टेकुमा भेन्टिलेटरको हारगुहार चियाउँदा

एउटा मरेपछि मात्रै अर्को बाँच्ने!

नेपाल प्रहरी अस्पतालमा भेन्टिलेटर पाएपछि टेकुबाट एम्बुलेन्समा जाँदै गरेकी मेरी तुलाधर। तस्बिरः सुलभ श्रेष्ठ/देश सञ्चार।

काठमाडौँ- मंगलबार बिहान साढे ७ बजे नै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अत्यास लाग्दो भीडले भरिन्छ। निसासिएको अनुभव हुन्छ। मानिसहरु हतासमा छन्। अन्यौलग्रस्त उनीहरु जोगिने प्रयासमा पनि छन्। भूइँचालोमा जस्तो यता र उता पन्छिन्छन् उनीहरु।

अस्पतालको आकस्मिक कक्षमा अक्सिजन लिँदै एक वृद्धा।

१२ घण्टापछि भेन्टिलेटर


आकस्मिक कक्षको ढोकाको बायाँतर्फ कुर्सीमा कुलेश्वरका कोरोना संक्रमित सुधन तुलाधर बेसुर अवस्थामा छन्। उनी एक्लै रोइरहेका छन्। हातमा केही कागज छन्। लामो समय उनले कसैलाई फोन हानिरहन्छन्। पटक–पटक आफ्नो टाउको समातेर घोप्टो पर्छन्। उनको छट्पटी टाढैबाट स्पष्ट देखिन्छ।

तपाईँ के समस्यामा हुनुहुन्छ? प्रश्न भूइँमा नपर्दै सुधनले आफ्नो छट्पटी छरपस्ट पार्छन्, ‘भित्र आमा अक्सिजनमा हुनुहुन्छ। तत्कालै भेन्टिलेटर चाहिएको छ। यहाँ छैन। अरु अस्पतालमा पनि छैन।’

भेन्टिलेटर खोज्न परिवारका सबै सदस्य, आफन्त र साथीभाइ लागिपरेका छन्। उनले उपत्यकाका सबै ठूला सरकारी र निजी अस्पतालमा हारगुहार गर्छन्।

सबैले भेन्टिलेटर खाली नभएको जबाफ दिन्छन्। स्वास्थ्य मन्त्रालयको नम्बर ११३३ मा सम्पर्क हुन्न। आमा मेरीको पीरले सुधनका बुवा पनि अत्तालिन्छन्। तर उनको टाउ सुम्सुम्याउनबाहेक उनीसँग विकल्प छैन। सुधनका बुवा पनि संक्रमित हुन्। बुवामा बढेको चिन्ताले सुधन थप गल्छन्।

चिकित्सकले फेरि सुधनलाई भन्छन्, ‘भेन्टिलेटर अझै भेट्नुभएन? अर्को बिरामी आइसक्नुभयो।’ वास्तवमा भेन्टिलेटरको हारगुहारमा सुधनले १२ घण्टा बिताउँछन्।

अचानक उनलाई आफन्तको फोन आउँछ, ‘नेपाल पुलिस अस्पतालमा भेन्टिलेटर पाइयो।’ आमाका लागि भेन्टिलेटर पाउँदा सुधनलाई युद्ध जिते जस्तो हुन्छ। तत्कालै एम्बुलेन्स आउँछ। एम्लुेन्समा चढ्दै गर्दा मेरी बोल्छिन्,‘अब बाँच्छु कि?’

८ घण्टापछि राहत


मध्याह्न १२ बजे आकस्मिक कक्ष परिसरमा हुँइकिँदै आएको एम्बुलेन्स झ्याप्प रोकिन्छ। हस्याङ्फस्याङ गर्दै चालक बाहिरिन्छन्। एम्बुलेन्सको पछिल्तिरको ढोका जोडले खोल्छन्। हात्तीगौंडाकी सिता सिंह त्यहाँबाट अत्तालिदै निस्किन्छन्।

कोरोना संक्रमणका कारण निमोनिया भइ सिकिस्तै बनेका ५९ वर्षीय पति सञ्जयलाई आफै ह्वीलचियरमा राख्ने पर्यत्न गर्छिन्। कान्छी छोरी कृतिको हात औषधिका झोलाहरु छन्। सम्हाल्न मुस्किल परेको छ उनलाई।

