आफ्नै परिचय भएका साहित्यकारलाई किन चाहियो सरकारको परिचयपत्र?

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले संस्कृतिविद् सत्यमोहन जोशीलाई साहित्यकार परिचयपत्र दिए। त्यो सरकारले दिएको परिचयपत्र हो। सत्यमोहन जोशीको परिचय सरकारलाई हिजोमात्र थाहा भएछ। त्यस्तै, अन्य व्यक्तित्वलाई पनि प्रदान गर्‍यो। सबै जनताबीच चिरपरिचित साहित्यकारहरु हुन् उनीहरु।

उनीहरुले खेलेको मुलुकप्रतिको भूमिका, घामपानी अनि आरोहअबरोहको अवमूल्यन गर्दै सरकारले भएको र पाएको परिचयसमेत खतम बनाउन खोज्यो। सरकार गम्भीर गल्ती गर्दै छ यो मामिलामा।

कलाकार, साहित्यकार र सर्जकले आफ्नो परिचय आफैँ निर्माण गर्छन्। उनीहरुले निर्माण गरेको जगलाई परिचयपत्रको बहानामा मक्याउने दुस्साहस भएको देख्दा दुख लागेको छ।

सामान्य हिसाबले सोचौं- सत्यमोहन जोशी सरकारले अहिले परिचय दिएर परिचत बनाउनुपर्ने व्यक्तित्व होजस्तो मलाइ लाग्दैन। उनी हरेकको मनमनमा छन्।

आवेदन दिएर सर्जक हुनुपर्ने यो कहाँको चलन हो ? के थिति बसाल्न खोजेको हो? व्यापक छलफलको विषय बन्नुपर्दछ। प्राज्ञिक निकायले लहडबाजीमा यो प्रस्ताव गरेर सरकारलाई बाध्य पारेको मलाई महसुस भएको छ। सरकार पनि विद्वानहरु ले भनेको कुरा हो कि क्या हो भनेर निर्णयमा पुग्यो भन्ने लाग्छ मलाई। ती विद्वान अनि प्राज्ञ चाहिँ कस्ता हुन्, साहित्यकार बन्न आवेदन दिन आऊ भन्ने। नेपालको साहित्य र सिर्जनाको नमज्जाले धज्जी उडेको छ।

मुलुकमा मजाकका बिषय धेरै थिए। साहित्यकार अलि कलाकर्मीलाई परिचय पत्र दिएर रकेटझैँ मज्जाले उडाए। बेलैमा संवेदनशील बनी सरकारलाई परिचयपत्र वितरण कार्य रोक्न म अपिल गर्दछु। यसले नेपालको साहित्य र कलामा दीर्घकालीन असर गर्ने प्रष्ट छ।

क्षमताले बन्ने भन्दा चाकडीले जन्मनेको संख्या बढ्न जान्छ। आखिर चाकडीको कारण देश नै बर्बाद भएको छ। त्यस्तै साहित्यलाई बर्बाद पार्न कहाँ पाइन्छ? साहित्यकारले आफ्नो परिचय आफैँ बनाउँछन्। दिएको परिचय स्वीकार्य छैन। सर्जकको मानमर्दन गर्न पाइँदैन। बरु साहित्यको बजारको ब्यबस्थापन कसरी गर्ने, त्योतिर सरकार लागोस्। हामीले निर्माण गरेका फिल्म कहाँ देखाउने,   त्यसको बजार खोजौँ। कला र संस्कृतिको सम्बर्द्धन एबम प्रबर्द्धन गरौं।

सबै मिलौँ। सर्जकलाई सम्मानजनक बाँच्ने वातावरण निर्माण गरौँ। सर्जकलाई देख्नेबित्तिकै एक फड्को अगाडि सोचौं। यो तरिका बिर्सेर, अवस्था र परिस्थिति बिपरीत गई सरकारले निर्णय गर्छ भने म परिचयपत्र वितरण कार्यको घोर विरोध एबम भर्त्सना गर्दछु।

(सिम्खडा कलाकार, साहित्यकार र लेखक हुन्।) 

कात्तिक २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्