फोहर व्यवस्थापनको काम कम चुनौतीपूर्ण छैन – सिलसिला आचार्य (भिडियो)

काठमाडाैँ – पेप्सीकोलास्थित मनहरा खोला नजिकै चारैतिर जस्तापाताले घेरेको टहरो छ। टहरोभित्र ६/७ जना महिला–पुरुष काम गरिरहेका देखिन्छन्। कोही ट्रकमा फोहर लोड गर्दै थिए। कोही फोहरलाई छुट्याउँदै त कोही आफ्ना नानीबाबुलाई स्तनपान गराइरहेका देखिन्थे। सबै आआफ्नो काममा निकै व्यस्त।

उनीहरु फोहर छान्ने काम गर्छन्। उनीहरुले छानेर तयार पारेको फोहर ‘रि–साइक्लिङ’ का लागि बेचिन्छ। योग्य सामानलाई ‘रि–साइक्लिङ’ का लागि विभिन्न कम्पनीमा पठाइने अभ्नी भेञ्चरका सह–सञ्चालक तथा निर्देशक सिलसिला आचार्य बताउँछिन्। ‘घर, अस्पताललगायतका ठाउँबाट संकलित फोहर यहाँ ल्याउँछौँ। यहाँ ल्याइएको फोहरबाट अर्को फोहर छुट्याइन्छ। फोहरबाट प्लास्टिक, प्लास्टिक बोतल, कागज, कपडा, फलाम, टिनलगायतका बेच्न मिल्ने चिजहरु झिकिन्छ’, उनले ट्रकलाई देखाउँदै भनिन्, ‘काम नलाग्ने चिज यसरी ट्रकमा लोड गरेर ल्याण्डफिल्ड साइटमा पठाउँछौं।’

मजदुरहरुले छानेका फोहरलाई मेसिनमा च्याप्न मिल्ने च्यापिन्छ भने च्याप्न नमिल्नेलाई सही तरिकाले प्याक गरिने सिलसिला बताउँछिन्। आफूहरुले सकेसम्म फोहरबाट ‘रि–साइक्लिङ’ का लागि योग्य फोहर छान्ने गरेको उनको भनाइ छ। ‘घरमा फोहरलाई कुहिने र नकुहिने छुट्याइँदैन। यहाँ काम गर्ने मजदुरलाई त्यस्तो फोहर छुट्याउन एकदमै गाह्रो छ’, उनले थपिन्, ‘त्यसमा घोच्ने चिज हुन्छ। सिरिन्जजस्ता अस्पतालको फोहर सबै मिसिएर आउँछ। जसले गर्दा उहाँहरुको स्वास्थ्यमा पनि त्यतिनै जोखिम छ। तर पनि उहाँहरुले सकेसम्म फोहर छान्ने गर्नुहुन्छ। उहाँहरुले छानेको योग्य सामान कम्पनीमा पठाउँछौं।’

योग्य सामान पठाउन पनि निकै चुनौतीपूर्ण छ। बढ्दो सहरीकरणले फोहर पनि बढाएको उनले बताइन्। फोहरमा पनि ‘मल्टिलेयर’ प्लास्टिकको मात्रा अत्यधिक रहेको उनले सुनाइन्। उनका अनुसार ‘सिंगल लेयर’ प्लास्टिकभन्दा ‘मल्टिलेयर’ प्लास्टिक व्यवस्थापन गर्न निकै चुनौतीपूर्ण रहेको छ।

‘सिंगल प्लास्टिकभन्दा पनि मल्टिलेयर प्लास्टिक बढ्दो छ। जस्तो प्लास्टिकमा एल्मोनियम मिक्स, कागज मिक्स हुने हुन्छ। यसमा काम गर्न एकदमै गाह्रो छ। अर्कोतिर कामदारको स्वास्थ्यमा पनि त्यति नै चुनौती छ’, उनी भन्छिन्, ‘फोहोरमा काम गर्दा कामदारलाई सुरक्षा उपकरण छैन। यही कामले गर्दा उहाँहरुले समाजमा भेदभाव भोगिरहेका छन्। कोठा नपाउनेलगायतका धेरै समस्या छन्। अरु विकल्प हुने मान्छेले यो काम नै गर्दैन।’

यस क्षेत्रमा काम गर्ने भनेकै सीमान्कृत समुदायका रहेको उनले बताइन्। यतिमात्र होइन। यस क्षेत्रमा अरु पनि समस्या रहेको उनी बताउँछिन्।

कस्ता समस्या छन् ?

