
बिहान साढे चार बजे उठी भात पकाएर सात बजेसम्म काममा जुट्नु बर्दिया ज्याेतिपुरका प्रेम चौधरीको दैनिकी हो। प्रेम ललितपुरको सानेपामा बन्दै गरेको चारतले भवनमा इँटा बोकिरहेका भेटिन्छन्।
०७४ सालमा भएको स्थानीय निकायको चुनावपछि गाउँमै वडाको सहयोगमा प्रेमले मिस्त्रीको तालिम लिए। तालिमपछि उनी मिस्त्री भए। हाँस्दै उनले भने, ‘मसँग सीटीईभीटीईको प्रमाणपत्र पनि छ।’

उनी ज्योतिपुरकै सुनील थारू प्रेमसँगै इँटा ओसारिरहेका भेटिन्छन्। कोरोना महामारीका बेला रोकिएको एसइईमा उनको ३.४ जीपीए आयो। घरकाले पढ् भन्दाभन्दै पनि उनलाई पढ्न मन लागेन। उनी प्रेमसँगै काठमाडौँको बस चढे।
सुनीलका बुवा रसुवाको एक हाइड्रो पावरमा काम गर्छन्। बहिनी ११ कक्षामा पढ्छिन्। आमा घरको काममा व्यस्त।
उनीहरूले यहाँ काम गर्न थालेको तीन महिना हुन थाल्यो। बिहान सात बजेदेखि बेलुका ५ बजेसम्म काममा व्यस्त हुने प्रेमकै गाउँका ८ जना छन्।
प्रेम र सुनील काम गरिरहेको भन्दा एक किमि टाढा बर्दियाका गंगाराम थारू नेपाल प्रहरीको भवन बनाउने काममा जुटिरहेका छन्। टेकुमा अपराध महाशाखाको अत्याधुनिक भवन बनाउन ‘बिकेवआई’लाई सहयोग गरिरहेका उनले आफूसँगै बर्दियाका थुप्रै चौधरी ल्याएका छन्।
घट्दै छन् भारत जाने मजदुर
बर्दिया ज्योतिपुरकै महाभारत चौधरीको २२ वर्ष कामका लागि भारत आउ-जाउमा बित्यो। ४२ वर्षका उनी १८ वर्षको उमेर पहिलो पटक भारत गए। ८ वर्ष भयो उनी भारत जान छाडेको। काम गर्ने ठाउँको छेउमै रहेको टिनले बारेको कटेरोअगाडि आलु काट्दै गरेका उनले भने, ‘उता जान छाडेको केही समयपछि म यता आउन थालको हुँ।’
उनी आफू मात्र आएनन् साथमा प्रेम चौधरीलाई पनि ल्याए। छेउमै बसेका प्रेमले हाँस्दै भने, ‘इन्डिया जान सिकाउने पनि यही हो, यहाँ ल्याउने पनि यही हो।’
०७४ अघिका १८ वर्ष प्रेमको पनि कामका लागि भारत आउ-जाउमा बित्यो।
महाभारत र प्रेमजस्तै बर्दिया र बाँकेका चौधरीहरूको हरेक वर्ष मजदुरीका लागि भारतका विभिन्न सहर चाहार्नु बाध्यता थियो।
बर्खामा धान रोपिसकेपछि गाउँघरमा काम हुन्थेन। काम मिले पनि दैनिक ज्याला थोरै हुन्थ्यो। उनको जस्तै थुप्रैको गन्तव्य हुन्थ्यो भारत। गाउँमा ठेकेदार आउँथे बेरोजगार सबैलाई जम्मा गरेर भारत लिएर जान्थे। उनीहरू सबै राम्रो दैनिक ज्यालाको आसमा भारत पस्थे। भारतको उत्तराखण्ड, हिमाञ्चल प्रदेशलगायत ठाउँ उनीहरूको गन्तव्य हुन्थ्यो। केहीको मुम्बई पनि। घर बनाउने, सडक बनाउने काममा उनीहरूलाई लगाइन्थ्यो।

महाभारत चौधरीले भारतमा बाटो बनाउन सहयोग गरे। उनलाई याद छ पहिलो पटक दिनको ५० रुपैयाँ ज्यालामा काम गर्न भारत गएको।
