यमराजबाट खोसेर ल्याउने वसन्तीकी आमा

Copy to clipboard
Copied!

टिचिङ अस्पतालको परिसरभित्र सयौँ मानिसको भीडमा कल्पना दमाई मिसिएकी थिइन्। शैय्यामा छटपटाइरहेकी छोरी वसन्ती परियारका बारेमा उनले नचिनेका मानिसले पनि कुरा गर्दै थिए- ‘एसिड र चक्कु हानेको मान्छे कहाँ बाँच्छ ?’

कल्पनाका आँखाबाट अविरल आँसु झरिरहेका थिए। उनले छोरीको प्राण रक्षा गरिदिन पशुपतिनाथसँग हात जोडेर प्रार्थना गरिरहेकी थिइन्।

दुर्घटना भएको पाँच दिनमा कल्पनाले वसन्तीलाई भरतपुर अस्पतालमा देख्दा छोरी जिउँदो रहने आश रहेन।

‘एकदमै सिरियस थिई। बाँच्ली जस्तो नै लागको थिएन’, आँखाको आँसु पुस्छै उनले भनिन्, ‘मैले बोलाउँदा नि बोलेकी थिइन।’

त्यसपछि उनले टिचिङ अस्पतालमा छोरी भेटेकी थिइन्।

नवलपरासी कावासोतीकी कल्पना दमाईकी ३ छोरीमध्ये जेठी छोरी वसन्ती परियारमाथि २०७५ साल असोज ९ गते एसिड आक्रमण भयो। वसन्तीका श्रीमानका नजिकका साथी बिमल श्रीपालीले एसिड मात्र छ्यापेनन्, वसन्तीको पेटमा चक्कु पनि रोपे।

वसन्ती परियार।

उनकाे पेटमा रोपिएको चक्कु कल्पनाको मुटुमा पनि रोपियो अनि वसन्तीको मुखमा छ्यापिएको एसिडले कल्पनाको मुटु पनि डढायाे। त्यसको जलन र पीडा अहिले कल्पनाको आँखाको बाटो हुँदै बग्ने गर्छ।

घटनाको दिन कल्पना दमाई हाटबजारमा तरकारी बेचिरहेकी थिएन्। जति साँझ भयो, उति ग्राहक बढ्दै जान्थे। कल्पनालाई सघाउन छोरी वसन्ती पनि आइपुगेकी थिइन्। छोरी वसन्तीको घर नजिकै कल्पनाले आफ्नो बासस्थान बनाएको भएर नै धेरैजसो समय आमाछोरी भेटिइरहन्थे।

रात पर्न लागेपछि कल्पनाले वसन्तीको घरका लागि तरकारी पोको पारिन् र छोरीलाई बिदा गरिन्। त्यसपछि उनी आफ्नाे काममै व्यस्त भइन्।

‘एकैछिनमा मान्छेहरु हल्ला गर्न थाले, मैले चिनिरहेकै देशी (निर्माणका काम गर्ने भारतीय नागरिक) ले एक जना ‘म्याडम’ लाई चक्कु हाने भन्यो’, गहभरि आँशु पारी कल्पनाले भनिन्, ‘मेरो कान्छो भाइ बुहारीको घर बन्दै थियो। एकैछिन अगाडि उनीहरू मसँग छुट्टिएर गएका थिए।’

उनलाई नजानेको पीरले अत्याएको थियो, त्यहीमाथि चिनेको देशीले ‘म्याडम’ भनेपछि कल्पना बेच्न राखेको सामान यसै छोडेर मध्यबिन्दु अस्पतालतिर दौडिइन्। मानिसको अनौठो भीड थियो। त्यही भीडका केहीले ‘चक्कु वसन्तीलाई हानेको’ बताए। कसलाई चक्कु लागेको भेउ नपाउँदै उनले अर्को कुरा सुनिन्, ‘एसिड पनि हालेको छ’। कल्पनाले ‘एसिड’ भनेको बुझिनन्।

‘मलाई तेजाब थाहा थियो’, उनले भनिन्, ‘कपडामा हाल्दा त प्वाल पर्छ भन्थे, छोरीको अनुहारमा कति पोल्यो होला!’

