नेपालमा बाह्य गुप्तचरी : केही प्रश्न र केही उत्तर

यस्तै विषयको अघिल्लो लेखमा हामीले नेपाल-भारत सम्वन्धका केही पक्षबारे चर्चा गर्‍यौँ। त्यसै क्रममा भारतीय गुप्तचर संगठन ‘रअ’को भूमिकाको केही झलक प्रस्तुत गरिएको थियो।

त्यसको निष्कर्षलाई कसरी बुझौँ भने,भारतीय राजनीतिज्ञ, कूटनीतिज्ञ, विज्ञ, विश्लेषक र सुरक्षा अधिकारीहरूले कुरा र भाषण गर्दा नेपाल भारतवीच इतिहास,भाषा, धर्म, परम्परा र संस्कृतिले जोडेको हजारौं हजार वर्षदेखिको  जीवन्त र  विलक्षण सम्बन्धको बखान गर्न चुक्दैनन्।

तर इतिहास, भाषा, धर्म, परम्परा र संस्कृतिले जोडेको सम्बन्धलाई मजवुत बनाउने लक्ष प्राप्त गर्न भने त्यस्तो इतिहास, धर्म, परम्परा र संस्कृति विरोधी गैर परम्परागत र हिंसामा विश्वास गर्ने उग्र वामपन्थी शक्ति र व्यक्तिहरूलाई स्थापित  सरकार र संवैधानिक व्यवस्था विरूद्ध सवै किसिमको सहयोग, संरक्षण र प्रोत्साहन गर्दछ, सत्तामा पुर्‍याउन सवै किसिमका राजनीतिक – गैर राजनीतिक उचित -अनुचित सवै क्रिया-कर्महरू गरिरहन्छ ।

अनि उक्त मुलुकलाई प्रदान गरेको केही करोड र केही अर्व रकम बरावरको सहयोगबारे उड्किएर  कहिल्यै थाक्दैन ।

विरोधीहरूको कुरै छोडौँ स्वयम्  नेपालमा  भारतका ठूला  समर्थक, शुभेच्छुक र प्रशंशकहरूले मनभरी भएर चिनेको भारत यस्तै हो ।

लाग्दछ, भारत आफैँ  नेपालसँगको सम्बन्धमा  इतिहास, धर्म, परम्परा र संस्कृतिको योगदानलाई अवमूल्यन र उपेक्षा गरिरहेको छ र राजनीतिक र रणनीतिक लाभका लागि मात्र नेपाली जनताको भावनाको दोहन गर्न मात्रै ऊ नेपाल भारत वीचको त्यस्तो ऐतिहासिक र परम्परागत सम्वन्धको चर्चा गर्ने गर्दछ ।

निष्ठाहीन राजनीतिको त्यो परिणाम  दुवै मुलुकमा विस्तारित हुँदै जाँदा आज नेपालमा भारत इतिहासमा अत्यन्त  कमजोर हैसियतमा उभिनपुगेको छ ।

अब आएर स्वयम् भारत सरकार र उसका सुरक्षा निकायहरू नेपालसँगको त्यो सम्वन्धको निरन्तरताको पक्षमा देखिदैनन् ।

नेपालको  भारतसँगको सीमा क्षेत्रमा चीनियाँ र  पाकिस्तानी गुप्तचरहरूको बढ्दो उपस्थिति र त्यसबाट भारतीय सुरक्षामाथि पर्ने असरलाई हेरेर नेपाल भारतवीचको खुला  सीमानालाई बन्द गर्ने सम्भावनाका बारेमा  स्वयम् भारतीय सुरक्षा निकायहरू अध्ययन गरिरहेका देखिन्छन् ।

तर त्यसो गर्दा नेपालमा चीन र पाकिस्तान जस्ता मुलुकको प्रभाव झन् निर्णायक हुँदै जाने र त्यसले भारतीय सुरक्षा हितमा घातक असर पर्ने कारणले मात्रै भारत त्यस्तो निर्णयमा पुग्न नसकिरहेको बुझ्न सकिन्छ ।

अर्को कुरा, शासन संचालन र राष्ट्रिय सुरक्षाका तीन महत्वपूर्ण अङ्ग मध्ये कूटनीति, सेना र गुप्तचरी हो ।

सैन्य सामर्थ्यको हिसावले जतिसुकै ठूलो शक्ति  राष्ट्रले पनि आफ्ना रणनीतिक लक्षलाई प्राप्तगर्न पहिला कूटनीति र गुप्तचरीलाई नै प्रयोग गर्दछ ।