उनले ठूला भवन बनाउन बेल्चा उठाए। सुरुङभित्र पसेर बाटो खन्ने कामसम्म गरे। उनले सम्झिए, ‘सिम्लामा काम गर्न जाँदा म दिनभरि बाटो खनेर राति स्याउ बोक्न जान्थेँ।’
हरेक वर्ष खेतीपातीको काम सकेर उनी धनगढी र महेन्द्रनगरको बाटो हुँदै भारत जान्थे। करिब नौ/दश महिना बस्थे अनि केही पैसा बोकेर घर फर्कन्थे।
‘नाम महाभारत भएकाले ऊ भारत धेरै जाने गरेको थियो’ छेउमै बसेका प्रेमले हाँस्दै भने।
‘२०५८ सालतिरको कुरा हो’ प्रेमले सम्झिए, ‘नौ महिना काम गरेर नौ हजार भारु बचाएको थिएँ। पाँच हजारको घरका लागि सामान किनेँ र ४ हजार घरमा ल्याएको थिएँ। एक पटक गयो भने त्यस्तै नौ हजारजति बचत हुने गरेको उनले सुनाए।
उनी मजदुरी गर्न १८ वर्षको उमेरदेखि भारत जान थालेका थिए। प्रेम भन्छन्, ‘हामी एकै गाउँका ६० जनासम्म हुन्थ्यौँ। लस्कर लागेर भारत पस्थ्यौँ।
पश्चिम नेपालका अधिकांश युवाको रोजगारीको प्रमुख गन्तव्य भारत हुन्थ्यो। उनीहरू घरको काम सकेर केही महिनाका लागि भारत पस्थे। त्यहाँबाट कमाएर ल्याएको पैसाले उनीहरूले कहीँ–कतै लागेको ऋण तिर्थे र घरका केही आवश्यकता पूरा गर्थे।

तर, पछिल्ला केही वर्षदेखि भारत जाने मजदुरको संख्या घटेको छ।
राजापुर नगरप्रमुख शिवराम चौधरी भन्छन्, ‘ठ्याक्कै आँकडा त राखेका छैनौँ तर करिब यहाँबाट भारत जाने मजदुरको संख्या ५० प्रतिशतसम्म घटेको मेरो अनुमान छ।’
यस्तै, बर्दियाकै बारबर्दिया नगरपालिकाका मेयर दुर्गा थारू पनि भारत जाने मजदुरको संख्या घटेको बताउँछन्।
‘हो यस क्षेत्रबाट भारत जाने मजदुरको संख्या घटेको छ’, उनले भने, ‘उनीहरू नेपालकै विभिन्न ठाउँमा जान थालेका छन्।’
नेपालमै पाउन थाले काम
विदेश जाने मनसाय बोकेर भारत जान छाडेका महाभारतको सम्पर्क ललितपुर कुसुन्तीका ठेकेदारसँग भयो। राम्रै दैनिक ज्याला भएकाले उनी काठमाडौँ आए। उनलाई सुरुमा त विश्वास लागेको थिएन। एक दिन काम गरिरहेको ठाउँमा आएर ठेकेदारले भने, ‘नडराउनुस् कबाडीमा सामान बेचेर भए पनि तपाईंले गरेको मजदुरीको पैसा दिन्छु।’
साँच्चै ठेकेदारले हामीलाई कहिल्यै ठगेका छैनन्, चौधरीले भने, ‘हरेक दश दिनमा पैसा दिन्छन् हामी आवश्यक परे घरमा पठाउँछौँ।’
देशमै काम, राम्रो ठेकेदार त्यसैकारण महाभारतले आफ्नै गाउँका करिब ६० जनालाई कामका लागि काठमाडौँ ल्याइसकेका छन्। प्रेम पनि त्यही समूहमा मिसिएर आए। दैनिक ११ सय रुपैयाँ मिस्त्रीलाई र नौ सय हेल्परलाई दिने सहमतिमा उनीहरूको टोली काम गर्न राजी भयो।
