हेलम्बु–मेलम्ची विपद : कृषि क्षेत्रमा जलवायुजन्य हानिनोक्सानी

खेतमा नदी, रित्तो भकारी

मेलम्ची नदीका दुवै किनारका बस्ती तथा खेतमा बाढीले गम्भीर क्षति गरेको छ । तस्बिर :प्रभात खनाल/देश सञ्चार
Copy to clipboard
Copied!

सिन्धुपाल्चोक (मेलम्ची, हेलम्बु) – पासाङ शेर्पा जोत्दै गरेको हल रोकेर कुरा गर्न राजी भए। पुस महिनाको दोस्रो हप्ता, हेलम्बु क्षेत्रमा जाडो छ। तर हल गोरुलाई मिलाएर बारीको छेउकुना नछुट्ने गरी जोत्दा उनलाई पसिना आइसकेको थियो।

मध्यान्ह हुँदै गर्दाको पारिलो घाम पनि चर्का लाग्न थालेको थियो। पासाङ आलीमा बसे। छेउमै बसिन् उनकी श्रीमती दावा डोल्मा शेर्पा। हलगोरु पछिपछि दावाले डल्ला फुटाउँदै थिइन्। शेर्पा दम्पतीले आलु लगाउने तयारी गर्दै थिए।

‘यो दुई रोपनी जति छ, आलु लगाउन जोतेको’, ४९ वर्षका पासाङले भने, ‘हिउँदको बाली त थन्काउन पाइन्छ होला, बर्खाको भर छैन।’ गएको बर्खामा आएको बाढीले गरेको क्षतिपछि उनलाई आउने वर्षायामसँग पनि डर बढेको छ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ हल्देका शेर्पा दम्पतीले आलु लगाउन तयार गरेको गह्रा तल अर्को दुई–तीन गह्रामा गहुँ हुर्किँदै छ। त्यसपछि बगर छ आँखाले भ्याउनेसम्म। ‘बाढीले खेत बगायो, पहिला त उ त्यो गाडी हिँडे बाटोसम्मै खेत थियो’, अहिले हेर्दा विशाल नदी किनारको बगर जस्तो देखिने क्षेत्र देखाउँदै दावा डोल्माले भनिन्, ‘खोला पारि पनि खेत थियो। धान फल्थ्यो, अहिले गहुँ तथा आलु फलिरहेको हुन्थ्यो।’

सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र प्रवेश गरेदेखि हेलम्बुसम्मै नदीका दुई किनारमा अहिले निकै कम खेत देखिन्छ। अधिकांश क्षेत्रमा ठूला–साना ढुंगा, बालुवा, बाढीले बगाएका रुखका बौरेठा (दाउरा) र भत्किएका घरका भग्नावशेषमात्रै छन्। बाँकी बसेका खेतका गह्रा पनि कटान हुँदै गएका वा जोखिममा छन्। शेर्पा दम्पती जस्ता किसानले ती जोगिएको जमिनमा खेती गर्न छोडेका छैनन्।

पासाङ र दावा शेर्पा । उनीहरुको धान फल्ने खेत बाढीले पुरेको छ । बाँकी बसेको खेतमा आलु लगाउने तयारी गर्दै ।तस्बिर : प्रभात खनाल/देश सञ्चार

दावा डोल्माको घरमा आँगन छैन, बगर बनेको छ। आँगनैमा रहेको पानीको धारा बाढीले पुर्‍यो। दायाँ–बायाँका घर भत्किएका छन्, भग्नावशेषमात्रै देखिन्छ। ‘गएको असारमा बाढी आउनुअघिसम्म यो बस्ती कस्तो राम्रो थियो। खेतीपाती हुन्थ्यो’, दावाले भनिन्, ‘अहिले ढुंगामात्रै देखिन्छ, कि त बालुवामात्रै। पत्याउन मुस्किल छ अहिले।’

शेर्पा दम्पतीको राम्रो धान फल्ने चार रोपनी खेतको अहिले नामोनिशान छैन। ‘त्यो केराको गाँजभन्दा तल्लोपट्टि खेत थियो’, आलीमा बसेका पासाङले बगर देखाउँदै भने, ‘अब ९ रोपनी जति बाँकी छ, त्यो पनि अर्को बर्खामा के हुने हो?’

