युरो कपको उपाधिका लागि इंग्ल्याण्ड र इटाली भिड्दै: विजेता नयाँ कि पुरानै?

युरो कप फुटबल २०२० को उपाधिका लागि आइतबार राति इटाली र इंग्ल्याण्ड भिड्दैछन्।

नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुने खेल इंग्ल्याण्डको वेम्ब्लीमा आयोजना हुनेछ। इटाली अन्तर्राष्ट्रिय फुटबलमा ३३ खेलयता अपराजित छ। इटालीले अन्तिमपटक सन् १९६८ मा युरो कप जितेको थियो। सन् २०१२ मा अन्तिमपटक फाइनल पुगेपनि उपाधि भिडन्तमा स्पेनसँग नमिठो हार ब्यहोरेको थियो।

इटालीले जारी प्रतियोगितामा तीनमध्ये दुई वटा नकआउट खेल टाइब्रेकरमा जितेको हो। उसले प्रिक्वाटरफाइनल र सेमिफाइनल टाइब्रेकरमा जितेर फाइनलमा स्थान बनाएको हो। इटालीले पछिल्ला १४ खेल लगातार जितेको छ।

इंग्ल्याण्ड पहिलोपटक युरोकपको उपाधि जित्ने प्रयासमा छ।

इंग्ल्याण्ड यसअघि युरोकपमा कहिल्यै फाइनल पुगेको थिएन। उसले मुख्य प्रतियोगिता (विश्वकप र युरोकप)मा अन्तिमपटक सन् १९६६ को विश्वकपमा फाइनल यात्रा तय गरेको थियो। त्यतिबेला उसले उपाधि पनि जितेको थियो।

इंग्ल्याण्डले पनि अन्तर्राष्ट्रिय फुटबलमा १२ खेलयता हार ब्यहोरेको छैन। यसबीचमा उसले ११ जित र एक बराबरीको नतिजा निकालेको छ। इंग्ल्याण्ड र इटालीबीच भएका पछिल्ला दुई खेल लगातार बराबरीमा सकिएका छन्। सन् २०१४ मा भएको विश्वकपको समूहगत चरणमा भएको खेलमा भने अन्तिमपटक जित हारको नतिजा निस्किएको थियो। त्यस खेलमा इटालीले इङ्ल्यान्डलाई २-१ गोलले हराएको थियो।

जारी प्रतियोगितामा इंग्ल्याण्डका हेरि केनले ४ र रहिम स्टर्लिङले ३ गोल गरेका छन् भने इटालीका सिरो इम्मोबिल, फेडेरिको चिएसा, मानुयल लोकाटेली, लोरेन्जो इनसिग्नी र माट्टेओ पेस्सिनाले २/२ गोल गरेका छन्।

असार २७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्