हाम्रो  रणनीतिक परिवेशमा हामी हाम्रा राष्ट्रिय सुरक्षाका  लक्षहरू प्राप्त गर्न सैनिक सामर्थ्यमा निर्भर रहन सक्दैनौ ।

त्यसैले कूटनीति र गुप्तचरीमात्र हाम्रा लागि उपलव्ध सरल, मितव्ययी र  सर्वोत्तम विकल्प हुन् ।

भारत, चीन वा पाकिस्तान लगायतको सम्वन्धमा  हामी न्यूनतम स्तरमा पनि हाम्रो कूटनीतिक र गुप्तचरी क्षमता निर्माण गर्न सकिरहेका छैनौ ।

हामी त्यसमा चुकेको चुक्यै छौँ ।

त्यसले पनि हाम्रो भारतसँगको सम्वन्धमा समस्या र चुनौती थपिरहेको छ ।

‘रअ’ मात्रै होइन,  पाकिस्तानी आइएसआई पनि

“कृपया आइएस आई ( पाकिस्तानी गुप्तचर संगठन इन्टर सर्भिसेज इन्टेलिजेन्स)को बारेमा सोध्दै नसोध्नुहोस् ।

तिनीहरू अत्यन्त घातक र खतरनाक छन् । नेपालमा यत्र तत्र सर्वत्र छन् ।तिनको हात नेपालको कानुन भन्दा धेरै लामो छ”।()

‘रअ’ र सिआइएको बारेमा सही  वा गलत सवै सुन्दै र पढ्दै आएका  र त्यसमा अभ्यस्त हामीलाई पंचायतकालमा भेरी अञ्चलाधीश रहेका महबुब शाहको माथिको भनाई

अतिशयोक्ति लाग्न सक्दछ ।

तर एसिया विक,जेन्स इन्टेलिजेन्स डाइजेस्टजस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय माध्यम र संगठनले तत्कालिन परिवेशमा प्रकाशित समाचारहरूले () तिनलाई अतिशयोक्ति मान्न दिँदैनन् ।

भारत र पाकिस्तानको सम्वन्धको स्तरमा एउटा मुलुकको गुप्तचर संगठनले  अर्को मुलुक विरूद्धका आफ्ना रणनीतिक लक्ष प्राप्त गर्न  जुनसुकै हदसम्म जान सक्दछ भन्ने सत्यलाई नकार्न सकिन्न ।

यौटा घटना विचार गरौँ — भारत र पाकिस्तानवीच कारगिल युद्ध समाप्त भएको मात्रै थियो र भारतीय विदेशमन्त्री  जसवन्त सिंह र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार ब्रजेश मिश्र छिमेकमा सम्वन्ध सुधारको रूपरेखा खिच्दै गरेको बताइएको र सो क्रममा भारतीय विदेश मन्त्री जसवन्त सिंहको नेपाल भ्रमणको केही पछि  २४ डिसेम्बर १९९९मा  कर्मचारीहरु समेत गरेर करीव दुई सय यात्रु बोकेर दिल्ली जाँदै गरेको इन्डियन एयर लाइन्सको विमानलाई  अतिवादी पाकिस्तानीहरूले अपहरण गरे ।

भारतीय सुरक्षा एजेन्सीहरू अनुसार उक्त विमान अपहरणको योजना आइएसआईको थियो र हर्कत उल मुजाहिदिनले त्यसको कार्यन्वयन गरेको थियो ।

काठमाडौँ स्थित पाकिस्तानी दुतावासका एक अधिकारीले त्यसको संयोजन गरेका थिए ।

३१ डिसेम्बरमा  विमानका यात्रुहरूको सुरक्षित घर फिर्तीको बदलामा  भारतीय जेलमा रहेका  मौलाना मसूद अजहर लगायत तीन आतंकवादीहरूलाई  रिहा गर्न भारत सरकार मन्जूर भयो ।

स्मरणीय छ, तिनै मध्येका एक  मसूद अजहर हाल पाकिस्तानमा अड्डा जमाएर बसेको जैस -ए- मुहम्मद नाउको शक्तिशाली आतंकवादी संगठनका संस्थापक बताइन्छ ।