गएको असार १ र साउन १६ गतेको बाढीले मेलम्ची तथा हेलम्बु क्षेत्रमा मानवीय तथा भौतिक क्षति गर्‍यो। त्यो बाढीले ठूलो र दीर्घकालीन क्षति कृषि क्षेत्रमा गरेको छ। सुरुवाती प्राथमिकता मानवीय तथा तत्कालीन भौतिक सम्पत्तिको रक्षामा केन्द्रित भयो। किसानलाई परेको मर्काबारे खासै चर्चा भएन र अहिले पनि हुन सकेको छैन।

शेर्पा दम्पतीलाई अहिलेको चिन्ता खनजोत गर्दै आएको जमिन नै नभएपछि खाद्यान्नको व्यवस्था कसरी होला भन्ने हो। यो उनीहरुको मात्रै होइन, मेलम्ची नदीमा गेग्रानसहित आएको बाढीले बगर बनाएको खेतबारीका सम्पूर्ण स्थानीय किसानको हो।

मुठी अन्न भित्रिएन

‘बर्खाको बाढीको धेरै चर्चा भयो, धेरैले मेलम्ची भने, त्यही रुपमा चिनियो’, हेलम्बु–२ किउल ज्यामिरेका शम्भुनाथ गुरागाईंले भने, ‘तर विपद तल (मलेम्ची) मा भन्दा यता हेलम्बुमा विरक्तलाग्दो गरी भएको छ। मान्छे बिते। घरबास उठ्यो। गरिखाने खेतमा खोला हिँड्यो।’

शम्भुनाथका तीन दाजुभाइले २०७२ को भूकम्पमा लेक (किउल) मा रहेको घर भत्किएपछि बेसी (ज्यामिरे) मा बसोबास थालेका हुन्। घरमुनि बाटो, बाटोमुनि खेत, त्यसपछि शान्त बग्ने गरेको मेलम्ची नदी, नदीपारि पनि खेत थियो।

भिडियाे स्टाेरी

५० वर्षका शम्भुनाथले भने, ‘राम्रो भइरहेको थियो। दाजुभाइ नजिकै थियौँ। आँगनबाटै खेत देखिन्थ्यो। राम्रो उब्जनी हुन्थ्यो। बर्खामा सबै गयो।’

नदीवारि हेलम्बु–२, नदीपारि वडा नम्बर ६। गुरागाईं दाजुभाइको दुवैतिर खेत थियो। शम्भुनाथका माइलो दाइ ५४ वर्षका शिवराम गुरागाईंले भने, ‘हामी तीन दाजुभाइको करिब १०० मुरी धान फल्ने खेत गयो।’

असार १ गतेको बाढीले आधा खेत बाँकी राखेको थियो। साउन १६ गते त्यो पनि लग्यो। ‘एकधरी धान गोड्ने बेला भएको थियो। अर्कोथरि रोपेको दुई दिन भएको थियो। सुनामी जस्तैगरी उडेर आएको बाढीले केही राखेन’, आँगनको डिलमा ढुंगाको छपनीमाथि गुन्द्रीमा बसेका शिवरामले बगर देखाउँदै भने, ‘कसले पत्याउला त्यो हाम्रो गरिखाने खेत थियो भनेर।’

आँगनको डिलमा बसेको गुरागाईँ परिवार, बाढीले बगर बनाएको खेत घरबाटै देखिन्छ ।तस्बिर : प्रभात खनाल/देश सञ्चार

यो हिउँदमा एकमुठी पनि अन्न भित्र्याउन नपाएको गुरागाईं दाजुभाइले बताए। ‘हामी किसान हौँ, खेतको पुर्जा छ, तर खेत छैन। आधा खेतमा खोला बग्छ, आधा बगर बन्यो’, दाजुभाइले भने, ‘भैँसी पालेका छौँ, घाँस त जेनतेन जोहो हुन्छ। मल छ, खेत छैन।’

विपदले किसानी गर्ने आफूहरुलाई बाह्रै महिना बेसाएर (किनेर) खाने बनाएको उनीहरुले बताए। घरमात्रै बँचेका ठूलो दाइको परिवारले गाउँ नै छोडेको बताउँदै शम्भुनाथले भने, ‘माइलो दाइले पालेको भैँसी अर्काको पाखोमा बान्नु भएको छ। मैले पनि अर्कैको पाखामा छाप्रो हालेर गोठ बनाएको छु। नदी सुसाउँछ, बगर टल्किन्छ, विरक्त लाग्छ मात्रै।’

पालिकाबाट दुई बोरा चामल र टेन्ट सहयोग पाएको भए पनि त्यसयता कसैले खोजीनितो नगरेको गुनासो उनीहरुको छ। खेत के हुने केही थाहा छैन। ‘नदीको बाटो निर्धारित भए पनि खेत बिराउन सक्ने अवस्था छैन। १५–२० मिटरसम्म गेग्रान थुप्रिएको छ’, शम्भुनाथले भने, ‘अब आउने बर्खामा यो घरै पो जान्छ कि भन्ने पिर छ। यति जोगाउने उपाय लाइदिए हुने।’

