किन आयो मेलम्चीमा फेरि गेग्रानसहितको भीषण बाढी?

Copy to clipboard
Copied!

काठमाडौँ – पछिल्लोपटक सिन्धुपाल्चोकको हेलम्बु तथा मेलम्ची क्षेत्रमा आएको बाढीको कारण स्पष्ट भएको छैन, तर विज्ञहरु यसमा हिमनदीले बगाएर ल्याउने गेग्रानहरुको मात्रा देखिएको बताउँछन्। प्राप्त तस्बिर तथा भिडियो र स्थलगत हवाई निरीक्षणको क्रममा हेलम्बु गाउँपालिका–१ भेमथाङ क्षेत्रमा खसिरहेको पहिरोमा हिमाली क्षेत्रको गेग्रानको मात्रा अधिक रहेको विज्ञहरुले बताएका हुन्।

विस्तृत अध्ययनका लागि टोलीसहित भेमथाङ जाने तयारीमा रहेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा विपद प्राधिकरणका हाइड्रोलोजिस्ट राजेन्द्र शर्माका अनुसार भेमथाङबाट नदीमा खसिरहेको र नदीले कटान गरिरहेको गेग्रान माथिल्लो हिमाली क्षेत्रबाट हिमनदीले बगाएर ल्याउने जस्तो देखिएको छ।

‘मौसमको खराबीका कारण आइतबार हामी मुहानसम्म जान सकेनौँ। तर मेलम्ची घ्याङसम्म पुगेर हेर्दा र सार्वजनिक भएका तस्बिर तथा भिडियोमा ठूलो गेग्रान बहाव आएको देखिन्छ’ हाइड्रोलोजिस्ट शर्माले भने, ‘पहिरो खसिरहेको माथिल्लो अर्थात शिर क्षेत्रमा ठूलो चउर छ। त्यहाँको गेग्रान पहिले नै आएर जम्मा भएको र अहिले तलबाट नदीले कटान गर्न थालेपछि खस्न थाले जस्तो देखिएको छ।’

भेमथाङको चउरबाट पहिरो जाने तथा तलबाट नदीले कटान गरी गेग्रान खस्ने क्रम देखिएको उनले बताए। झरिरहेको गेग्रान खोलाले भन्दा पनि पहिले (सय वा केही सय वर्ष) नै हिमनदीले बगाएर ल्याएको र हिमनदी पग्लिन थालेपछि जम्मा भएको (थिग्रिएको) अनुमान लगाउन सकिने उनले बताए।

हाइड्रोलोजिस्ट शर्माले भने, ‘त्यत्रो ठूला ढुंगाहरु खोलाले भन्दा पनि हिमनदीले बगाएर ल्याउने हो।’ त्यसरी हिमनदीले बगाएर ल्याएका गेग्रान थिग्रिएर बनेको चउर भेमथाङ हुन सक्ने सम्भावना बढि रहेको उनले बताए।

शर्माले भने, ‘भेमथाङबाट खसिरहेको गेग्रानमा हिमनदीले बगाएर ल्याउने ल्याट्रल मोरेन तथा पग्लिएर हिमताल बन्ने क्षेत्रमा हुने टर्मिनल मोरेन पनि देखिएको छ। यो केही सय वर्ष पहिलेको मोरेन हो।’ भेमथाङमाथि हिमनदीको छापहरु स्पष्ट रुपमा देखिएको हाइड्रोलोजिस्ट शर्माले बताए।

खानी तथा भूगर्भ विभागका भूगर्भविद शिवकुमार बास्कोटाले पनि भेमथाङको शिर क्षेत्रमा अहिले हिमनदी नरहे पनि पुराना हिमनदीहरुको छाप देखिएको बताए। उनले भने, ‘शिर क्षेत्रमा हिमनदीको छाप देखिन्छ। भेमथाङमा पहिले हिमनदी बगेर आउँदै गर्दा पग्लिँदै गएपछि हिमताल बनेको हुन सक्छ। हिमताल सुकेपछि त्यसले चउरको रुप लिएको र हिमनदीले बगाएर ल्याएको गेग्रानले बनेको कमजोर चउर अहिले केही कारणले पहिरोका रुपमा खस्न थालेको हुन सक्छ।’

