कुहिरो आयो भने अनि म लड्ने छैन

बाक्लो कुहिरो थियो

म बाटोमा थिएँ

बाटो साँगुरो थियो

डिलबाट झन्डै

नखसेको हिजो

 

बाटोको डिल जस्तै

साँगुरो भएको भए यो दिल

सायद म हिजो खस्ने थिएँ

नखसेर नै आज

डिल र दिल नाप्ने

एउटा मापनको

फित्ता खोजिरैछु

 

कुनै दिन भेटियो भने

डिल र दिल नाप्ने फित्ता

हेर डिल तेरो चौडाइ नापेर

मेरो दिलजस्तै

फराकिलो बनाइदिन्छु

फोरेर त्यो डिल

बाटो बनाइदिन्छु

 

कुहिरो आयो भने

अनि म लड्ने छैन

त्यो डिलबाट लड्ने छैन

पुस ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्