फेरिएको तीजबारे सुगारिका केसी भन्छिन्– पहिला बुझेर चाड मनाइन्थ्यो अहिले देखावटी!

पहिले र अहिलेको तीज फरक छ। त्यो बेलाको भन्दा बेला, परिस्थिति सबै फरक भइसके। ३० वर्ष अगाडि र ३० वर्ष पछाडि सबै उस्तै त कहाँ हुन्थ्यो र ! पहिला अहिलेको जस्तो जमाना नै थिएन।

तीज लगायतका पर्व, संस्कृति, ढर्रापन भन्दा पनि एकदमै मनैदखि मनाउने चलन थियो। हुँर्कदै जाँदा हामी सामाजिक सञ्जालको समयमा आइपुग्यौँ । यहाँसम्म आइपुग्दा हाम्रा प्रत्येक संस्कृति, संस्कारहरुले अलिकति भद्दापन पनि दिइरहेका छन्। यस हिसाबमा परिवर्तन पक्कै भएको हो।

पहिला पहिला अर्थ बुझेर चाडपर्व मनाइन्थ्यो भने अहिले देखावटीपनमा, ट्रेन्डमा भाइरल हुनु पछाडि आफ्नो रीतिरिवाज मनाइरहेको पाइन्छ।

समय अनुसार सबै क्षेत्र परिवर्तन हुँदै जानुपर्छ, परिवर्तन सामान्य नियम नै हो। त्यसमा धर्म पनि पर्छ। धर्मको पक्ष लिएको हैन, तर हिन्दु धर्म एकदमै उदार छ, यसले धेरै राम्रा पक्षहरु समेटेको छ। सबैलाई माया गर्नुपर्छ भन्छ र समय अनुसार परिवर्तन हुँदै जानुपर्छ भनेर प्रतिविम्बित गर्ने भएकोले समय अनुसार केही परम्परालाई हामीले परिवर्तन गर्दै लैजानुपर्छ।

तीजमा सानो बेलामा बुझ्दै नबुझी व्रत बसियो। असल श्रीमान पाइन्छ, राम्रो श्रीमान पाइन्छ, जीवन जीउन सहज हुन्छ भनेर आमा, हजूरआमा, काकी, फूपुहरुले सिकाउनुभयो।

ठूलो हुँदै गएपछि चेतनाको स्तर बढ्दै गयो, पढ्दै गइयो। धर्मका विभिन्न पाटाहरुको बारेमा ज्ञान पनि भयो। पछि थाहा भयो, तीजका व्रतका धेरै प्रणाली रहेछ।

केही अपाच्य व्याख्या पनि छन्, जस्तो पञ्चमीको दिनमा हामीले सुन्ने गरेको कथा, महिनावारी श्राप हो, कलंक हो। पापबाट पञ्छिनको लागि हामीले ऋषिको पूजा गर्नुपर्छ अनि वर्षभरीको पाप पञ्चमी पूजाले पखाल्छ । यो कुरामा मलाई विश्वास लाग्दैन।

किनकी मेरो आमाको महिनावारी नभएको भए म जन्मिँदैन थिए, मेरो सासूको महिनावारी नभएको भए मेरो श्रीमान् जन्मिनु हुँदैनथ्यो। म महिनावारी नभएको भए सन्तान जन्माउन सक्दैनथे। त्यसैले यो महिलाको अधिकारलाई खुम्चाउने पूजाको अवधारणा सच्चाउनुपर्छ। बरु खुसीको लागि पूजा गरौँ। किनकी यो प्रक्रिया धेरै नै रोमाञ्चित छ।

जसले आस्थाले व्रत बस्नुहुन्छ उहाँहरुप्रति सम्मान छ। व्रत नबस्नू भन्दिन, त्यो व्यक्तिको नैसर्गिक अधिकार हो। मैले धेरै व्रत बसेको छु। अहिले पनि बस्छु। तर निराहार व्रत भन्दै मेरो शरीरले नधान्ने गरी, परिवारलाई नै दुख हुने गरी बस्दिन। रमाइलो पक्ष हो, रातो लुगा लगाउँने नाच्ने गर्छन्, धेरै पछि परिवारका सदस्यको भेटघाट हुन्छ।

हामी धेरै चाडवर्पहरुको अर्थ नबुझी मनाउने गर्छौ। अझ युवा समुदाय यसबारेमा अनविज्ञ छौँ। कुनै पनि पर्वको महत्व बुझिसकेपछि मनाउन झन् रमाइलो हुन्छ। त्यसले गर्दा हामी विकृति विसंगतितर्फ जाँदैनौ।

हुन त केही विसंगतिलाई हामी रोक्न सक्दैनौँ जस्तो लाग्छ, हामी कसको लागि देखाउने, कसको लागि उश्रृंखल हुने भन्ने कुरा अनुभूत भए यो प्रक्रिया रोकिन्छ भन्ने मलाई लाग्छ। ‘सादापन’ सबैभन्दा ठूलो शक्ति हो।

कोरोनापछि धेरैको सोचमा परिवर्तन पनि आएको छ। परिवार, पैसा कति महत्वपूर्ण रहेछ भन्ने। पोहोरभन्दा कम तडकभडक भएको जस्तो लाग्छ, हामी आशावादी रहौँ।

हाम्रो जीवन हाम्रै हातमा छ, समाजलाई कता लैजाने त्यो पनि हाम्रो जिम्मेवारी हो। म सबैलाई तीजको शुभकामना दिन चाहन्छु। तीजलाई कुनै ‘धर्म’ मान्नेको पर्व भन्दा पनि हामी नेपालीको पर्व भनेर साथै खुसी भएर मनाऔँ। मलाई लाग्छ, जुन पर्वले हामीलाई खुसी दिन्छ, त्यसलाई धर्मको नाम दिएर टाढा राख्न हुँदैन। त्यसैले सादापनमा तीज मनाऔँ, आफ्नो र परिवारको स्वास्थ्यको ख्याल पनि गरौँ।

भदौ २२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्