गेग्रान तहगत रुपमा देखिएकाले सो स्थानमा धेरै पहिले ताल हुनु पर्ने उनले बताए। भूगर्भविद बास्कोटाले भने, ‘मेलम्ची, लार्के, याङ्ग्री खोलाको मुहान ५ हजार ८ सय मिटर भन्दामाथि हिमालबाट सुरु हुन्छन्। केही तल हिमनदी हुन्छन्। प्रष्ट रुपमा अहिले हिमनदी देखिएका छैनन्। तर पहिले हिमनदी रहेको छाप देखिन्छ। तापक्रम वृद्धिसँगै सुकेका हुन सक्छन्।’

भेमथाङबाट अहिले पहिरो तथा नदी कटानका कारण खसिरहेको ढुंगा, गिट्टी, बालुवा तहगत रुपमा रहेको देखिएको भूगर्भविद बास्कोटाले बताए। उनले भने, ‘१००–१५० मिटर मोटाइमा गेग्रान देखिन्छ। एककिलोमिटर भन्दा ठूलो क्षेत्रमा चउर फैलिएको छ।’

आइतबार मेलम्ची क्षेत्रको निरीक्षणमा जानेमा पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसका असिस्टेन्ट प्रोफेसर डा. बसन्त राज अधिकारीले पनि भेमथाङमा पहिले ताल रहेको हुन सक्ने सम्भावना बलियो देखिने बताए। अहिले बाढीमा आएको गेग्रान पहाड भत्केर आउने भन्दा फरक प्रकारको रहेको उनको भनाई छ।

उनले भने, ‘लामो समय डिपोजिट भएर बसेको संरचना खस्दा यस्तो गेग्रान आउँछ। हिमनदीले डिपोजिट गरेको हुनु पर्छ धेरै पहिले। थिग्रानमा तह देखिएकाले सो अनुमान लगाइएको हो।’

हिमनदीले बगाएर तल्लो क्षेत्रमा ल्याएको गेग्रान तथा हिमतालको तल वा बाँध क्षेत्रको गेग्रानसहितका संरचना चट्टान भन्दा कमसल हुने विज्ञले बताएका छन्। सोही कमजोर संरचना अहिले पहिरो वा भारी वर्षाका कारण खस्न थालेको र नदीले कटान गर्न पनि सजिलो भएको सक्ने अनुमान विज्ञको छ।

भौगर्भिक प्रकोप विज्ञ श्रीकमल द्विवेदीले बाढीको कारण तत्काल थाहा नभए पनि बाढीमा आएको गेग्रानको स्वरुप हेर्दा हिमनदीले बगाएर ल्याई थिग्रिएको सामग्री नै हो जस्तो देखिने बताएका छन्।

अहिलेको बाढीको कारण के होला?


यकिन गरेर अहिले नै बाढीको कारण भन्न सकिने अवस्था नरहेको खानी तथा भूगर्भ विभागका भूगर्भविद बास्कोटा र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा विपद प्राधिकरणका हाइड्रोलोजिस्ट शर्माले बताए। तर उपलब्ध जानकारीहरुका आधारमा शिरान क्षेत्रमा भारी वर्षा भएर त्यसका कारण त्यहाँ पहिरो गएको हुन सक्ने र त्यसको प्रभाव कमजोर थिग्रानले बनेको भेमथाङमा परेको हुन सक्छ।

हाइड्रोलोजिस्ट शर्माले भने, ‘भूकम्पको गतिविधि देखिएको छैन। आएको गेग्रान हिमताल फुट्दा आउने जस्तो छ, तर हिमताल फुटेको पनि छैन। सोही कारण शिरान क्षेत्रमा छोटो अवधिमा ठूलो मात्रामा अर्थात मुसलधारे पानी परेको र त्यसका कारण पहिरो जाँदा भेमथाङमा पनि पहिरो तथा कटान गतिविधि सक्रिय भएको हुन सक्छ।’