खान दिने खेत नभए पनि बास त बाँकी छ भनेर चित्त बुझाएका आफूहरुलाई बाटोमुनि आएको नदीले त्रसित बनाएको उनीहरु बताउँछन्।

नदीले निल्यो खेत

हेलम्बु–मेलम्ची क्षेत्रमा गत वर्षायाममा गएका दुईवटा ठूलो बाढीले ठूलो क्षति गर्नुको कारण खोलामा पानीको बहाव अत्यधिक हुनुमात्रै नरहेको अहिलेसम्म भएका अध्ययनहरुले देखाएका छन्।

असार १ गतेको बाढीपछि अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले गरेको अध्ययन तथा साउन १६ गतेको बाढीलाई समेत समेटेर खानी तथा भूगर्भ विभागको टोलीले गरेको अध्ययनले मेलम्ची नदीमा पानीसँगै ढुंगा, बालुवा, गिट्टीसहित ठूलो मात्रामा बगेर आउनु घातक बनेको उल्लेख छ।

गेग्रानसहितको बाढीको सुरुवात भएको भेमाथाङमा यो वर्षमात्रै एक करोड ६९ लाख २५ हजार २६० घनमिटर सेडिमेन्ट जम्मा भएकोमा दुई लाख २८ हजार ३०९ घनमिटर सेडिमेन्ट बगेर तल्लो तटीय क्षेत्रमा आएको देखिने विभागको प्रतिवेदनमा भनिएको छ।

यसरी बगेर आएको मेलम्ची नदीको पानी र त्यसले ल्याएको गेग्रानले हेलम्बुदेखि मेलम्चीसम्मका नदी किनारका अधिकांश खेतीयोग्य जमिनलाई बगर तथा नदीको मार्ग बनाएको छ।

खाद्यन्नबाली, व्यवसायिक तरकारी खेती तथा ट्राउट माछाका फार्महरु बाढीले बढार्यो। खेतमा खोला पस्यो। मेलम्ची नगरपालिका–११ दोभानटारका राजकुमार श्रेष्ठको खेत अहिले मेलम्ची नदी हिँड्ने बाटो भएको छ। असार १ गतेसम्म त्यहाँ व्यवसायिक तरकारी खेती थियो।

नदी बग्दै गरेको र बगर बनेको क्षेत्र राजकुमार श्रेष्ठको खेत थियो बाढी आउनुअघि ।तस्बिर : प्रभात खनाल/देश सञ्चार

‘नदी गहिरो थियो, उ कुनाबाट बग्थ्यो’, अहिले बग्दै गरेको मेलम्ची नदीको किनारमा उभिएर श्रेष्ठले भने, ‘अहिले यति माथि आयो नदी, हाम्रो खेत नै बीचबाट निल्यो। खेत वारिपारि भएको छ। आधा बगर भयो, आधी नदी।’

हेलम्बुबाट मेलम्चीसम्मका नदी किनारका खेत बगे, केही बगर बने। तर किसानलाई भने अझै पनि नदीलाई पुरानै बाटोमा लैजान सके बगर बिराएर फेरि खेत बनाउन सकिन्थ्यो कि भन्ने आश छ। श्रेष्ठले त्यसै भने। उनलाई आफ्नो खेतमा बगेको मेलम्ची नदीलाई पुरानो बाटोमै लगिदिए अरु केही गरिदिनु पर्दैन। तत्काल नदीलाई पुरानो धारमा फर्काउने सम्भावना छैन। त्यसमाथि १५ देखि २० मिटरसम्म जम्मा भएको बालुवा, पहाड जत्रा ढुंगा पन्छाउन पनि सकिने देखिँदैन।

कृषि र किसान ओझेलमा

मेलम्ची–हेलम्बु बाढीपछि भएका स्थलगत अनुगमन तथा अध्ययनहरुले सो घटनालाई बर्खाको विपदका रुपमा मात्रै व्याख्या गरेका छैनन्। विश्वव्यापी रुपमा भइरहेको तापमान वृद्धि र त्यसले निम्त्याएको जलवायु परिवर्तनका कारण उत्पन्न परिवेशले विपदलाई भयानक बनाउन सहयोग गरेको र क्षतिलाई ठूलो गराएको विज्ञ तथा अध्ययन प्रतिवेदनले बताएका छन्।

