सर्वोच्चका न्यायाधीश खड्का र सिंहलाई कारबाही गर्न माग गर्दै राणा समक्ष उजुरी

काठमाडौँ – सर्वोच्च अदालतका दुई जना न्यायाधीशलाई कारबाहीको माग गर्दै न्याय परिषदमा उजुरी परेको छ। कानुन व्यवसायी हकहित संरक्षण तथा शुद्धिकरण अभियानका संयोजक अधिवक्ता शिव सत्यालले न्याय परिषदमा उजुरी दर्ता गराएका हुन्।

अभियानका तर्फबाट सत्यालले सर्वोच्चका न्यायाधीश मिरा खड्का र प्रकाशमान सिंह राउतमाथि छानबिन गरी कारबाही गर्न कारबाही माग गर्दै परिषदका अध्यक्ष प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासमक्ष उजुरी दिएका हुन्।

खड्काले तीन वटा नागरिकता लिएको र सिंहले नेपाल रेडक्रसको मुद्दामा न्यायिक आचरण विपरीत गइ आदेश गरेको आधारमा छानबिन समिति बनाएर छानबिन गर्नुपर्ने उजुरीमा उल्लेख छ।

खड्काले तीन वटा किर्ते नागरिकता बनाए पनि न्याय परिषदलाई दोष दिएर उम्कन खोजेको आधारमा कारबाही गर्नुपर्ने अभियानको माग छ। त्यस्तै सिंहले यसअघि वरिष्ठ अधिवक्ता हुँदा कानुनी सल्लाहकार रहेको रेडक्रसको विषयमा आदेश दिएकाले कारबाहीका लागि पर्याप्त आधार भएको जिकिर छ। दुवै न्यायाधीशलाई तत्कालै मुद्दाको सुनुवाईबाट वञ्चित गर्न पनि माग गरिएको छ।

सत्यालले सोमबार राणालाई बुझाएको उजुरीपत्रमा उल्लेख गरिएको छ, ‘यस सम्मानित आयोगबाट उल्लेखित विषयमा छुट्टै छानबिन समिति बनाइ छानबिन गरी माननीय न्यायाधीश मीरा खडकाको हकमा नागरिकता किर्ते गरी यसै परिषदलाई नै दोष लगाएकोले निजलाई पदमुक्त गरी नागरिकता किर्ते मुद्दा चलाउन सम्बन्धित प्रहरी कार्यालयमा पत्राचार गरी, माननीय न्यायाधीश प्रकाशमान सिंह राउतले आफ्नो स्वर्थ बाझिने मुद्दा हेरी सुनुवाइ गरेकोले न्यायाधीशको आचरसंहिता विपरित गर्नुभएको कार्य सम्मानीत सर्वोच्च अदालतको मान मर्यादा प्रतिष्ठामा गम्भीर क्षति पुग्ने कार्य गर्नु गराउनु भएकोले निजहरुलाई इजलास तोक्ने कार्य, निजले पेशी व्यवस्थापनका लागि गोला तान्ने कार्यलगायत न्यायिक निरोपणका कुनै पनि कार्यमा संलग्न हुनबाट रोक लगाई निजहरुका हकममा आवस्यक छानबिन गरी कानुन बमोजिम कारबाही गरी पाउन विनम्र अनुरोध गरिन्छ।’

अभियानले नेपाल बारको गैरसंवैधानिक आन्दोलनलाई न्यायाधीशका रुपमा इजलास नै बहिष्कार गरेर सहयोग गरेकाले पनि कारबाही हुनुपर्ने तर्क अघि सारेको छ। शुद्धिकरण अभियानले प्रधानन्यायाधीश राणाको राजीनामा माग्ने आन्दोलनको विरोध गर्दै आएको छ।

पुस २६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्