प्रेम र सुनील मात्र होइन, मजदुरीका लागि भारत जाने बर्दियाका अधिकांश युवाको पहिलो रोजाइ नेपाल नै हुन थालेको छ। काठमाडौँमा बन्दै गरेका भवन तथा देशभरिका ठूला आयोजनामा बर्दिया र त्यस आसपासका जिल्लाबाट आएका मजदुरको संख्या ठूलो छ।
‘उनीहरू इमान्दार हुन्छन्,’ सँगै काम गरिसकेका एक इन्जिनियरले भने, ‘पहिला काम गर्ने मान्छे नपाएर हैरान हुन्थ्यो तर त्यति धेरै गाह्रो पर्दैन। नेपाल आर्मीको एउटा भवन बनाउँदा हामीसँग करिब ३ सय थारू मजदुर थिए। जसमा ६० जना त महिला मात्र थिए।’ राजधानीमा निर्माणसम्बन्धी कामका लागि उनीहरूले धानिदिएको ती इन्जिनियरको अनुमान छ।
‘मैले नै ल्याएर आएका थुप्रै साथी काठमाडौँका विभिन्न ठाउँमा काम गरिरहेका छन्,’ महाभारतले भने ‘बल्खु, सानेपा, कुसुन्तीलगायत ठाउँमा उनका साथी काम गरिरहेका छन्।’
बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गा थारू भन्छन्, ‘यस भेगका धेरै मजदुर नेपालकै विभिन्न ठाउँमा गएर काम गरिरहेका छन्। हामीसँग ठ्याक्कै तथ्यांक त छैन तर भारत जानेको संख्या घटेको छ र उनीहरू नेपालकै विभिन्न ठाउँका ठूला आयोजनामा समेत काम गरिरहेको मैले जानकारी पाएको छु।’
काठमाडौँसँगै देशका विभिन्न ठाउँमा निर्माण भइरहेका ठूला हाइड्रो पावर तथा खानेपानीको पाइप बिछ्याउने काममा बर्दियाबाट मजदुरहरू काम गर्न जाने गरेको उनले बताए। जसमा धेरै संख्या थारू समुदायको छ।
अर्काको देश, मजदुरमाथि गरिने नराम्रो व्यवहार र आफ्नै देशमा राम्रो आम्दानी हुन थालेपछि उनीहरू नेपालमै काम गर्न थालेको उनको बुझाइ छ।
‘काठमाडौँ, रसुवा, सिन्धुपाल्चोक, दोलखालगायत स्थानमा यहाँका मजदुर रहेको मैले जानकारी पाएको छु,’ उनले भने।
त्यो अपमान र यो आत्मसम्मान
‘आफ्नै देश अनि तुलनात्मक रूपमा भारतभन्दा धेरै दैनिक ज्याला यहीँ मिल्छ अनि भारत किन जाने?’ चार तलाबाट डोकोमा मसला बोकिरहेका प्रेम चौधरीले अडिएर भने, ‘यहाँ त पैसा नपाइएला भन्ने पनि छैन, ठेकेदारले १०–१० दिनमा दिन्छ। मन लागेका बेला घर जान पनि पाइन्छ।’
‘हामीलाई त हाम्रो कम्पनीले खाता नै खोलिदिएको छ’, नेपाल प्रहरीको टेकुको भवन बनाउन ‘बिकेवआई’सँग काम गरिरहेका लालबहादुर चौधरीले भने।
सीमामा भारतीय प्रहरीको ज्यादती तथा कम ज्यालामा काम गर्नुपर्ने उनीहरूको बाध्यता अहिले हटेको छ।
सीमामा भारतीय प्रहरीले लुटेको उनलाई अझै याद छ। ‘पाकेटमा हात हाल्थे कति धेरै पैसा ल्याएर आएको ? भनेर सबै लिएर जान्थे’ साठी सालतिर धनगढीको गड्डाचौकीमा भएको घटना प्रेमले सम्झिए। रेलबाट नेपाल फर्कंदा धेरै पटक आफूहरू लुटिएको प्रेमले सुनाए। ‘तैपनि, गरिबीका कारण कामका लागि भारतमै निर्भर रहनु हाम्रो बाध्यता थियो’, उनले भने।

