उत्साहसँगै प्राकृतिक बासस्थान मासिँदै गएकोमा चिन्ता

देवदूत मणितुण्डक, काठमाडौँकाे टाैदहमा पहिलाेपटक देखिएकाे आगन्तुक चरा

टौदहमा देखिएको देवदूत मणितुण्डक । तस्बिर : मोहनबिक्रम श्रेष्ठ

काठमाडौँ – देवदूत मणितुण्डक चराको एउटा पोथी अहिले काठमाडौँको कीर्तिपुर नगरपालिका–१५ मा रहेको टौदहमा विचरण गरिरहेको देखिन्छ। अंग्रेजीमा स्मिउ भनिने हाँस प्रजातिको यो चराको वैज्ञानिक नाम मार्गेलस एबिलस हो। नेपालका लागि हिउँदे आगन्तुक चराका सूचीमा रहेको देवदूत मणितुण्डक पहिलोपटक काठमाडौँ उपत्यकामा औपचारिक रुपमा अभिलेख गरिएको हो।

काठमाडौँको दक्षिणी भेगमा रहेको टौदह विशेष गरी हाँस प्रजातिका अर्थात जलमा विचरण गर्ने चराहरुका लागि आकर्षक बासस्थानका रुपमा रहँदै आएको छ। साइबेरियासहितका उत्तरी क्षेत्रबाट अत्यधिक चिसो छल्नका लागि हिउँदको समयमा बसाइँ सरेर आउने हाँस प्रजातिका चराहरुको गन्तव्य र विशेष गरी ‘ट्रान्जिट’ वा ‘पासेज’ बासस्थानका रुपमा रहँदै आएको छ।

टौदहमा अहिले देवदूत मणितुण्डकसँगै कैलोटाउके हाँस, खडखडे हाँस र बिजुलागैरीसहितका आगन्तुक चरा देखिएका छन् ।

विश्व प्रकृति संरक्षण संघ(आइयुसिएन) ले देवदूत मणितुण्डकलाई कम ध्यान दिइएको सूचीमा राखेको छ। खतराको नजिक नपुगे पनि देवदूत मणितुण्डक चराको संख्या भने विश्वमा धेरै छैन। वेटल्याण्ड इन्टरनेशनलको सन् २०१५ को तथ्यांकअनुसार विश्वभर स्मिउ अर्थात देवदूत मणितुण्डकको संख्या एक लाख ३० हजारको हाराहारीमा रहेको छ। यस्तै बर्डलाइफ इन्टरनेशनलको सन् २०१५ को तथ्यांकअनुसार युरोपमा यसको संख्या ३५ हजारसम्म छ।

फिरन्ते प्रवृत्तिको यो चरा नेपालका अरु क्षेत्रमा यसअघि अभिलेख गरिएको भए पनि काठमाडौँ उपत्यकामा भने पहिलोपटक देखिएको नेपाल पक्षी संरक्षण संघले जनाएको छ। कञ्चनपुर, कोशी टप्पु, चितवनसहितका क्षेत्रमा हिउँदको समयमा देखिने देवदूत मणितुण्डक यो मंसिरमा टौदहमा देखिएको हो।

टौदहमा देवदूत मणितुण्डकसँगै कैलोटाउके हाँस र बिजुलागैरी चरा । तस्बिर : मोहनबिक्रम श्रेष्ठ

पहिलोपटक मंसिर २५ गते माइकल ग्रन्वलले टौदहमा देवदूत मणितुण्डकको तस्बिर खिचेका हुन्। उनले सो तस्बिर इबर्डमा राखेका छन्। अहिलेसम्मको तथ्यांकमा काठमाडौँमा यो चराको पहिलो औपचारिक अभिलेख भएको यो पहिलो पटक हो। त्यसपछि पुस ४ गते टौदहमै शंकर तिवारीले देवदूत मणितुण्डक चराका तस्बिर खिचेर इबर्डमा राखेका छन्। राजेन्द्र गुरुङले पनि पुस ४ गते खिचेका तस्बिर इबर्डमा राखेका छन्।

