नृत्यकाे आडमा ‘डान्स लाइब्रेरी’ को रोपिँदै गरेको बिज

‘जिउँदो छु भन्न पातहरु रुखमा नाँच्छन्, आफू जिउँदो भएको थाहा दिन प्रेमीलाई भेट हुँदा मुटु नाच्छन्,
नाँच्नु भनको ‘बाँच्नु हो’

मण्डला थिएटरको मञ्चमा सिर्जना पोखरेल यिनै शब्द उच्चारण गरी ‘नृत्य श्रंखला ०.१’ को घुम्टो उघारिन्। मञ्चमा नम्रता केसी आफ्ना दुई चेलीलाई लिएर दर्शकसँग साक्षात्कार गर्न आइपुगिन्।

अनि तबला, सितार अनि थुप्रै बाजागाजाको समिश्रण बज्यो, चिटिक्क आवरणमा देखिएका, पाउँमा चाँप (घुँगरु) बाँधेर ३ जना संगीतको तालमा ताल मिलाई ‘कथक’ प्रस्तुत गर्न थाले।

नम्रता के सी।

श्रृजनाको शब्द सापटी लिँदै भन्नुपर्दा ‘कथक कथा हो, कथक कथा हो। अर्थात जसले कथा भन्छ ऊ कथक हो।’

संगीत, नृत्य र नाटकको समिश्रित प्रस्तुति प्रदर्शन गर्दा विद्यार्थीसँगै उनी पनि हौसिएकी थिइन्।

एस्थेटिक डान्स स्टुडियोको नाममा यसरी स्टेज उक्लँदा उनले देखेको सपनाको यात्राको लागि पहिलो खुड्किलो उक्लिएको उनलाई भान भयो।

‘हामीले सन् २०१६ मा नै नृत्य पाठशाला खोलेका थियौँ। आफ्नै स्टुडियो नभएपनि हामी अरु अरु स्टुडियोसँग सहकार्य गरि काम गरिरहेका थियौँ। लकडाउनमा पनि हामीले अनलाइन फेस्टिबलहरु गरिरह्यौँ।’

लकडाउनमा नम्रताले भारतका उनका साथीहरुसँग सल्लाह गरेर अनलाइन फेस्टिभल, ‘ब्रम्ह मुहुर्त’ सञ्चालन गरेकी थिइन्। कोरोना सामान्य भएपछि उनले पहिलाको जस्तै अरु स्टुडियोमा विद्यार्थीलाई नृत्य सिकाउन थालिन्।

उनले परिवार हेर्दा हेर्दै ठूलो भयो।

उनलाई अब आफ्नै ठाउँ हुनुपर्छ भन्ने बोध भईरहेको थियो भनेको जस्तो ठाउँ भेटिएन। बल्ल बल्ल चैतदेखि अनामनगरमा उनीहरुले आफ्नो स्टुडियो खोल्ने मोका पाए।

‘मलाई यहाँ राम्रो भाइब्स आइरहेको छ। यहाँ हामीसँग ३ ओटा कोठाको स्पेस पनि छ। स्टुडियो पनि भयो, सल्लाहै सल्लाहमा डान्स लाइब्रेरीको आइडिया आयो,’ नम्रताले भनिन्, ‘राम्रो नाच्नको लागि पढ्न जरुरी छ, हामीमा पढ्ने सँस्कार छैन।’ भारतको लखनाउ विश्व विद्यालयबाट कथकमा स्नातकोत्तर अध्ययन गरी फर्केकी नम्रता भन्छिन्, ‘नाचको बारेमा एकेडेमिक रुपमा नै पढाइ हुन्छ तर हामीकहाँ त्यो संस्कार नै छैन। खोज्ने, पढ्न जाने संस्कार बसाउन पहिलो कदम भनको लाइब्रेरी हुन्छ जस्तो लाग्यो र म त्यसमा नै लागि परे।’

लकडाउनमा उनले केही अनुसन्धान गरिन् । नेपालमा एकदमै कम संख्यामा नृत्यको बारेमा लेखिएका पुस्तकहरु छन्। त्यो पनि छापिन्छ, र कहाँ जान्छ थाहाँ हुँदैन । त्यसपछि उनले आर्काइभिङ शुरु गर्ने निधो गरिन्।’