उनले छोरी भेट्न काेलाहल गरिन् तर त्यो अनुमति कसैले दिएन।

आक्रमण गर्नेको अनुहार सम्झिइन्, ज्वाइँकै साथीले त्यस्तो गर्‍याे। उसलाई पनि वसन्तीले पाएकाे जस्तो दुख उसलाई दिन मन लाग्यो। तर निरीह भएर बस्नु बाहेको विकल्प उनीसँग थिएन।

वसन्ती परियारकी आमा।

वसन्तीको उपचार मध्यबिन्दुमा सम्भव नभएपछि उनलाई भरतपुर अस्पताल लगियो। चाडबाडको बेलामा चिकित्सक बिदामा बस्छन्, फेरि त्यहाँ छोरीको उपचार सम्भव होला नहोला, उनलाई कसैको विश्वास थिएन।

वसन्तीलाई काठमाडौँ चाँडै पुर्‍याउन चिकित्सकले सल्लाह दिइरहेका थिए, तर त्यस्तो संवेदनशील अवस्थामा काठमाडौँ ल्याउने ह्याउ कसैसँग थिएन।

कल्पनामा भाइहरू त्यहाँका नेता, सांसदकहाँ धाउन थाले तर आश्वासनमात्र पाए, ‘चिन्ता नलिनुस्, यही उपचार हुन्छ।’

कल्पना मुख दर्शक भएर बसिरहन सक्थिनन्। त्यही बेला अभियन्ता ‘खुस्बु श्रेष्ठ’ उनको अगाडि भगवान बनेर आइन्।

‘मलाई नानीले अनुमति माग्नुभयो, मैले ‘मरेपनि यो पापी ठाउँमा हैन, काठमाडौँमा नै मरोस्’ भनेँ’, त्याे दिनकाे कुरा सम्झिँदै उनले भनिन्, ‘त्यसपछि वसन्तीलाई हेलिकप्टरबाट काठमाडौँ ल्याएर उपचार गरियो।’

काठमाडौँ आएपछि कल्पनाले छोरीलाई अस्पतालको शैय्यामा पल्टिरहेकी देखिन्। छोरीको एक-एक सास उनलाई अमूल्य भइरहेको थियो। पट्टिमा लपेटिएकी वसन्तीलाई स्‍नेहले बोलाइन्, ‘छोरी!’ वसन्तीले मन्द आवाजमा ‘आमा!’ भनेर जवाफ फर्काउँदा कल्पनाको खुसीको सीमा रहेन।

अस्पताल परिसरमा रहेका प्रहरीले ‘बाँच्ने संभावना छैन’ भन्दा ‘मेरो छोरीलाई केही हुन्न!’ भनेर जवाफ फर्काइन्। अनि आफैँलाई पनि विश्वास दिलाइन्, उनको आत्मविश्वासले ‘फेल’ खाएन।

भगवानमाथि विश्वास थपियो। कल्पनाका भाइ र ज्वाइँले भरोसा दिलाइरहेकै थिए। छोरीको बोली सुन्दा उनकाे आँशुले राेकिने नाम लिएन।

‘छोरी जन्मेर पहिलोपल्ट बोल्दाभन्दा यो बोली अनमोल भयो’, कल्पनाले छोरी वसन्तीलाई हेर्दै भनिन्, ‘जन्माउँदा त्यति पीडा भएन जति अहिले छ।’

सन्तानमध्येकी जेठी छोरी वसन्ती कल्पनाको बाँच्ने आधार पनि थिइन्। कल्पनाका अरू २ छोरीहरूको घर कल्पनाको भन्दा पर छ।

आमाछोरी आउने जाने, सँगै खाने गर्थे। केही समय कल्पना वसन्तीकै घरमा बसेकी थिइन्। छोरीको घरभन्दा केही पर घडेरी किनेर सरेको ६ महिनामा यस्तो घटना भयो। जसले आक्रमण गर्‍याे, कल्पनाले उसलाई राम्ररी चिन्थिन्। छोरीको फाइफुइ गरी रिसाउने बानी पनि थिएन। अहिले पनि सोची ल्याउँदा कल्पनालाई असाध्यै पीडा हुन्छ।

त्यसपछि कल्पनाले वसन्तीलाई छोड्दै छोडिनन् । अस्पतालबाट डिस्चार्ज भएपछि २ वर्षसम्म उनीहरू काठमाडौँमा नै उपचारको लागि बसे। छोरीलाई सग्लै लिएर घर फर्किँदा कल्पनालाई उत्सव भयो। वसन्तीका हरेक पाइला कल्पनाको निगरानीमा भए। वसन्तीलाई छोरा छोरीले माया गरे, श्रीमानले भराेसा दिए।

तर, वसन्तीले लड्नुपर्ने संघर्ष अर्कै थियो। जीवनको लडाइँ अस्पतालमा सकिएकाे थिएन। समाजसँगको खास लडाइँ बल्ल सुरु भएको थियो। कल्पना अनि वसन्तीका श्रीमानले ‘समाजको परवाह नगर, बसिबसी खाऊ, खुसी लाग्या गर’ भनिरहेकै थिए।

वसन्ती परियार र उनकी आमा।

वसन्ती आमा र परिवारका सदस्यको साथले आफूलाई फेरि बलियोगरी उठाउँदै थिइन्। वरपरका व्यक्तिको बोली र व्यवहारले उनको बाँच्ने दृढता बेला बेला ढलमलाउँथ्याे।

