ओलीले इन्चार्ज घोषणा गरेका भट्ट पार्टीको काममा पुगे सुदूरपश्चिम, रावल अझै अस्पष्ट

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमको इन्चार्ज आफू नै भएको घोषणा गरिदिएपछि लेखराज भट्ट पार्टीलाई गतिशिल बनाउने भन्दै सुदूरपश्चिम हानिएका छन् ।

एमाले उपाध्यक्ष रावल माधवकुमार नेपाल समूह त्यागेर ओलीसँग मिसिएका थिए । उनले सुदूरपश्चिमको इन्चार्ज आफू हुनुपर्छ भन्ने माग अघि सारे पनि पार्टी एकताको मर्म अनुरुप भट्ट नै त्यहाँको इन्चार्ज भएको घोषणा आइतबार ओलीले गरेका थिए ।

त्यसपछि केही नबोली रावल बालकोटाबाट बाहिरिएका थिए । पछि एमाले संसदीय दलको बैठकमा सामेल नभएका रावल साँझपख सिंहदरबारमा आफू निकट केही सांसदहरुसँग बसेका थिए । बैठकमा पछिल्लो पटक ओलीसँग भएको १० बुँदे सहमति कार्यान्वयका लागि अन्तिम प्रयास गनुपर्ने निष्कर्ष निकालिएको थियो ।

भट्ट भने पार्टी अध्यक्षले नै आफू सुदूरपश्चिमको इन्चार्ज भएको घोषणा दोहोर्याएपछि अब काम गर्न बाटो खुलेको भन्दै धनगढीतिर लागेका छन् । उनले भने,‘बीचमा अलिकति बुझाई फरक परेको थियो । भीम रावलजीको पनि त्यस्तो कुनै ठूलो आपत्ति थिएन । आइतबारदेखि अझै स्पष्ट भएको छ । म पार्टीको काममा लागि सकेँ ।’

रावलले आफूले सुदूरपश्चिमको इन्चार्ज नपाए पार्टी त्याग्नुपर्ने अवस्था आउन सक्ने भन्ने अभिव्यक्ति आफू निकट बैठकमा दिएको त्यहाँ सहभागी एक नेताले बताए । तर हतारमा कुनै पनि निर्णय लिने मुडमा रावल नभएको उनको भनाई छ ।

रावलले भने यसबारे कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् । उनले ओलीसँग १० बुँदे सहमति अनुसार एमालेलाई २ जेठ २०७५ मा फर्काउनु पर्ने माग गरेका छन् । नेकपा माओवादी केन्द्रसँग एकता हुनुपूर्व रावल सुदूरपश्चिमको सयोजक थिए ।

तर एमाले ब्यूँतिएपछि रावलसँगको विवाद कायमै रहेका बेला ओलीले सुदूरपश्चिमको इन्चार्ज भट्टलाई बनाएका थिए । त्यही निर्णय नै मान्नुपर्ने अडानमा ओली छन् । अन्य प्रदेशमा १० बुँदे सहमति अनुसार पार्टीमा काम भइरहेका बेला सुदूरपश्चिममा भट्ट र रावलबीच इन्चार्ज बन्ने विषयमा विवाद हुँदा अरु काम ठप्प भएको थियो ।

आफू सुदूरपश्चिम इन्चार्ज भन्दै पार्टीको काममा भट्ट तल झरिसकेको अवस्थामा रावलले अब के गर्छन् भन्ने स्पष्ट आइसकेको छैन ।

भदौ २८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्