सहरीकरणका कारणले नगरपालिकाहरुमा फोहोरको मात्रा एकदमै बढ्दै छ। सहरीकरण तथा रेमिट्यान्सका कारणले आयस्रोत बढिरहेको अवस्था छ। मानिसमा सजिलो र तयारी चिज खाने प्रवृत्ति बढेको छ। ‘यसले प्लास्टिकलगायतका फोहर बढ्न थालेको छ’, सिलसिला बताउँछिन्, ‘खासमा मल्टिलेयर प्याकेजिङका कारणले धेरै समस्या आइरहेको छ। फोहरको मात्रा दिन प्रतिदिन बढ्दै गइरेहेको छ तर त्यसलाई पुनः प्रयोगमा ल्याउन सकिने पूर्वाधार बन्न सकेका छैनन्। नगरपालिकाहरु पनि अलमलमा छन्।’

जग्गाको अभावसँगै यस क्षेत्रमा काम गर्ने उद्यमीहरुलाई पनि निकै गाह्रो भएको उनको गुनासो छ। सरकारले यस सेक्टरमा काम गर्ने उद्यमीलाई प्रोत्साहन नगरेको उनको गुनासो हो। ‘सरकारले यस सेक्टरलाई तपाईंले धेरै महत्वपूर्ण काम गरिरहनुभएको छ। ग्रिन इकोनोमीको लागि काम गरिरहनुभएको भनेर पहिचान गर्ने अथवा सहुलियत दिने त्यस्तो काम केही गरेको छैन’, उनले भनिन्।

उनका अनुसार सरकारबाट सहयोग नभएका कारण दुःखमात्र भएको छ। सरकारमात्र होइन बैंकहरुबाट पनि सहयोग नमिलेको उनले बताइन्। ‘बैंकमा ऋणका लागि गयो भने पनि विनाधितो ऋण मिल्दैन। त्यो हिसाबले उद्यमीलाई गाह्रो छ भने अर्कोतिर यस क्षेत्रमा काम गर्ने कामदारलाई पनि गाह्रो छ’, सिलसिलाले भनिन्, ‘सबै ठाउँबाट छ्यासमिस फोहर आउँछ। जसले गर्दा उनीहरुको स्वास्थ्यको चुनौती पनि त्यति नै छ।’

समाधान के हुन सक्छन् ?

उनले भनिन्, ‘एउटा नीति निर्माणको पाटो छ। सरकारले यसमा नीति बनाएर काम गर्न सक्ने धेरै छ। पहिलो कुरा घरबाट फोहर निस्कनुभन्दा पहिला कुहिने र नकुहिने छुट्याउनु पर्‍यो। यो कुरा कानुनमा पनि छ। तर कार्यान्वयन भएको छैन। घरमै कुहिने र नकुहिने फोहर छुट्यायौं भने हाम्रो ८०/९० प्रतिशत समस्या समाधान हुन्छन्। अहिलेको फोहरबाट १५/२० प्रतिशत पनि रि–साइक्लिङका लागि योग्छ छ, मुस्किलले। यो सरकारले गर्न मिल्ने काम भयो।’