‘यो लाइब्रेरीमा नृत्य गरिरहेका ‘डान्सर्स’ लाई सहयोग हुने किताबहरु हुनेछन्। माइथोलोजिकल स्टोरीहरु, फोक स्टोरी, मौलिक न्यारेटिभका कथाहरु, शास्त्रीय चिजहरु, कलात्मक प्रस्तुतिहरु बलियो र बेजोड तरिकाले प्रस्तुत गर्न हामीले यो कुरा बुझ्न आवश्यक छ।’ उनले भनिन्, ‘हामीसँग धेरै कुरालाई जोड्ने बाटो हुन्छ। तपाईको सोच्ने तरिकाले बडि मुभमेन्ट निर्धारण गर्छ। तपाईले कति कथाहरु बुझ्नु भएको छ भन्नेमा निर्भर हुन्छ।’

लखनाउ विश्वविद्यालयमा नृत्यका थुप्रै किताबहरु थिए, त्यहाँ नृत्यको बारेमा वैचारिक दृष्टिकोणमा कुराकानी हुने गर्दथे। नेपालमा पनि प्रयास भएको थियो तर प्रभावकारी नभएको नम्रता बताउँछिन्।

‘मानिस केही पढिरहेको हुन्छ नि, बरु पढाई प्रभावकारी होला भनेर लाइब्रेरिको अवधारणा आयो।’ नृत्य लाइब्रेरी उनीहरुको लागि हो, जसले नृत्यलाई शारिरीक हाउभाउसँग मात्र नभई ज्ञानसँग जोड्ने ध्येय राखेका हुन्छन्। उनि भन्छिन्, ‘लाइब्रेरीले हाम्रो सोच्ने क्षमता र हामीले भन्ने कथालाई अझ व्यापक बनाइदिओस् ।’

नेपालमा कलालाई लिने तरिका फरक छ।

अझ नृत्यको क्षेत्रमा यसलाई पेशाको रुपमा लिएर जाने भन्दा पनि शोख पूरा गर्न आउनेको संख्या धेरै भएको नम्रताको अनुभव छ। ‘उहाँहरु एउटा क्षेत्रमा स्थापित भईसकेको हुनुहुन्छ अनि अब यो मेरो समय हो भनेर आउनुहुन्छ,’ उनले भनिन्, ‘उहाँहरुको नृत्यसम्बन्धी बुझाई फरक छ, यस्तै नयाँ युवाहरु नृत्य विधालाई बुझ्न आएका छन्, उनीहरुलाई पनि पेशा बनाएर नृत्यलाई लैजानु छैन।’

करियर नै नृत्यको लागि दिन भनी आउँने विद्यार्थी नगन्य छन्, र जति आएका छन्, तीनमा पनि पारिवारिक अनुमति छैन, त्यसैले जति आउँछन् उनीहरु एक समयमा रोक्किन्छन्।

६, ८ महिनामा विद्यार्थी तयार हुन्छन्, अनि स्टेजमा जान्छन्। तर भारतमा जस्तो नेपालमा छान्ने अवस्था छैन, नृत्यको तयारी आवश्यक सरसामान महंगा छन् अनि नाच्ने जनशक्ति पनि। ‘यो क्षेत्रमा आउन चाहने धेरै छन्, तर टिकाउन गारो छ,’ उनी भन्छिन्, ‘ ३ महिनाको बेसिक कोर्स, ३–४ महिना इन्टरमिडियट कोर्स। त्यसपछि स्टेजमा लग्ने भन्ने योजना हो, कोही २ वर्षदेखि सिकिरहनु भएको छ। तर सबै कलाकार त्यति लामो समय रहँदैनन्।’

नृत्यमा फिक्स करियर छैन। सम्भावना छ, धैर्यता लाग्नुपर्छ भनि नम्रता सम्भावना खुलाउन चाहन्छिन्।

नम्रता भने आफ्नो जीवन रहुञ्जेल नाच्ने अभिलाषा राख्छिन्, त्यसैले तन, मन र धन नै यही खर्चिन्छिन्। उनको सपना ‘नृत्य करियर होइन’ भन्ने सोचाइ तोड्नु हो। म ‘डान्सर हुँ’ भन्न लाज नलागोस् भन्ने वातावरण बनाउनु हो। त्यसैको लहरमा झुण्डिएको साना सपनामध्येको एक हो ‘डान्स लाइब्रेरी’ यसले उनको ठूलो सपना पूरा गर्न इँट्टको काम गर्छ।