सञ्जयलाई राखेको ह्वीलचियर स्वास्थ्यकर्मीले समात्न आइपुग्छन्। आकस्मिक कक्षभित्र सञ्जयको प्रवेशले सीता र कृतिले लामो सास फेर्छन्। ढोकानजिकै रहेको कुर्सिमा थ्याच्छ बस्छन्। एकअर्काको आँसु पुच्छन्।

तर भित्र सञ्जयलाई सास फेर्न मुस्किल परेको छ। उनको अक्सिजनको ‘लेवल’ निकै तल झरेको छ। हतार–हतार सञ्जयको मुख र नाक दुवैबाट अक्सिजन दिन सुरु गरिन्छ। वास्तवमा सञ्जयलाई एक मिनेटमा १८ लिटर अक्सिजन दिनुपर्ने अवस्था आउँछ। यो सबै ढोकाबाट चियाइरहेका सीता र कृतिमा अझै त्रासदी भरिन्छ जब चिकित्सकले सञ्जयलाई भेन्टिलेटर चाहिने बताउँछन्।

‘भेन्टिलेटर यहाँ छैन?,’ सिताले हतारहतार चिकित्सकलाई प्रश्न गर्छिन्।

‘छैन। तपाईंहरु आफैले खोज्नुहोस्। जतिसक्दो चाँडो’, चिकित्सकको जबाफ आउँछ। भेन्टिलेटर कहाँ पाइन्छ? सिता यसबारे बेखबर छिन्।

उनको चिकित्सकलाई प्रश्न हुन्छ, ‘हामीलाई यसबारे केही थाहा छैन। कहाँ पाइन्छ भन्दिनुहोस् न? चिकित्सकको जबाफ आउँछ,‘यसबारे हामीलाई पनि थाहा हुन्न। तपाईँहरु आफैले खोज्नुपर्छ।’

एकाएक सीताको अनुहार रातो हुन्छ। छट्पटी बढ्छ। आमाको छट्पटी नजिकबाट नियालिरहेकी कृतिले आफ्ना आफन्तलाई फोन हान्छिन्। आफन्तहरुले केहीबेर कुराउँछन्। अनि एकपछि अर्को गर्दै भेन्टिलेटर नपाएको सुनाउँछन्। सीताले फेरि अस्पतालका स्वाथ्यकर्मीलाई हात जोड्छिन्। स्वास्थ्यकर्मीहरुले उपत्यका प्राय सबै सरकारी अस्पतालमा फोन हान्छन्।

‘भेन्टिलेटर कतै पनि खाली छैन’ उनीहरुलाई खबर आउँछ।

सीतामा झनै तनाव बढ्छ। छोरीलाई अंगालो हाल्दै रुन्छिन्। छोरी कृति निजी अस्पतालतिर फोन हान्न थाल्छिन्। भेन्टिलेटर कतै भेटिन्न। भित्र सञ्जयलाई अक्सिजनको ‘लेवल’ बढाउँदै लगिएको छ। चाँडोभन्दा चाँडो भेन्टिलेटरमा लैजान पर्‍यो भन्दै चिकित्सक अनुरोध गरिरहेका छन्। सीता र कृतिको ओठ मुख सुकिसकेको छ।

सीता र कृतिको हारगुहारपछि भेन्टिलेटरको खोजीमा केही सञ्चारकर्मी पनि जुट्छन। तर उनीहरु पनि निरुपाय बन्छन्। भेन्टिलेटरको खोजीमा उनीहरुले गरेको संघर्ष बेहिसाब बन्छ।

साँझ छिप्पिदै जाँन्छ। अस्पतालमा भीड पातलिँदै छ। उनीहरुको मन पनि त्यही अनुपातमा कुँडिन्छ। अचानक निदान अस्पतालमा भेन्टिलेटर पाएको खबर आउँछ। तर दिनमा औषधि बाहेक ४० हजार रुपैयाँ तिनुपर्ने शर्तसहित। केही दिनअघि मात्रै जेठी छोरी अन्माएकी सिताको परिवारको अवस्था सामान्य छ। पहिले व्यापार गर्ने भएपनि अहिले खाली थिए सञ्जय। हातीगौँडामा ओत लाग्ने एक तले घर।

भेन्टिलेटरको शुल्क सुनेपछि झनै आत्तिन्छन्। सञ्जयलाई निदान अस्पताल लैजान आँट आउँदैन उनमा। उनले भनिन्,‘ हामीले त्यत्रो शुल्क कहाँबाट तिर्ने? अझै सरकारी अस्पतालमा खोज्छु। भएन भने अन्तिममा लैजान्छु।’