बम आक्रमणबाट पनि सुरक्षित सम्पूर्ण सुविधा सहितको बंकरमा रहने गरेका भनिएका उनै अजहर फेब्रुवरी १४, २०१९मा भारतका ४० सुरक्षाकर्मीहरूको हत्या भएको पुलावामा आक्रमण सहितका दर्जनौ आक्रमणहरूमा संलग्न भएको भारत सरकारको आरोप छ ।

तर विश्मयपूर्ण कुरो के रहेको छ भने जुन हवाईजहाजको अपहरण काण्डले मसूद अजहरलाई भारतीय जेलबाट मुक्त गरायो – त्यो अपहरणको पूर्वसूचना अपहरण हुनु भन्दा निकै अघि ‘रअ’को काठमाडौँ स्थित स्थानीय अधिकारीले आफ्नो तालुक अधिकारीलाई दिएको तर उक्त विवरणका कारण  उनका हाकिम उनीसँग  रिसाएको, उल्टै उनलाई हतोत्साहित र अपमानित गरिएको र उनले दिएको जानकारीको विवरण  निज तालुकवाला अधिकारीको टेबुलको दराजमै रहेको  र ‘रअ’को मूख्यालयमा रिपोर्ट नगरिएको कुरो अपहरणको  दुई महिना पछि पत्ता लाग्यो ।()  

माथिको प्रसङ्गले भारतीय गुप्तचर संगठन ‘रअ’का अधिकारीहरूको नियत, निष्ठा , क्षमता र विश्वसनीयतामा पनि प्रश्नहरू उठ्नु स्वाभाविक छ ।

काठमाडौँ स्थित निज ‘रअ’ का हाकिम नै कतै ‘आइएसआई’ वा मसूद अजहरका लागि काम गरिरहेका त थिएनन् ? भन्ने आशंका गर्न नसकिने पनि होइन ।

तर यथार्थ के पनि हो भने गुप्तचर जगतमा यस्तो हुन्छ र भैरहन्छ ।

जुन २०००मा भारतका प्रथम राष्ट्रिय सुरक्षा सल्लाहकार नेपाल भ्रमणमा आउँदै थिए तर त्यसको ठिक अघि  “दी नेपाल गेमप्लान” शीर्षकमा इन्डिया टुडेले  भारतीय गुप्तचर र सुरक्षा संगठनहरूले तयार पारेको  नेपालमा आइएसाई गतिविधि सम्वन्धी करीव ७८ पृष्ठको सामग्री प्रकाशित गरेको थियो ।

नेपालको राजपरिवारदेखि नेपाली काङ्ग्रेस, एमाले लगायतका  प्रमुख पार्टी सम्वद्ध  २४  राजनीतिज्ञहरू, केही  मिडियाहरू, व्यापारी र व्यवशायीहरूलाई आइएसआईसँग मुछिएको उक्त विवादाष्पद  तर अत्यन्त संवेदनशील  रिपोर्टको खण्डन र विरोध स्वयम् प्रधानमन्त्री  गिरिजाप्रसाद कोइराला र परराष्ट्र मन्त्रालयका प्रवक्ता र सम्वद्ध मिडियाहरूले गरे ।()

 नेपालमा वाह्य गुप्तचरी गतिविधि : केही प्रश्न र उत्तर

तर उक्त रिपोर्टले तीन प्रश्न भने जन्माउँछ —एक, उक्त रिपोर्ट भारत सरकार र त्यहाँका गुप्तचर संगठनहरूको  नेपाल र पाकिस्तानी गुप्तचर संगठनबारेको  उनीहरूको अध्ययन र विश्लेषणको यथार्थ निष्कर्ष  थियो ?

दुई, नेपाल सम्वन्धमा उनीहरू अत्यन्त गम्भीर नयाँ  रणनीतिक लक्ष निर्धारण गरिरहेका थिए र त्यसको तयारीको पृष्ठभूमि निर्माण गर्न र भावी रणनीतिक कारवाहीको औचित्य सावित गर्न उक्त प्रतिवेदन तयार गरिएको थियो ? वा दुवै थियो  ।

पहिलो प्रश्नको उत्तर त  बुझ्न सम्भव भएन तर त्यसपछिको भारतको नेपाल नीतिले दोस्रो प्रश्नलाई भने सत्यापित गरेको छ ।

अर्थात त्यो भारतीय सुरक्षा निकायहरूको नेपाललाई हेर्ने आधिकारिक दृष्टिकोण थियो र भारत सरकार त्यसैको आधारमा नेपाल नीति तयार गर्दै थियो भन्ने कुरा पछिका घटनाक्रमले सावित गरेका छन् ।