जलवायुजन्य हानिनोक्सानीसँग मेलम्ची–हेलम्बुको विपदलाई जोड्नुपर्ने उनीहरुले निरन्तर बताउँदै आएका छन्। सरकारले गएको नोभेम्बरमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप २६ मा मेलम्ची–हेलम्बु विपदलाई जलवायुजन्य हानिनोक्सानीको प्रमाणका रुपमा प्रस्तुत गरेको थियो।

तर स्थानीय किसानहरु भने आधा वर्ष बित्दा पनि आफूहरुले थाहा पाउने वा महसुस गर्ने गरी सरोकारवाला निकायबाट सहयोग त परको कुरा सान्त्वनासमेत नपाएको बताउँछन्। हल्देका शेर्पा दम्पती, किउलका गुरागाईं दम्पती हुन् या मेलम्ची दोभानटारका राजकुमार श्रेष्ठ, उनीहरु र उनीहरुजस्ता किसानको गुनासो कसैले आफूलाई सोध्न पनि नआएको भन्ने छ।

मेलम्ची नगरपालिकाका नगर प्रमुख डम्बरबहादुर अर्यालका अनुसार आफूहरुको पहिलो प्राथमिकता ज्यान र भौतिक सम्पतीको रक्षामा केन्द्रित गर्नु परेकाले किसानसम्म पुग्न समय लागेको हो। ‘अब नदी वा बगर बनेका खेत र त्यसमा आश्रित किसानसम्म पनि पुग्छौँ’, नगर प्रमुख अर्यालले भने, ‘तर हामीसँग भएको स्रोतले पुग्ने अवस्था भने छैन।’

मेलम्ची नगरपालिकासँग गएको बर्खामा आएको बाढीले नगरभित्र कति खेतीयोग्य जमिनमा क्षति ग¥यो भन्ने यकिन तथ्यांक छैन। तर विवरण संकलनको काम भइरहेको र खेतीयोग्य जमिन बगरमा परिणत भएका प्रतिपरिवारलाई १० हजारका दरले राहत उपलब्ध गराउने तयारी भइरहेको नगरपालिकाले जनाएको छ।

वर्षभरिका लागि खाद्यान्न उब्जने जमिन गुमाएकाहरुलाई १० हजार राहत कम हुने जानकारी रहेको तर आफूहरुसँग सीमित स्रोतमात्रै हुने भएकाले प्रदेश तथा संघीय सरकारसँग सहयोगका लागि आग्रह गरिएको नगर प्रमुख अर्यालको भनाइ छ। तर उनको भनाइ र अहिलेसम्म भइरहेका कामहरु हेर्दा किसानले सहसुस गरे जस्तै कृषि र किसान बेवास्तामा रहेको स्पष्ट हुन्छ।

हेलम्बु गाउँपालिकासँग भने हालै गरिएको सर्वेक्षणअनुसार पालिकाभित्र कति खेतीयोग्य जमिन बगर बन्यो भन्ने लगभगको तथ्यांक छ। पालिकाले उपलब्ध गराएको तथ्यांकअनुसार हेलम्बुभरमा २१ सय रोपनीभन्दा बढी खेत बगरमा परिणत भएको छ। १० वटा ट्राउट माछा फार्म सोत्तर भएका छन्। तर अहिलेसम्म किसान र बगर बनेको खेतीयोग्य जमिनका सम्बन्धमा के गर्ने भन्ने यकिन नभएको हेलम्बु गाउँपालिकाले जनाएको छ।

के गर्न सकिन्छ?

मेलम्ची नदीका दुवै किनारका अधिकांश खेत बगे, बाँकी खेतमा बाली लगाइएको छ, तर किसान भने आउँदो बर्खा सम्झेर अहिलेदेखि नै चिन्तामा छन् ।तस्बिर : प्रभात खनाल/देश सञ्चार

पछिल्लो समय सार्वजनिक भएका प्रतिवेदनहरुले जलवायुजन्य अतिशय विषम घटनाको मात्रा तथा सघनता बढ्दै जाने र त्यसको प्रभाव प्रत्यक्ष रुपमा जनजीविकामा पर्ने उल्लेख गरेका छन्।

क्रिष्टियन एडले गएको नोभेम्बरमा सार्वजनिक गरेको ‘लस एण्ड ड्यामेज : अ स्टडी अफ द इकोनोमिक इम्प्याक्ट अफ क्लाइमेट चेन्ज अन भल्नरेबल कन्ट्रिज’ नामक अध्ययन प्रतिवेदनअनुसार तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित हुँदा पनि सन् २०५० सम्ममा नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा १३.१ प्रतिशतले गिरावट आउने छ।