सीताले सरकारले कोरोनाको निःशुल्क उपचारको घोषणा गरेको सम्झिइन्। त्यसो त देशको न्यायालयले पनि कोरोनाको निःशुल्क उपचार गर्नु भन्ने आदेश सरकारको नाममा जारी गरेको थियो। तर वास्तविकता फरक छ।

निजी अस्पतालले हाल भेन्टिलेटरको एक लाख रुपैयाँसम्म शुल्क लिएको सुनेकी सीता हतोत्साहित छिन्। उनले अस्पताल प्रमुख डा. सागरराज भण्डारीलाई पनि भेटेर हारगुहार गर्छिन्। डा. भण्डारी निरुपाय भए दिनैभरी।

राती करिव ८ बजे बिरामीको अवस्था बुझ्न डा. अनुप बास्तोला आइपुग्छन्। उनले परिस्थितिको आँकलन गर्छन्। सीताले भगवान भेटेको अनुभव गर्छिन्। कारण भेन्टिलेटर टेकुमै मिल्छ।

फोन नउठ्दा एक घण्टा साइकलमा


सञ्जयलाई आइसियु कक्ष लगेपछि सिता र कृतिले राहत अनुभव गर्दै गर्छन्। तर संक्रमित आफ्नी पत्नीलाई श्वास फेर्न गाह्रो भएपछि उपचार बुझ्न आफै बालाजुबाट साइकलमा आइपुग्छन् सुर्दशन थापा। अस्पतालको फोन नउठेपछि उनी पत्नीको उपचारबारे बुझ्न आफै आउँछन्। अस्पताल ‘डियुटी’मा रहेका स्वास्थ्यकर्मी भन्छन्, ‘गाह्रो भएको छ भने तपाईँको मान्छेलाई तत्काल ल्याउनुहोस्। हामी सबै अवस्थाबारे जाँच गर्छौँ। तर बेड, आइसियु र भेन्टिलेटर हामी उपलब्ध गराउन सक्दैनौँ।’

सुर्दशन निराश हुँदै आफ्नो गन्तव्यतर्फ साइकल डोर्‍याउँछन्। जाँदाजाँदै भन्छन्, ‘हामी गरिबको को हुने सहारा यस्तो आपत्त परेको छ। उपचार बुझ्न आउन एक घण्टा लाग्यो। अब जान एक घण्टा लाग्छ। घरमा श्रीमती सिकिस्त भइसकिन्। यहाँ त ल्याउँला। थप उपचार कहाँ गर्ने?’

एक सुको पैसा छैन। सुदर्शन नुवाकोटका हुन्। सेन्टजेवियर्स कलेजमा गार्ड छन्। बालाजुमा डेरामा श्रीमती र छोराछोरी राखेका छन्। ‘अब आमालाई अस्पताल ल्याएपछि छोराछोरीका के होला?,’ उनको मनमा डर बढेको छ।

अचानोमा टेकु अस्पताल


कोरोना संक्रमणको उपचारको थालनी सबैभन्दा पहिले यही अस्पतालले सुरु गरेको हो। हाल चाप थेगिनसक्नु छ। तर विगतमा योसँग भएका भौतिक पूर्वाधार, जनशक्ति र क्षमतामा बदलाव आएको छैन।

बल्लतल्ल जोडेका १२ भेन्टिलेटर भरिभराउ छन्। भाग्यले सञ्जयले भेन्टिलेटर पाए। अस्पताल प्रमुख डा. सागरराज भण्डारीलाई पनि आफ्नो उपचार सेवाको सिमितामा चित्त नबुझेको छैन।

तर संक्रमितको चापलाई व्यस्थापन गर्ने अस्त्र भेटेका छैनन् उनले दोस्रो लहर सुरु भएको एक महिनापछि पछि पनि। उनी भन्छन्, ‘हामीसँग भेन्टिलेटर थोरै छन्। भेन्टिलेटर खाली हुन कि संक्रमित निको हुनुपर्छ, कि अन्त जानुपर्छ कि मर्नुपर्छ।’