हो ! विभिन्न पुस्तक र लेखहरूमा  नेपालमा पाकिस्तानी गुप्तचर संगठन ‘आइएसआई’ धेरै अघि देखि सक्रिय रहेको विवरणहरू आइरहेका थिए र छन् ।

विभिन्न राजनीतिक दल सम्वद्ध व्यक्तिहरू पनि ‘आइएसआई’  गतिविधिसँग जोडिएका जानकारीहरू पनि आउने गरेका छन् ।

तर नेपालमा वाह्य जासूसी गतिविधि अध्ययन, अनुषन्धान र विश्लेषणगर्ने व्यवस्थित अभ्यास भएको नदेखिएको र भए पनि त्यसलाई सार्वजनिक गर्ने परिपाटी नभएको र कुनै नेपाली लेखक वा पत्रकारले ती विषयमा लेखे पनि तिनलाई तथ्यात्मक र प्रामाणिक बनाउने भन्दा पनि सनसनीपूर्ण र  औपन्यासिक बनाउने गरिएकोले  त्यस मामिलामा विदेशी  र खास गरेर  भारतीय लेखक र त्यहाँका पूर्व गुप्तचर अधिकारीहरूकै भरपर्नु पर्ने अवस्था  छ ।

पाकिस्तानको भारतसँगको सम्वन्धको स्तरमा भारतीय सुरक्षाको दृष्टिले अत्यन्त संवेदनशील नेपालमा पाकिस्तानी गुप्तचर संगठन ‘आइएसआई’ सम्भव भएसम्म सक्रिय रहनु अस्वाभाविक भएन ।

उदाहरणको लागि भारतको आन्तरिक गुप्तचर एजेन्सी इन्टेलिजेन्स ब्युरोका  सेवा निवृत्त संयुक्त निर्देशक मलोय कृष्ण धर लिखित एउटा चर्चित पुस्तकमा उल्लेख भए अनुसार आइएसआईले नेपालबाट  एकैचोटी  उत्तरी  भारतका सवै महत्वपूर्ण केन्द्रहरूमा सवै किसिमका गुप्त र आतंकका कार्य गर्न कुनै पनि व्यक्ति र सामग्री तैनाथ गराउन सक्दछ ।

उनका अनुसार भारत विरूद्धका क्रियाकलापमा संलग्न पाक कूटनीतिज्ञहरू तथा अन्य व्यक्तिहरूका  काठमाडौँ स्थित निवाशहरू र आइएसआईका गुप्त अड्डाहरूबाट  आरडिएक्स जस्ता विस्फोटक सामग्रीहरू र जाली भारतीय नोटहरू बारम्बार फेला परेका छन् ()

धर अनुसार नेपालका माओवादी नेताहरू सिपी गजुरेल,कृष्ण बहादुर महरा र हिसिला यमीहरू कराँची, ढाका र पटनाका आइएसआई एजेन्टहरूसँगका गुप्त बैठकहरूमा र नियमित सम्पर्कमा थिए  ।()

त्यसैगरी  नेपालका सीमावर्ती भूभागका मुसलमान बस्तीहरू र मदरसाहरूमा पाकिस्तान, साउदी अरब, र अन्य इस्लामिक राष्ट्रहरूका काठमाडौँ स्थित दुतावाशका कूटनीतिज्ञहरूको बाक्लो भ्रमण हुने गरेको र ती मुलुक लगायत  र भारतीय मुस्लिम संगठनबाट प्रशस्त पैसा ओइरिने गरेको पनि धरले उपरोक्त पुस्तकमा उल्लेख गरेका छन् ।

एउटा नकार्न नै नसकिने कुरा के हो भने  आफूले आफ्नो मुलुकको हित हुने सवालमा गुप्तचर र गुप्तचर संगठनहरू जुनसुकै हदसम्म जान सक्दछन् ।

ध्यानदिन लायक  के पनि छ भने, नेपालमा ‘रअ’ का गतिविधिवारे व्यापक चर्चा र चासो हुन्छ ।निन्दा र  विरोध हुन्छ ।जन-जनमा त्यसको चर्चा हुन्छ ।

तर त्यसको तुलनामा अन्य मुलुकका जासूसी गतिविधि त्यति चर्चामा आउन्नन र तिनको विरोध हुन्न ।