टौदह पुगेर स्मिउको अवलोकन नेपाल पक्षी संरक्षण संघका अनुसन्धान अधिकृत मोहनविक्रम श्रेष्ठका अनुसार एउटामात्रै चरा देखिएको हो। ‘देवदूत मणितुण्डकको एउटामात्रै पोथी टौदहमा देखिएको हो’, उनले भने, ‘नेपालका लागि आगन्तुक चराको सूचीमा रहेको स्मिउ देशका अरु क्षेत्रमा विगतमा देखिएको भए पनि काठमाडौँ उपत्यकामा भने पहिलोपटक अभिलेख भएको हो।’

चिसो छल्नका लागि दक्षिणतिर बसाइँ सर्ने क्रममा आफ्नो हुलबाट छुट्टिएर वा अरु आगन्तुक चराको हुलमा मिसिएर टौदहमा बसेको हुन सक्ने उनले बताए। यो चरा कुनै अवरोध नभएको अवस्थामा हप्ता–दश दिन एउटै स्थानमा बस्ने गर्छ। नेपालका तराई तथा भारतसम्मको यात्राका लागि हिउँदे आगन्तुक चराहरु टौदहमा केही दिन बसेर आहार खोज्ने र थकाइ मार्ने गरेका छन्।

श्रेष्ठले भने, ‘देवदूत मणितुण्डक नेपालमा विरलैमात्र आउने आगन्तुक चरा हो। तर टौदहमा यो पटक देखिनुले अझै पनि चराहरुले आफ्नो सम्भावित बासस्थानका रुपमा यसलाई राखेको मान्न सकिन्छ। तर यस्ता बासस्थानको संरक्षण भने चुनौतीपूर्ण छ।’

टौदहमा देवदूत मणितुण्डक र कैलोटाउके हाँस । तस्बिर : मोहनबिक्रम श्रेष्ठ

चराका प्राकृतिक बासस्थान मानवीय कारणले कमजोर भइरहेको छ। ‘तर अझै पनि चरा आइरहेका छन्। उनीहरुले हाम्रो ठाउँ जोगाइदेउ भनेका छन्, हामीले उनीहरुको यो अवाज सुन्न ढिला गर्नु हुँदैन’, अनुसन्धान अधिकृत श्रेष्ठले भने, ‘टौदहमा स्मिउ अभिलेख हुनुले उनीहरुको बासस्थान जोगाउन हाम्रा लागि झकझक्याइ हो जस्तो लाग्छ।’

देवदूत मणितुण्डकले नेपालमा बच्चा कोरल्दैन, हिउँद बिताएर उ फेरि आफ्नो स्थायी बसोबास स्थलमा फर्किन्छ। तर यस्ता चराको संरक्षणका लागि हिउँदको समयमा बसाइँ सरेर आउने नेपालसहितका देशमा उपयुक्त बासस्थानको संरक्षण अत्यावश्यक हुने उनले बताए।

पछिल्ला वर्षहरुमा मानवीय गतिविधिका कारण चराका लागि उपयुक्त बासस्थानका रुपमा चिनिने गरेको टौदह अतिक्रमणमा पर्दै गएको भन्दै संरक्षणकर्मीले चिन्ता व्यक्त गर्ने गरेका छन्। कीर्तिपुर नगरपालिका ६ का अध्यक्ष न्हुछेबहादुर महर्जनले आफूहरुले टौदहको स्वरुप बिग्रिन नदिनका लागि काम गर्ने योजना बनाएको बताए।

‘विगतमा जथाभावी अतिक्रमण तथा प्राकृतिक स्वरुप बिग्रने गरी निर्माण भयो। फोहोर पानी पनि फालियो’, उनले भने, ‘त्यसलाई रोकेर सक्दो संरक्षण तथा प्राकृतिक स्वरुप नबिगार्ने गरी वडाबाट टौदह संरक्षण योजना बनाइरहेका छौँ।’

वडाध्यक्ष श्रेष्ठले काम भइरहेको बताए पनि कीर्तिपुरका नगर प्रमुख रमेश महर्जनले भने नगरपालिकास्तरबाट टौदह संरक्षणकै लागि भने हाल विशेष कार्यक्रम नरहेको बताए ।

टौदहमा खडखडे हाँस । तस्बिर : मोहनबिक्रम श्रेष्ठ
पुस ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्