त्यसो भए अहिलेको बिकल्प एउटा मर्दा अर्को बाच्ने हो? भण्डारीको जबाफ आउँछ, ‘अन्त पनि सरकारी अस्पतालका भेन्टिलेटर भरिभराउ छन्। निजीमा पाइहालेको खण्डमा पनि एक रातको एक लाख रुपैयाँ शुल्क लिइन्छ। यस्तो अवस्थामा यहाँ आइपुगेका बिरामी जाने कुरा भएन। पिसिआर नेगेटिभ आएकालाई पनि केही समय भेन्टिलेटर चाहिन्छ।

त्यो बाहिर गएर उनीहरुले पाउँदैनन्। अब कसैको मृत्यु भयो भने मात्रै भेन्टिलेटर पाउने अवस्था छ। त्यो पनि वार्डमा रहेका बिरामीले प्राथमिकता पाउनुपर्छ।’

अब भेन्टिलेटर चाहिने संक्रमितको जीवन कसरी सुरक्षित गर्ने? अस्पतालसँग ठोस योजना छैन।

आएकालाई अक्सिजन पुर्‍याउनु पनि उसका लागि ठूलो उपलब्धी बनेको छ अहिले। विडम्बना संक्रमितलाई सिलिन्डरको माध्यमबाट अक्सिजन पुर्‍याउन एक वर्ष अघि ‘लिक्विड अक्सिवन प्लान्ट’ खाली भएको छ वैशाख ८ गतेबाट।

आपूर्ति घटेकाले प्लान्ट खाली भएको डा. भण्डारीको भनाइ छ। त्यसैदिनदेखि अस्पतालले अक्सिजनका लागि सिलिन्डर प्रयोग गर्दै आएको छ।

जता पनि भरिभराउ


सरकारको पछिल्लो आँकडा अनुसार उपत्यकाका अस्पतालमा मात्रै आइसीयूमा ८२ र भेन्टिलेटरमा ४० जना छन्। सशस्त्र प्रहरी अस्पताल बलम्बुमा आइसीयूमा १० र भेन्टिलेटरमा ८ जना छन्।

वीरेन्द्र अस्पताल छाउनीमा आइसीयूमा ४ जना छन्। वीर अस्पतालको आइसीयूमा ५ जना र भेन्टिलेटरमा एकजना छन्। नेपाल प्रहरी अस्पतालको आइसीयूमा ५ जना छन्।

त्रिवि शिक्षण अस्पतालको आइसीयूमा ५ जना र भेन्टिलेटरमा पनि ५ जना छन्। पाटन अस्पतालको आइसीयूमा ९ जना र भेन्टिलेटरमा ८ जना छन्। निजामती कर्मचारी अस्पतालको आइसीयूमा १ जना छन्।

ग्राण्डी अस्पतालको आइसीयूमा ३ जना र भेन्टिलेटरमा १ जना छन्। ह्याम्स अस्पतालमा आइसीयूमा ९ जना र भेन्टिलेटरमा ३ जना छन्।

नेपाल मेडिसिटीमा आइसीयूमा २२ जना र भेन्टिलेटरमा ४ जना छन्। उपत्यका बाहिरको अवस्थामा पनि त्यतिकै बेहाल भइरहेको समाचार आइरहेका छन्।

आउँदा दिन चुनौतिपूर्ण


अस्पतालमा सिकिस्त भएर संक्रमित आउनेक्रम बढेको छ। बिरामीको उपचारमा अहोरात्र खटिरहेका डा. अनुप बास्ताल यसमा चिन्तित छन्। भेन्टिलेटर चाहिने संक्रमितलाई अन्त पठाउन मुस्किल परेको उनी बताउँछन्।

उनको भनाइ छ, ‘तुरुन्तै अन्य अस्पतालले कोभिड वार्ड प्रयोग गर्नुपर्छ। भेन्टिलेटर प्रयोगबिहिन अवस्थामा पनि छन्। तिनको प्रयोग हुनुपर्छ। यसमा सरकारको बलियो समन्वय आवश्यक छ। सरकारले कडाभन्दा कडा निर्णय गर्न पनि आवश्यक छ।’

डा. बास्तोलाका अनुसार आउँदा दिन निकै चुनौतिपूर्ण छन् नेपालका लागि।

अस्पतालमा बेड, अक्सिजन, भेन्टिलेटर नपाएर घरमै वा बाटोमै मानिसले मृत्युवरण गर्नुपर्ने अवस्था आउने उनले देखेका छन्। यसमा सरकारले चारैतिर चासो दिनुपर्छ। र, त्योसँगै जिम्मेवार बनेर नागरिकको जीवन बचाउनुपर्छ।

बैशाख १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्