त्यसका तीन मूख्य कारण देखिन्छन् — एक, ‘रअ’ नेपालमा अत्यन्त सक्रिय छ ।

नेपालमा वाह्य जासूसी गतिविधि अध्ययन, अनुषन्धान र विश्लेषणगर्ने व्यवस्थित अभ्यास भएको नदेखिएको र भए पनि त्यसलाई सार्वजनिक गर्ने परिपाटी नभएको र कुनै नेपाली लेखक वा पत्रकारले ती विषयमा लेखे पनि तिनलाई तथ्यात्मक र प्रामाणिक बनाउने भन्दा पनि सनसनीपूर्ण र  औपन्यासिक बनाउने गरिएकोले  त्यस मामिलामा विदेशी  र खास गरेर  भारतीय लेखक र त्यहाँका पूर्व गुप्तचर अधिकारीहरूकै भरपर्नु पर्ने अवस्था  छ ।

नेपालमा भारतको सुरक्षा सरोकार दक्षिण एसियाका अन्य सवै मुलुकमा भन्दा बढी भएकोले त्यसो हुनु अस्वाभाविक पनि भएन ।

त्यसैले, नेपालको राजनीतिमा आफ्ना सुरक्षा सरोकारप्रति प्रतिवद्ध व्यक्ति, सँस्था -संगठन र दलको खोजी गर्ने क्रममा उसले हस्तक्षेप गर्नेगरेको छ र गरिरहेको छ ।

अर्को, २००७ सालमा नेपालमा  राजनीतिक व्यवस्था परिवर्तन गर्ने निर्णय भारतको राजनीतिक नेतृत्वले गर्यो ।

तर पछि २०४६ र २०६२-६३ मा आएर नेपालमा कस्तो  राजनीतिक परिवर्तन गर्ने  र कुन कुन व्यक्ति र संगठनलाई सत्तामा पुर्याउने निर्णय ‘रअ’ले गर्न थाल्यो () भारतीय राजनीतिक नेतृत्वले त त्यसलाई अनुमोदन र अनुशरण मात्र गरेको देखिन्छ ।

साथै, राजनीतिक हस्तक्षेपको क्रममा नाकाबन्दी जस्तो कठोर कदमलाई समेत अवलम्वन गरेर भारतले नेपालका जायज आकांक्षाहरूलाई पनि उपेक्षागर्ने गरेर नेपालमा आफूलाई अविश्वस्त छिमेकीको रूपमा उभ्याउने पनि गरेको छ ।

र ती मामिलामा ‘रअ’ले  नै नेपालमा समग्र भारतको प्रतिनिधित्व गरिरहेको जस्तो देखिन्छ ।

फलत: उसको हस्तक्षेपबाट राजनीतिक क्षति व्यहोर्ने व्यक्ति, समूह र संगठनले जायज -नाजायज रूपमा भारत र ‘रअ’को विरोध गर्ने गरेका छन् ।

र त्यो अति  विरोधको स्तरमा पनि देखिन्छ ।

त्यसो हुनु अस्वाभाविक होइन ।

तेस्रो , नेपालमा भारतीय गुप्तचर एजेन्सीहरू मात्र क्रियाशील छैनन् ।

अमेरिका, चीन लगायतका मुलुकका गुप्तचर एजेन्सीहरू पनि त्यत्तिकै सक्रिय छन् ।

हालै आएर नेपालको राजनीतिमा चीनियाँ हस्तक्षेप बढ्दै गएको देखिन्छ ।विभिन्न थिङ्क ट्यांक मार्फत पनि चीनियाँ गुप्तचर गतिविधि व्यापक भइरहेको सन्दर्भमा क्रमश: चीन नेपालमा भारतको प्रतिद्वन्द्वी राष्ट्रको रूपमा आक्रामक चरित्र लिएर प्रस्तुत भइरहेको विश्वास गरिन्छ ।

भाषा, धर्म, संस्कृति, परम्परा आदि कारणले चीनलाई नेपालमा भारतसँग प्रतिष्पर्धा गर्न सरल र सुगम नभए पनि राजनीति, सरकार,मिडिया र वौद्धिक क्षेत्रको तहमा त्यो सम्भव छ भन्ने वर्तमानमा आएर प्रष्ट भएको छ ।