जलवायु परिवर्तनसम्बन्धी अहिलेका प्रयासहरुलाई विश्लेषण गर्दा यही अवस्था कायम रहने हो भने जीडीपीमा आउने गिरावट १९.६ प्रतिशत हुने प्रतिवेदनमा उल्लेख छ।

यसैगरी यो शताब्दीको अन्त्यसम्ममा तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित गर्न सकिएको अवस्थामा नेपालको जीडीपीमा ३३.२ र अहिलेकै क्रम जारी रहेमा ६४.७ प्रतिशतले गिरावट आउने उल्लेख गरिएको थियो।

नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा अहिले २३ प्रतिशतभन्दा बढी योगदान कृषि क्षेत्रको छ। घटनाक्रमहरुले नियमित तथा जलवायुजन्य घटनाले सघन बनाएका विपत्तिको प्रभाव कृषि क्षेत्रमा गम्भीर रुपमा पर्दै गएको देखाएका छन्।

मेलम्ची–हेलम्बु क्षेत्रको बाढीले खेतीयोग्य जमिन नै बगरमा परिणत गर्दा यो वर्षमात्रै नभएर आउँदा वर्षहरुका लागि पनि उत्पादन अनिश्चित बनेको छ। यस्तै गएको कात्तिक पहिलो हप्ता परेको पानीका कारण विशेष गरी पश्चिम नेपालमा भित्र्याउने बेला भएको धानबालीमा गरेको क्षति पनि ताजै छ।

यी सबै घटनाले गर्दा यो वर्ष धान उत्पादनमा गिरावट आएको हालै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। यो वर्षको धान उत्पादन पछिल्लो पाँच वर्षयताकै कम रहेको र यस्तो हुनुमा भित्र्याउने बेला परेको पानी तथा खेतीयोग्य जमिनमा भएको क्षति कारक रहेको उल्लेख छ।

नेपाल सरकारका पूर्वसचिव तथा जलवायु परिवर्तन र कृषि क्षेत्रमा यसको प्रभावका सम्बन्धमा अध्ययन गरेका डा गणेशराज जोशीका अनुसार कृषि र किसानका मुद्दामा आवश्यक ध्यान सरकारवाला निकायबाट जान सकेको छैन।

‘कृषिमा जलवायु परिवर्तनको प्रभावलाई लिएर नेपालमा विस्तारित अध्ययन भएको पाइँदैन। तर सामना गर्नु परेका घटनाक्रमहरुले भने गम्भीर संकटतर्फ उन्मुख भएको देखाउँछन्’, डा रेग्मीले भने, ‘कृषि क्षेत्रमा पर्ने असर भने चक्रीय हुन्छ। किसानको जिविकोपार्जन हुँदै देशको खाद्य सुरक्षामै गम्भीर चुनौती आउँछ। आयात बढाउँछ, जुन परनिर्भरताको कारक बन्न सक्छ।’

जलवायुजन्य हानिनोक्सानीको मुद्दा प्रमाणसहित अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुका साथै सरकारले आन्तरिक रुपमा किसानलाई जलवायुमैत्री बनाउन अनुकूलनका काम गर्नु पर्ने उनले बताए।

जलवायु परिवर्तन अनुकूलन तथा विपद न्यूनीकरणका क्षेत्रको अध्ययन तथा विश्लेषणमा सक्रिय रहँदै आएका डा धर्मराज उप्रेतीका अनुसार जलवायुजन्य हानिनोक्सानीको प्रभाव कृषिमा पर्दा त्यसले समग्र खाद्यचक्र र जीविकोपार्जनमै गम्भीर असर गर्छ।

‘हामीले हेलम्बु–मेलम्ची, मनाङ तथा कात्तिकमा परेको पानीका कारण धानबालीमा गरेको हानीलाई मध्यनजर गरेर किसान लक्षित बहसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा मूलधारमा ल्याउनु पर्ने हुन्छ’, डा उप्रेतीले भने, ‘जोखिमको अग्रपंक्तिमा रहेका र खाद्य सुरक्षाको मेरुदण्डका रुपमा रहेका किसानका सवालका सम्बन्धमा अध्ययन सँगसँगै सहयोग र अनुकूलनका लागि विकल्पहरुको खोजीमा केन्द्रित हुनु पर्ने बेला आएको छ।’

(यो सामग्रीमा प्रयोग भएका तस्बिर तथा भिडियो देश सञ्चारका प्रभात खनालले खिचेका हुन् ।)

पुस २४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्