ हजार ६७० मत पाइन्। उपमेयरका स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार ६०९ मत पाए।

उपमहानगरमा रहेका १९ वटा वडामध्ये ११ वडामा कांग्रेस ६ वडामा एमाले र दुई वडामा माओवादी केन्द्र विजयी भएको छ। ०७४ सालको निर्वाचनमा कांग्रेसले मेयर र उपमेयरसहित १२ वडामा जित निकालेको थियो।

जेठ ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्