अमेरिकाको हकमा पछिल्ला वर्षहरूमा आएर सिआइएले सोझै हस्तक्षेप गर्ने भन्दा प्रजातन्त्र, सामाजिक विकाश, न्याय, मानव अधिकार आदि सम्वद्ध क्षेत्रमा अमेरिकी र अन्य राष्ट्रका विभिन्न अन्तर्राष्ट्रिय गैर सरकारी संगठनहरू मार्फत नेपालका राजनीतिक दलहरू, तिनका भात्री सँस्थाहरू, नेपालमा  कार्यरत अन्तर्राष्ट्रिय,स्थानीय र राष्ट्रिय स्वरूपका गैर सरकारी सँस्थाहरू, चर्चित राजनीतिक  र वौद्धिक व्यक्तित्वहरू, मिडिया र मिडियाकर्मीहरूबाट हस्तक्षेप गराउन व्यापक लगानीगर्ने गराउने गरेको र त्यसबाट  लाभान्वित  हुने वर्ग र समूह ठूलो र निकै प्रखर पनि भएकोले सीमित क्षेत्रमा बाहेक सिआइएबारे हाल आएर नेपालमा विरोधको स्वर खासै देखिने गरेको छैन ।

गुप्तचरी सम्वन्धी दुई प्राचीन पुस्तक : दी आर्ट अफ वार, कौटिलीय अर्थशास्त्र

“दी आर्ट अफ वार” नाऊको   इशा पूर्व पाँच सयमा  सुन जुद्वारा लेखिएको मानिएको एउटा विश्व विख्यात पुस्तकको वारेमा  पूर्व अमेरिकी विदेशमन्त्री  तथा समसामयिक विश्वका सर्वाधिक चर्चित कूटनीतिज्ञ हेनरी किसिन्जरको भनाई छ – ‘यदि अमेरिकी राजनीतिज्ञ र सैनिक नेतृत्वहरूले सुन जुको उक्त पुस्तकमा ध्यान दिएको भए भियतनाम युद्ध र कोरिया युद्धको परिणाम अर्कै हुने थियो’ ।( )

दोस्रो विश्व युद्धमा जापानद्वारा बन्दी बनाइएका  एक  ब्रिटिस जल सैनिक अधिकारी, लेखक तथा उपन्यासकार   जेम्स  क्लाभेलले पनि  दी आर्ट आफ वारबारे किसिन्जरले भन्दा धेरै अघि त्यस्तै राय व्यक्त गर्दै लेखेका छन् कि – ‘ब्रिटेन र अमेरिकाका राजनीतिक र सैनिक नेतृत्वहरूले उक्त पुस्तक अध्ययन गरेका भए भियतनाम र कोरिया युद्ध, क्युबा सङ्कट, इरानमा अमेरिकी बन्दी समस्या जस्ता घटना हुँदैनथे या त्यसमा उनीहरूलाई   विजय  प्राप्त भएको हुन्थ्यो ।

ब्रिटिस साम्राज्य छिन्न भिन्न हुँदैनथ्यो, पहिलो र दोस्रो विश्व युद्ध रोक्न सकिन्थ्यो या युद्ध नै हुँदैनथ्यो’।()

मूलतः दी आर्ट अफ वार सैन्य रणनीति सम्वन्धी पुस्तक हो, तर सो पुस्तकको १३ औँ भागमा सुन जुले आफ्ना रणनीतिक लक्ष प्राप्त गर्न पाँच किसिममा   गुप्तचरहरूलाई  वर्गीकरण गरेर तिनलाई कसरी प्रयोग गर्ने बारे उल्लेख गरेका छन्  ।

किसिन्जर अनुसार  जब कि पश्चिमा रणनीतिकारहरूले  युद्धमा विजयको लागि  सैन्य क्षमताको  श्रेष्ठतालाई  प्राथमिकता दिए, तर सुन जुले राजनीतिक र मनोवैज्ञानिक युद्धमा शत्रु पक्षलाई पराजित गरेर सैन्य युद्धलाई अनावश्यक बनाउन सकिने उल्लेख गरेका छन् ।(१०)

सर्वश्रेष्ठ  युद्ध भनेको विना युद्धको विजय हो र त्यो शत्रु पक्षलाई  र आफूलाई राम्रोसँग चिनेर मात्रै संभव हुन्छ भन्ने सुन जु को भनाई छ ।

र शत्रु पक्षलाई चिन्ने भनेकै गुप्तचरहरूको माध्यमबाट हो ।

 विश्व गुप्तचरीको इतिहासका प्राधिकार मानिने क्रिस्टोफर एन्ड्रयु कौटिल्यको अर्थ शास्त्रलाई गुप्तचर सेवालाई संगठित पेशागत क्षेत्रको रूपमा विकास र स्थापना गर्ने  विश्वको पहिलो पुस्तक मान्दछन् ।  (११ )