प्रेमजस्तै सीमामा भारतीय सुरक्षाकर्मी तथा काममा मालिकको ज्यादती भोगेका थुप्रै घटना छन्। उनीहरूलाई ठग्नेमा नेपालबाट लिएर जाने ठेकेदारहरू पनि हुन्थे।
बारबर्दिया नगरपालिकाका मेयर दुर्गा थारू यस्तै कारणले यहाँका मजदुर भारत जान छोडेको बताउँछन्। पहिला उनीहरूसँग विकल्प थिएन त्यसैले भारत जान्थे तर अहिले नेपालमै काम पाउन थालेकाले जान छाडेको उनले बताए।
आफ्नै देशमा सम्मानसाथ काम गर्न पाउने वातावरण, राम्रै आम्दानी अनि मन लागेका बेला घर फर्किन पाउने भएका कारण उनीहरू देशमै काम गर्न थालेको उनको बुझाइ छ।
बर्दियाको राजापुर नगरपालिकाका मेयर शिवप्रसाद चौधरी भन्छन्, ‘हामीसँग ठ्याक्कै तथ्यांक त छैन तर यो क्षेत्रबाट ५० प्रतिशतसम्म भारत जाने मजदुरको संख्या घटेको छ।’
सधैँ उपेक्षामा मजदुर
दुई वर्षअघि कोभिड महामारीका बेला सरकारले लकडाउन गर्दा सबै काम ठप्प भयो। काम ठप्प भएपछि देशका विभिन्न ठाउँबाट हिँडेरै भए पनि घर फर्कने मजदुरको लर्को सडकमा देखिन्थ्यो। जसमा अधिकांश नेपालकै विभिन्न ठाउँबाट र केही भारतबाट फर्किएको जिल्ला प्रशासन कार्यालय बर्दियाको तथ्यांकमा छ।
त्यतिबेला बर्दियामा मात्र ८ हजारभन्दा बढी मजदुर भित्रिएको जिल्ला प्रशासन कार्यालय बर्दियाको जनाएको छ। तर, बारबर्दियाका नगरप्रमुख दुर्गा थारू आफ्नो नगरमा मात्र करिब ८ हजार मजदुर फर्किएको बताउँछन्।काेभिड १९ काे संक्रमण बढ्न नदिन सरकाले लकडाउन घाेषणा गरेपछि घर फर्कदै मजदुरहरु। तस्बिर: बर्षा शाह
यसरी कामका लागि भारत वा नेपालकै कतिपय ठाउँमा जाने मजदुरको संख्या वडा तथा नगरपालिकाबाट कसैले पनि राखेका छैनन्। जिल्ला प्रशासनसँग पनि यसरी बाहिरिने मजदुरको संख्या राख्ने कुनै संयन्त्र छैन।
राजापुरका मेयर शिवप्रसाद चौधरी भन्छन्, ‘उहाँहरू सबै आ–आफ्नै तरिकाले जानुहुन्छ र त्यस्तो रेकर्ड राख्ने चलन पनि हामीसँग छैन।’ कोभिडका बेलाचाहिँ सिफारिस लिएर जानुहुन्थ्यो तर अहिले छैन’, उनले भने।
त्यति मात्र होइन, भारत जाने नेपालीको संख्या पनि सिमानामा राख्ने गरिएको छैन। पश्चिमबाट भारत जाने प्रमुख नाका कैलालीको गौरी फन्टा र कञ्चनपुरको गड्डाचौकी हो।
प्रशासनसँग यस्तो तथ्यांक नभएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रवक्ता सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए।
यस्तै, जिल्लाकै श्रम तथा रोजगार कार्यालयसँग पनि यसको तथ्यांक छैन। कार्यालयका निमित्त प्रमुख जनक सिंह उखेडाले आफूहरूसँग कुनै तथ्यांक नभएको बताए।
यो त जिल्ला प्रशासन कार्यालयमा अध्यागमनले हेर्ने भन्दै उनी तर्किए।
तस्बिर – सुलभ श्रेष्ठ