सरकारजस्तै अन्य व्यापारिक क्षेत्रले पनि फोहर व्यवस्थापनमा काम गर्न सक्ने उनी बताउँछिन्। ‘अहिले बैंकहरुले ग्रिन फाइनान्स भनिरहेको छ। त्यसको मुख्य ध्यान भने जलविद्युततिर, ऊर्जातिर बढी छ’, सिलसिला थप्छिन्, ‘फोहोर व्यवस्थापनमा छैन। यस क्षेत्रमा यति धेरै काम गर्ने हुनुहन्छ। उहाँहरुलाई मेसिन सहयोग गरेर, ऋण दिएर, लगानी गरेर हरित अर्थतन्त्रलाई धेरै अगाडि बढाउन सक्छौं। अहिले फोहरको मोडल भनेकै फोहर जम्मा गर्ने ड्रप गर्ने छ।’

यतिमात्र होइन, फोहोर व्यवस्थापनका लागि काम गर्ने ठाउँको पनि त्यतिकै अभाव भएको उनले सुनाइन्। ‘फोहोर छान्न तथा फोहोर झिकेर रि–साइक्लिङमा पठाउनका लागि जमिन दिइँदैन। तर सरकारको सारा ध्यान फोहर फाल्ने जमिन खोज्नमा छ’, सिलसिला थप्छिन्, ‘त्यसको सट्टा ल्याण्डफिल्ड साइटको भरमा नपरेर जहाँबाट फोहोर निस्कन्छ त्यसको नजिकै फोहर प्रशोधन गर्नलाई जग्गा उपलब्ध गरायो भने त्यहाँबाट धेरै फोहर पुनः प्रयोगका लागि पठाउन सक्छौं।’

सरकारले फोहर व्यवस्थापनमा काम गर्ने या प्रशोधन गर्न चाहने उद्यमीहरुलाई ढुक्कसँग काम गर्ने वातावरण बनाइदिन उनले आग्रह गरिन्। ‘जसले फोहोर व्यवस्थापनको काम गर्न चाहन्छन्। उनीहरुलाई जग्गा नै उपलब्ध छैन। जहाँ गए पनि त्यहाँको बस्तीले विरोध गर्छ’, उनको गुनासो थियो, ‘सरकारले खासमा के गर्नु पर्यो भने निश्चित क्षेत्र छुट्याएर यस जग्गामा यति समयका लागि काम गर्ने वातावरण बनाइदिनु पर्‍याे।’

सरकारले जग्गा उपलब्ध गराउँदा टोलबासीले पनि विरोध नगर्ने उनको भनाइ छ। यस्तै फोहोर छुट्याउने र रि–साइक्लिङ गर्ने यो आफैमा प्राविधिक काम हो। काम जानेको इच्छुकलाई सहयोग गर्नुपर्ने उनले बताइन्। यसका लागि सरकारले आफूहरु जस्ता उद्यमीहरुसँग सम्झौता गर्नुपर्ने पनि उनको भनाइ छ।

कामदारका लागि कसरी काम गर्दै हुनुहुन्छ ?

आफूहरुले यस क्षेत्रमा काम गर्ने कामदारलाई सही मूल्य दिने गरेको उनले बताइन्।

‘यहाँ काम लाग्ने मेसिन, लगानी ड्रेस उपलब्ध गराउने र उहाँहरुलाई नै एक तह माथि लग्ने हो। जस्तो पहिले कसैले प्लास्टिकको बोतल यतिकै बेच्नु हुन्थ्यो। त्यति बेला त्यसको मूल्य २०/२२ रुपैयाँ पाउँथे’, उनले भनिन्, ‘अहिले त्यही प्लास्टिकको बोतललाई बेल (मेसिनमा च्याप्ने) गरेर ३० देखि ४० रुपैयाँसम्म पाउँछन्। पहिले छानेर त्यसलाई धेरै प्रोसेसिङ नगरेर कम मूल्यमा बेच्नु पर्थ्यो। अहिले जुन हामीले मेसिनहरु राखेका छौँ। त्यसमा फोहोर च्यापेर ठूला–ठूला रि–साइक्लिङ कम्पनीमा पठाउनुहुन्छ। उनीहरुले यसबाट बढी मात्रा र बढी पैसा पाउने भए। त्यो रोल भने हामीले खेल्छौँ।’

पुस २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्