सना बानुको एक दिनको रोजा यात्रा (तस्बिर कथा)

सन्तानका साथमा सना बानु

काठमाडौँ – इस्लाम धर्मावलम्बीको महत्वपूर्ण तथा ठूलो चाड रमजान चलिरहेको छ। दिनभर रोजा (वर्त) बस्ने मुस्लिम समुदायका सदस्यहरुले बेलुका रोजा तोडेपछि मात्रै खाना खान्छन् । अधिकांश पुरुष नमाजका लागि सम्भव भएसम्म नजिकको मस्जिद जान्छन् ।

तर रमजानमा रोजा बस्ने अधिकांश महिलाले भने घरमै आफ्नो नमाज पढ्ने गरेका छन् । हाल रोजा बसिरहेकी एक मुस्लिम समुदायकी महिला हुन् काठमाडौँको गैरीधारामा बस्ने ३४ वर्षकी सना बानु साह । सना बानुमार्फत हामीले रमजानको महिनामा मुस्लिम महिलाको रोजा र दैनिक जीवनलाई समेट्ने प्रयास गरेका छौँ ।

बिहानै सना बानुको घर उनी बिहानको नित्यकाम सकेर बसेकी थिइन् । विद्यालय तह (प्लस टू) उत्तीर्ण गरेपछि उनको विवाह भएको थियो । उनी विवाहका बेला २१ वर्षकी थिइन् । तर बिहेपछि पनि आफूले श्रीमानको सहयोगमा फेशनडिजाइनमा डिप्लोमा गरेको उनले बताइन् ।
सना बानु संयुक्त परिवारकी सदस्य हुन् ।

छोराछोरीलाई विद्यालय पठाउन तयार गर्दै सना बानु

उनको परिवारमा श्रीमान, एक छोरा, एक छोरी, सासू, जेठाजु–जेठानी र उनीहरुका तीन छोराछोरीसहित १० जना छन्। सना बानुको दैनिकी अधिकांश ‘हाउसमेकर’को जस्तै छ । उनले घरधन्दा गर्छिन् । छोराछोरीको अध्ययनमा सहयोग गर्छिन् । त्यसपछि बाँकी रहेको समयमा पारिवारिक व्यवसायका रुपमा रहेको ‘पेपर कप’ उद्योगमा काम गर्छिन् ।

यी सबै काम र जिम्मेवारीबीच उनले रमजानको रोजा पनि निरन्तर गरिरहेकी छन् । महिना दिनसम्म चल्ने रोजा (रमजान महिनाको वर्त) सकिएपछि इद पर्व मनाइन्छ । अहिले आफूहरु रोजामा रहेको उनले बताइन् । रमजानको महिना वर्षका अरु महिना भन्दा भिन्न हुने सना बानुले बताइन् । आफू हरेक बिहान साढे ३ बजे उठ्ने गरेको बानुले जानकारी दिइन् ।

‘घाम झुल्कनुअघि नै खाना (सरगाही) खानुपर्छ । परिवारका साथमा खाइने सरगाही तयार गर्नु पर्छ’, सना बानुले भनिन्, ‘साढे चार बजेसम्ममा सरगाही खाएपछि रोजा सुरु हुन्छ ।’ बिहान ५ बजे आफूले नमाज पढ्ने गरेको उनले बताइन् । रोजा अवधिभर दिनमा पाँचपटक नमाज पढ्नु पर्छ । आफूले कुरान पनि पढ्ने गरेको सना बानुले जानकारी दिइन् । रमजान महिनामा कुरान पढेर सक्नुपर्ने मान्यता रहेकाे उनले बताइन् ।

छोराछोरीलाई विद्यालय लग्दै सना बानु

नमाज पढ्नु अगाडि हात मुख धुने अर्थात सफा हुनु पर्छ। दिनभरि पानी पनि नपिएर रोजा बसेकी उनले बेलुका घाम अस्ताएपछि खाने कुरा खाएर रोजा खोल्ने गर्छिन्, जसलाई इफतार भनिन्छ । परिवारका साथ इफतार गर्ने गरेको उनले बताइन् ।

‘रमजानको महिनामा महिनावारी भएमा रोजा राख्न मिल्दैन । तर त्यसको सट्टामा पछि वर्त बस्नु पर्ने नियम छ’, उनले बताइन् । रोजा अवधिमा आफूलाई मनमा शान्ति मिल्ने गरेको सना बानुको भनाइ छ । उनले भनिन्, ‘रमजानको महिना मलाई शान्तिको महिना जस्तो लाग्छ । यस्तै आफ्नो आयको साढे दुई प्रतिशत जकात निकाल्नु पर्छ अर्थात सो बराबरको रकम आर्थिक अवस्था कमजोर भएकाहरुलाई सहयोग गर्नु पर्छ । मलाई यो नियम निकै राम्रो लाग्छ ।’

चन्द्रमा हेरेर सुरु हुने रमजानको रोजा चन्द्रमा हेरर नै इद मनाइने गरिन्छ । यो रमजानको महिना २९ देखि ३० दिनको हुने गर्दछ । घाम उदाउएपछि र घाम अस्ताउनु अगाडि पानी मात्र होइन, जानेर थुक समेत निल्न नहुने व्यवस्था रहेको छ ।

सना बानुका रोजा अवधि र दिनभरको गतिविधिलाई तस्बिर कथामा समेट्ने प्रयास गरेका छौँ।

भान्छामा काम गर्दैै सना बानु
कागज कप उद्योगमा सना बानु
नमाज पढ्नका लागि हिजाब लगाएर तयार हुँदै
दिउँसोको नमाज पढ्दै
कुरान पढ्दै सना बानु
घाम अस्ताएपछि परिवारका साथमा रोजा तोड्नु अघि
बेलुका रोजा तोड्दै सना बानु
इफतारीपछि बेलुकाको नमाज गर्दै सना बानु

बैशाख २, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्