भूगर्भविद शिवकुमार बास्कोटाका अनुसार पनि अहिलेको गेग्रानसहितको बाढीको कुन कुराले ‘ट्रिगर’ गर्‍यो भन्ने तत्काल थाहा छैन। तर शिरान क्षेत्रमा लोकलाइज्ड भारी वर्षा भएको हुन सक्छ। त्यहि नै प्रमुख कारण हो जस्तो छ।’

स्थानीय रुपमा भएको भारी वर्षाका कारण अहिले बाढी आएको हो भन्ने तथ्य स्थापित गर्नका लागि पनि प्रमाण नरहेको उनले बताए। माथिल्लो क्षेत्रमा वर्षा मापन केन्द्र नहुँदा सो कुरा थाहा हुन नसकेको हो। जल तथा मौसम विज्ञान विभागको वर्षा मापन केन्द्र मेलम्ची भन्दा केही माथि छ, त्यसले भेमथाङको शिरान क्षेत्रमा हुने स्थानीय वर्षाको विवरण मापन गर्न सक्दैन।

‘विश्वव्यापी तापमान वृद्धिका कारण भएको जलवायु परितर्वनको असर वर्षाको प्रवृत्तिमा पनि परेको छ। त्यसकाे अनुमान हामीले पछिल्ला वर्षहरुमा देखेका छौँ। एक ठाउँमा पानी पर्दा नजिकैको अर्को ठाउँमा पर्दैन। भेमथाङको माथिल्लो क्षेत्रमा पनि त्यस्तै भएको हुन सक्छ’ हाइड्रोलोजिस्ट शर्माले भने।

आफूहरु कारण थाहा पाउन र भेमथाङको थिग्रानका बारेमा विस्तृत जानकारीका लागि स्थलगत अध्ययनका लागि जाने तयारीमा रहेको भूगर्भविद बास्कोटाले बताए। बास्कोटाले भने, ‘अहिले मेलम्ची, हेलम्बुसहितका क्षेत्रमा ड्रोन सहितका उपकरण प्रयोग गरेर अध्ययन भइरहेको छ। भेमथाङ भौगोलिक रुपमा कठिन छ, तर हामी प्राध्यापकहरुसहित त्यहिँ गएर अध्ययन गर्ने तयारीमा छौँ त्यसपछि विस्तृत रुपमा बताउन सकिन्छ।’

तिम्बु बजारबाट भेमथाङ पुग्न दुई दिन पैदल हिँड्नु पर्ने हुन्छ। असारको पहिलो हप्ता हेलम्बु तथा मेलम्चीमा गएको गेग्रानसहितको बाढीको कारण अहिलेसम्म थाहा भएको छैन। आफूहरुले गरेको अध्ययन अन्तिम चरणमा पुगेको र चाँडै नै प्रतिवदेन सार्वजनिक गर्ने अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले जनाएको छ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले तत्कालका लागि जोखिममा रहेको खोला किनारका बस्तीहरुलाई सुरक्षित स्थानमा सार्नु पहिलो प्राथमिकता हुनु पर्ने बताए। उनले भने, ‘अध्ययन हुनु पर्छ, तर त्यो भन्दा पहिलो जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सहयोग चाहिएको छ। अहिले पनि नदीले कटान गरि गेग्रान खस्ने क्रम जारी छ। जोखिम अझै उच्च छ।’

भेमथाङबाट सुरु भएर हेलम्बु तथा मेलम्ची क्षेत्रसम्म आएको लेदो, गेग्रानसहितको बाढीका कारण पुलसहित एक दर्जन भन्दा बढी घर बगेका छन्।

(तस्बिरहरुः निमा ग्याल्जेन शेर्पा, हेलम्बु गाउँपालिका अध्यक्ष)

साउन १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्