कौटिल्यले आफ्नो अर्थशास्त्रको अध्याय नौ देखि १३ सम्म गुप्तचरहरूको कार्य, महत्व, नियुक्तिको विधि, मुलुक भित्र र बाहिर उनीहरूको कार्यादेश र प्रकृतिबारे उल्लेख गरेका छन् ।(१२ )

हजारौँ सेना, ट्यांक र लडाकु विमान र आधुनिक हतियारहरूबाट प्राप्त   हुन नसक्ने  सफलता  बिना कुनै राष्ट्रिय क्षति कुनै एउटा दुइटा गुप्तचर वा तिनको सानो समूहले दिलाएको अनगिन्ती उदाहरणहरू विश्वसँग छ ।

कुनै यौटै गुप्तचरले ठूलो विजयलाई पराजयमा रूपान्तर गराइदिएको, इतिहास निर्माण गरिदिएको  र मेटाइदिएको पनि उदाहरण छ  ।

त्यसैले रामायण, महाभारत जस्ता  प्राचीन संस्कृत साहित्यदेखि ग्रीक र रोमन साहित्यमा पनि गुप्तचरहरूको  प्रयोग  सम्वन्धी पर्याप्त वर्णन पाइन्छ ।

राज्यहरू अस्तित्वमा आएदेखि नै  राज्यको महत्वपूर्ण अङ्गको रूपमा कुनै न कुनै रूपमा  गुप्तचर समूह वा  संगठन अस्तित्वमा रहेको पाइन्छ ।

तर राज्यको सुरक्षाको अत्यन्त महत्वपूर्ण अङ्ग भइकन पनि त्यसको गरिमा र महत्वलाई त्यति धेरै ग्रहण गर्ने गरिएको छैन ।

अर्को ज्यादै महत्वको कुरो  के हो भने, गुप्तचरकोलागि उसको तालुकवाला अधिकारीले सुम्पिएको कार्य सर्वोपरी हो ।

राष्ट्रिय हितको रक्षा हो ।

विना प्रश्न र विना विवाद त्यसलाई सम्पादन गर्नु उसको मूख्य कर्तव्य हो ।

त्यसकोलागि उसले राज्यको कुनै नीति, नियम, अनुशासन र मर्यादाको उल्लङ्घन गर्न सक्दछ ।

उसको कार्यको प्रकृतिनै गुप्त र छद्म हुने भएकोले उसको कार्यलाई कुनै राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन, व्यवस्था, मर्यादाको मानदण्डमा  राखेर हेरिन्न ।

उसको कार्यलाई कुनै कानुन वा नैतिकता वा अनैतिकताको कसीमा जाचिन्न ।

उसको कार्य राष्ट्र हितमा थियो थिएन ? उसको कार्यले उसको राष्ट्र र संगठन प्रतिको वफादारीमा , उसको नियतमा शङ्कागर्ने ठाउँ रह्यो रहेन ? त्यो मात्रै हेरिन्छ ।

कुनै अन्तर्राष्ट्रिय कानुन र व्यवस्थाले उसको  रक्षा पनि गर्दैन ।

हो जुन राज्य विरूद्ध ऊ क्रियाशील हुन्छ  – त्यो राज्यले भने उसलाई कठोर भन्दा कठोर दण्ड-सजाँय दिन सक्दछ ।

उसको राज्य र संगठन उसको रक्षाको लागि उसलाई आवश्यक परेको बेलामा उपलव्ध हुँदैन ।

राजनीतिक र कूटनीतिकरूपमा अप्ठ्यारोमा पर्ने अवस्था आयो भने  उसको मुलुक र उसैको संगठनले उसलाई नचिन्ने र उसको जिम्मेवारी नलिने दावी गर्न सक्दछ ।

त्यसैले आफ्नो राष्ट्रकोलागि अर्को राज्यको सम्पूर्ण राज्य संरचना विरूद्ध एक्लै भिड्न जाने गुप्तचरहरू वास्तव मै महायोद्धा हुन् ।

स्पष्टरूपमा भन्दा  मुलुकको संविधान, ऐन, कानुन भन्दा माथि पनि कतिपय राज्य हितका सवाल हुन्छन् ।