यो लाइब्रेरी नम्रताले आफ्नो नृत्य पाठशालाको लागि मात्र सोचेकी छैनन्। पद्मकन्या क्याम्पसमा पढाउँछिन नम्रता, त्यहाँ सीमित साधनहरु छन्। त्यहाँका विद्यार्थीलाई पनि अनुसन्धान गर्ने ठाउँ हुन्छ भन्नेमा उनी विश्वस्त छिन्।

उनी हौसिनुको अर्को कारण पनि छ, ‘लाइब्रेरी बन्यो भने यस्ता पुस्तक, नृत्यको बारेमा लेखिन्छ लेख्ने नयाँ सर्जकहरु थपिन सक्छन्।’

आइडिया फुरेपछि उनले काम गर्न थालिन्, नृत्य सिकेका विद्यार्थीहरुको प्रस्तुति राख्ने र त्यहाँबाट उठेको रकम ‘डान्स लाइब्रेरी’ को लागि खर्च गर्ने। थोरै पुस्तक साझा प्रकाशनको सस्तो पुस्तक मेलामा गएर नम्रताका श्रीमान सोमनाथ खनालले ल्याइदिए।

योजना अनुसार गएको सोमबार ‘नृत्य श्रंखला ०.१’ को पहिलो प्रस्तुति भयो। पानीले काठमाडौँलाई निथ्रुक्क रुझाएको थियो। बुक भएका टिकट क्यान्सिल भइरहेका थिए। नम्रताले दर्शक आउने आशा मारिसकेकी थिइन् । त्यतिबेला ‘डान्स लाइब्रेरी’ बनाउने अवधारणा सुनाउँदा हतोत्साहित गर्नेको बोली याद आयो।

‘हामीले आश गरेका व्यक्तित्वहरुले केही प्रतिक्रिया नै दिनुभएन बरु सोच्दै नसोचेका व्यक्तिले सहयोग गरे, प्रेरणा दिए,’ उनले भनिन्, ‘दुवै सोच हाम्रो लागि हौसला हो, ‘सकिन्छ र ? भन्नेको अगाडि गरेर देखाउने शक्ति आउँछ।’ उनले आशा मार्न जानेकी छैनन्।

सकारात्मक सोच्दा सकारात्मक नै हुन्छ भन्ने भनाइ उनलाई लागू भयो। कार्यक्रम शुरु हुने समयमा दर्शकको उपस्थितिले उनलाई भावुक नै बनायो। अनि थप्यो हौसलाको थुप्रै चाङ।

पहिलो प्रस्तुतिले केही रकम जम्मा भएको छ। ठूलो कुरा सोमबार भएको कार्यक्रमले पुस्तकालय बन्दैछ भन्ने सन्देश गयो। रकम जम्मा भएको छ कतिको आश्वासन पनि आएको छ।

फेरी मंगलबार पनि ‘नृत्य श्रृंखला ०.१’ को प्रस्तुति दिने मौका मिलेको छ।

नृत्य श्रृंखला चाहिँ नृत्यप्रेमीको लागि र नृत्यका दर्शक बनिरहोस् भन्नको लागि गरिएको हो। ‘यसमा कथक मात्रै होइन, अन्य डान्स फम जसको आफ्नै मौलिकता र कथा हुन्छन्, तिनीहरुसँग जोडिएर लैजाने सोच रहेको छ,’ नम्रता भन्छिन्, ‘फ्री स्टाइल भन्दा पनि व्याकरण र भाषा भएका नृत्यका फर्महरुसँग हामी सहकार्य गर्छौ, बेली डान्स ग्रुपसँग हाम्रो कुराकानी भइरहेको छ।’

पुस्तकालय शुरु गर्दा कम्तीमा १०००/१५०० किताब शुरुमा होस् भन्ने प्रयासमा लागि परेकी नम्रता आशावादी र दृढ सुनिन्छिन्, ‘सपना देखेको हुँ, थाहा छैन कस्तो बन्छ कत्रो बन्छ। तर पक्का बन्छ।’

तस्बिरहरु – सुमी शाही ठकुरी

बैशाख २६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्