तर कल्पना भने वसन्तीको समाजसँगको लडाइँमा ढाल बनेर अगाडि उभिइरहिन्- चट्टानसरी, तलमाथि बोल्नेको मुखमा बिर्को लगाइदिइन्।

आमाले उनको लागि समाजसँग लडेको देखेर वसन्तीलाई लाग्छ, ‘पहिलो जन्म आमाले जन्माएर गरिन्, दोस्रोपल्ट यमराजबाट खोसेर।’

घटनाको ३ वर्ष ६ महिनापछि

वसन्ती अहिले फेरिएकी छन्। शरीरका छालामा औषधिले काम गरिरहेको छ भने मनमा मलहम लगाउने हात थपिएको छ। अभियन्ता उज्जवल विक्रम थापाले उनलाई ‘आफू हुनुमा गर्व’ गर्न सिकाएका छन्।

एसिड आक्रमणपछि उनी पहिला जसरी घरधन्दा, मेलापर्म गर्न सक्ने अवस्थामा रहिनन्। घाम उनको छालाले सहदैन। केही नगरी बस्ने उनको स्वभाव हैन।

सरकारले एसिड आक्रमणकारीलाई सजायको उचित मापदण्ड नबनाए पनि उनको लागि एउटा काम राम्रो गरिदियो।

बुटबलको राष्ट्रिय वाणिज्य बैंकमा उनले मालीको जागिर पाइन्। आर्थिक रूपमा आत्मनिर्भर हुन पाउँदा आत्मविश्वास बढेको छ।

यस्तै, नबिल बैंकले सामाजिक उत्तर‍दायित्व अन्तर्गत एक वर्षसम्म आफ्ना ‘प्रमोसनल कन्टेन्ट’ मा वसन्तीसँग सहकार्य गरेको छ।

छोराछोरी ठूला हुँदैछन् र जिम्मेवारी लिँदै छन्। समाजमा वसन्तीले सास फेर्न सजिलो हुँदै गएको छ। यो सबै वातावरणले वसन्तीका मनका घाउ पुरिन थालेका छन्। उनी अहिलेको ‘आफूलाई’ स्विकार्न थालेकी छन्।

छोरीका बल लिँदा दिनहरू नियाली रहेकी कल्पना छोरीलाई हेर्दै आँखाबाट आँशु खसाल्छिन्। उनका आँशु हर्ष हुन् कि विस्मातका उनैलाई थाहा हुन्न।

‘मैले मेरी छोरीलाई एक ट्याब्लेट औषधि नखुवाई हुर्काएको अहिले उसलाई धेरै औषधि खानुपर्छ’, कल्पना भन्छिन्, ‘उसलाई कोखो हान्छ, औषधि नभई बाँच्न सक्दिन।’

कल्पनाका अरू दुई छोरीले पनि वसन्तीलाई सहयोग गरिरहेका छन्। कल्पनाका भाइहरूले पनि उपचारमा आर्थिक सहयोग गरे। तर, उनीहरूले पाउनुपर्ने क्षतिपूर्ति पाएका छैनन्।

अपराधि जेलबाट छुटेपछि हुने तनावले कल्पनाको मन कटकटी खान्छ। सकेसम्म बाहिर देख्न नपरोस् भन्ने कल्पनाको कामना छ।

छोरीलाई आक्रमण भएदेखि नै ‘घरमा छोरा नभएर समाजले हेपेको’ भावले डेरा जमाएको छ। अनि उनी सम्झिन्छिन्- ‘१२ वर्षमा अचानक बितेका उनका छोरा’।

पीरै पीरको भूमरीले बेरेपछि उनको मुटु दुख्छ।

फेरि उनी वसन्ती अगाडि बढेको, आफ्नो हकहितको कुरा गरेको देखेर दंग पर्छिन्। आफैँलाई बलियो पार्छिन् अनि छोरीको उज्जवल भविष्यमा आफ्नो योगदान भर्छिन्।

कल्पनालाई सबैभन्दा बढी वसन्तीको स्वास्थ्यको पीर छ अनि खुसी नघटुन् भन्ने कामना पनि। यसको लागि कल्पनाको प्रयास जारी छ। वाणिज्य बैंकमा वसन्तीको जागिर भएपछि छोरीको मन भुल्ने बाटो देखेर कल्पना हौसिइन्। छोरीको आत्मसम्मान अडिग राख्न आफैँ कुटो बोकेर बगैँचा स्याहार गर्न गइन् कल्पना।

सबै क्षतिको पूर्ति हुन्न। कल्पनाले बाँकीको जीवन वसन्तीकै आसपास रहेर बिताउने निधो गरेकी छन्। ‘म बाँचुञ्जेल उनकै पछि लाग्छु, भगवानसँग प्रार्थना छ, बरु म पहिला जाऊँ, यसलाई केही नहोस्!’

बैशाख १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्