त्यस्तै राष्ट्रिय हितको रक्षाकालागि गुप्तचरहरू नियुक्त हुन्छन् ।

गुप्तचर बाहेक सरकार वा राज्यका सङ्गठित सेवाका राष्ट्र सेवकहरूलाई मुलुकको कानुन उल्लङ्घन गर्ने छुट हुँदैन ।

त्यस्तो छुटको अर्थ अराजकता हो ।

राज्यको समाप्ति हो ।

त्यसैले त्यस्ता कार्यहरू गर्नका लागि राज्यको गुप्तचर संगठन स्थापना भएको हुन्छ ।

निष्कर्षमा भन्दा आफ्नो राष्ट्रको लागि अर्को राज्यको सम्पूर्ण राज्य संरचना विरूद्ध एक्लै भिड्न जाने, विना कुनै सुरक्षा, विना पहिचान आफ्नो मुलुकको हितमा जस्तोसुकै खतरा मोल्न र प्राण संकटमा पारेर पनि राष्ट्रको लागि समर्पित हुने गुप्तचरहरू वास्तवमै महायोद्धा हुन् ।

महान हुन् ।

क्रमश:

यस श्रृंखलाको अघिल्लो लेख यहाँ पढ्नुहोस्:

 सन्दर्भ सूची

 ( ) मिसयुज  अफ नेपाल्स टेरिटोरी  बाई पाकिस्तान्स  इन्टेलिजेन्स एजेन्सी टु फोमेन्ट टेररिजमयुरोपियन फाउन्डेसन फर साउथ एसियन स्टडिज (एफ्सास) एम्स्टरडम, जुलाई २०१८,

 इन्टेलिजेन्स रिपोर्ट अन आइएसआई एक्टिभिटिज पुट क्वेस्चन मार्क अन इन्डियानेपाल थ, फर्जेन्ड अहमद , इन्डिया टुडे, जुन २००० र अपडेटेड डिसेम्बर २१, २०१२.   

 (ककपिट अफ इन्ट्रिगह्वाई काठमाडौँ इज नाउ लेवल्ड  दी सब कन्टिनेन्ट्स क्यासाब्लाङ्का, एन्थोनी डेभिस,एसिया विक, अप्रिल २१, २०००,

पाकिस्तान इन्टेलिजेन्स टार्जेटिङ् इन्डिया पाकिस्तान इन्टेलिजेन्स टार्जेटिङ् इन्डिया  थ्रु  नेपाल,   जेन्स इन्टेलिजेन्स डाइजेस्ट,जुन २३, २०००.

 () यतिश यादवरअ : अ हिस्ट्री अफ इन्डियाज कोभर्ट अपरेसन्स, वेस्ट ल्याण्ड पब्लिकेसन्स, २०२०, पृष्ठ ३२१.

 () ’आइएसआईकन्सोलिडेट्स होल्ड इन नेपाल थ्रु पोलिटिसियन्स, बिजिनेसमेन आफ्टर हाइज्याकिङ् अफ आई सी ८१४, हरिन्दर बवेजाइन्डिया टुडे, जुन १२, २००० अप्डेटेडडिसेम्बर २४, २०१२.

 ) मलोय कृष्ण धरओपन सेक्रेट्स : इन्डियाज इन्टेलिजेन्स अनभेइल्ड, मानस पब्लिकेसन्स् , न्यू दिल्ली,२००५, पृष्ठ ४५०५१

 () मलोय कृष्ण धर , ऐजन, पृष्ठ ४५२.

 ( ) यतिश यादव, ऐजन, पृष्ठ ३१६३२७मा त्यसको स्पष्ट वृतान्त समेटिएको छ

 ( ) क्रिस्टोफर एन्ड्रयुदी सेक्रेट वर्ल्ड : अ हिस्ट्री अफ इन्टेलिजेन्स , एल्लेन लेनग्रेट ब्रिटेन, २०१८, पृष्ठ ६६६७.

 () सुन जुदी आर्ट अफ वार, होडर एण्ड स्टटन, २००६, पृष्ठ १.

 (१०) हेनरी किसिन्जरअन  चाइना, एल्लेन लेन, २०११, पृष्ठ २६.

 (११ ) क्रिस्टोफर एन्ड्रयु, पूर्वोक्त पुस्तक, पृष्ठ ६१.

 (१२ ) हेर्नुहोस वाचस्पति गैरोला ( व्याख्याकार ) कौटिलियम् अर्थशास्त्रम् , चौखम्बा विद्याभवन , वाराणशी,१९९६, पृष्ठ २५४२

 

 

असोज ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्